सञ्चय कोषको नाफा पौने दुई अर्ब

कर्मचारी सञ्चय कोषको नाफा पौने २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०७३-०७४ को अन्तिम लेखा परीक्षणपछि सञ्चय कोषको खुद मुनाफा १ अर्ब ८९ करोड पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३१ करोड रुपैयाँ बढी हो । “गत आर्थिक वर्षमा सञ्चय कोषले खुद मुनाफा मात्र १ अर्ब ८९ करोड गरेको छ,” सञ्चय कोषका प्रशासक दीपक रौनियारले भने, “मुनाफामध्ये ८१ प्रतिशत रकम जलविद्युत् लगानी गर्न लागेका छौं ।” कोषका अनुसार खुद मुनाफामध्ये ०.७५ प्रतिशत अर्थात १ अर्ब ५३ करोड मुनाफाको रुपमा वितरण गरी सञ्चय कोषले अघि बढाउन लागेको ८ सय ६६ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजनामा सेयर लगानी गर्न लागिएको छ ।
सञ्चयकर्ता हाइड्रो पावर कम्पनी गरी स्वदेशी लगानीमै हालसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण गर्न लागेको कोषले बनाउन लागेको आयोजनाको लागत करिब ७० अर्ब अनुमान गरिएको छ । ७० अर्बमध्ये स्वँपुजी (इक्विटी) सेयर अन्र्तगत ४० प्रतिशत सञ्चयकर्ता, १५ प्रतिशत सञ्चय कोषका साथै १०-१० प्रतिशत नेपाल विद्युत् प्राधिकरण र उत्पादन कम्पनीको लगानी रहने प्रशासक रौनियारले जानकारी दिए । आयोजनामा सम्बन्धित स्थानीय निकाय र सर्वसाधारणको गरी थप २५ प्रतिशत सेयर रहनेछ ।
सञ्चयकर्ताले राख्ने इक्विटीमध्ये गत वर्षको खुद मुनाफाबाट प्राप्त रकम र आर्थिक वर्ष २०७२-०७३ गरी खुद मुनाफामध्ये ६५ प्रतिशत अर्थात १ अर्ब २९ करोड कम्पनीमा सञ्चयकर्ताको गरी सेयर जम्मा गरिएको कोषले जनाएको छ । हालसम्म सञ्चयकर्ताको तर्फबाट २ अर्ब ८२ करोड बराबरको लगानी भइसकेको र सञ्चयकर्ताको तर्फबाट हाल्ने रकम मुनाफाबाट जुटाउन सक्ने अवस्था रहेको कोषका उपप्रशासक राजेन्द्र काफ्लेले जानकारी दिए । उनका अनुसार हालसम्म सञ्चय कोषले २६ अर्ब जलविद्युत् लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ भने हालसम्म १४ अर्ब लगानी भइसकेको छ ।
आयोजनाको ऋण लगानीका लागि कम्पनीले सञ्चय कोषलाई वित्तीय व्यवस्थापन गर्न पत्र लेखिसकेको छ । यो आयोजनामा सञ्चय कोषले ऋण लगानी गरेपछि स्वदेशी लगानीमा निर्माण हुने यो सबैभन्दा ठूलो आयोजना बन्नेछ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नेपाल विद्युत् प्राधिकरणको सहायक इन्जिनियरिङ कम्पनीले तयार गरिरहेको छ ।
कुल स्रोत रकम २ खर्ब ५५ अर्ब २९ करोड रहको सञ्चय कोषले २ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ लगानी गरिरहेको छ । कोषले स्वरोजगार र वैदेशिक कामदारहरूको लागि सचय कोषको व्यवस्थाप गर्ने गरी तयारी गरिरहेको कोषका प्रशासन प्रमुख अर्जुन गौतमले जानकारी दिए । कोषले खुद मुनाफाको ११ प्रतिशत अर्थात २० करोड ८३ लाख काजकृया, दुर्घटना क्षतिपुर्ति, औषधीउपचार, सुत्केरी तथा शिशु स्याहार लगायतका सामाजिक सुरक्षा सुविधाका लागि खर्च गर्न लागेको कोषले जनाएको छ ।