जनको क्षतिसँगै आर्थिक चपेटामा— २०७७

कोरोना भाइरसले वैश्विक जगत्मा २.५ करोड मानिस बेरोजगार बनाउन सक्ने तथ्य अन्तर्राष्ट्रिय श्रम संगठनले बताएको छ । |
वर्तमान वैश्विक चिन्ता र जनचासोको विषय बनेको छ— कोरोना भाइरस (कोभिड–१९) । विश्वलाई सताइरहेको छ यो भाइरसले अनि हाम्रो पुस्तामा विश्वले एकसाथ लडिरहेको सायद यो पहिलो महामारी होला । यसले अहिले विश्वका करिब सम्पूर्ण मुलुकमा कब्जा जमाइसकेको छ ।भाइरस चीनको वुहान सहरबाट सुरु भए पनि अहिले कोसौँ दूर रहेको अमेरिका सबैभन्दा बढी प्रताडित हुन पुगेको छ भने युरो पनि नमज्जाले पीडित भएको छ । भाइरसको उद्गमस्थल शान्त बन्दै गर्दा अन्य क्षेत्रहरू त्राहिमामको अवस्थामा पुगेका छन् ।
दैनिक जीवन जोगाउनमा विश्व लागिपरेको छ भने वैश्विक अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको तपाईं–हामीमा जगजाहेर छ । नेपालभित्र पनि ६९ जना संक्रमित पुगेको अवस्था छ । तर, केही उपचारपछि घर पनि फर्किसकेका छन् । कोरोना भाइरसले वैश्विक जगत्मा २.५ करोड मानिस बेरोजगार बनाउन सक्ने तथ्य अन्तर्राष्ट्रिय श्रम संगठनले बताएको छ । यो परिपे्रक्ष्यमा लाखौँको ज्यानसँगै अर्थतन्त्रमा आउने असहजताले थप हजारौँ मानिसको मृत्यु हुनसक्ने आकलन सहजै गर्न सकिन्छ ।भाइरसको कुनै औषधि या निको हुने खोप बनेको छैन ।
भाइरसलाई कमजोर पार्ने र प्रभाव शरीरभित्र फैलन कम गर्ने र शारीरिक प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने केही औषधिको प्रयोग बिरामीलाई गरिँदै आइएको छ । यदि वैज्ञानिक तथा चिकित्सकले परीक्षण गरेको खोपले सफलता हासिल गरेको खण्डमा पनि १२ महिनादेखि १८ महिनामा भ्याक्सिन बन्ने दाबी गरिएको छ ।विकसित राष्ट्रमा महामारीको रूपलाई नियन्त्रण गर्न यति कठिन परिस्थितिमा विकासोन्मुख देशमा झनै ठूलो चुनौती देखा परेको छ ।
यही चुनौतीलाई थोरै भए पनि कम गर्न यी देशहरू प्रायः सबै लकडाउनमा छन् ताकि भाइरसको संक्रमण नफैलियोस् र संक्रमण देखिएकालाई पनि तत्काल उपचार गर्न सकियोस् ।कोभिड–१९, नेपाली विक्रम संवत् २०७६ मा देखा परे पनि हामी २०७७ मा प्रवेश गरेसँगै झनै भुमरीको सामना गर्नुपर्ने संकेतहरू देखिएका छन् । यसकारण पनि २०७७ सालको शुभकामना कोरोना र यसले पु-याइरहेको र पु-याउन सक्ने क्षतिबाट कसरी मुक्त हुन सकिन्छ भन्नेमा केन्द्रित हुनु जरुरी देखिएको छ । सबैका आँखामा रहेको आँसु र भविष्यको त्रासमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
किनकि घरभित्र थुनिएका ज्यानहरू केही समयपश्चात् बाहिर निस्कनेछन् । अवस्था पहिलेकै जस्तो नहुँदा पनि मानिसहरू नियमित दैनिकीतर्फ चल्न थोरै प्रयास गर्नेछन् । नचाहेरै पनि दैनिक जीवन र बढ्दो दबाब पुर्ताल गर्नकै लागि पनि सामान्य जीवनतर्फ ज्यान उक्लनेछ । तर, सेकेन्ड–सेकेन्डमा प्रश्न उब्जने गर्छ कि यी दिन सहज हुन सक्लान् ?
दैनिक जीवन ः सम्बन्ध, खानपान, कमाउने ठाउँ, यातायात, बसोबासस्थल, स्कुल, सार्वजनिक जीवन, उद्योगलगायत सम्पूर्ण दिन, हप्ता, महिना र वर्ष दिनलाई एकपटक सम्झौँ मात्र त ! कसरी खाने ? कसरी हिँड्ने ? स्कुलमा बच्चा के गर्लान् ? कसरी काम गर्ने ? अन्य सम्पूर्ण स्थानमा धेरै चुनौती र जोखिम छन् । के हामी यी कुराहरू र अपनाइएका सावधानीहरू अक्षरशः पालना गरेर जीवन चलाउन सक्छौँ ? व्यावहारिकता प्रदर्शन गर्न सक्छौँ ? धेरै गाह्रो छ तर जीवन जिउनैपर्ने छ, जुध्नु त छँदैछ ।सम्पूर्ण कुरा कोभिड–१९ केन्द्रित हुनाले अन्य पक्षहरू नमज्जाले थेचारिने पक्का छ ।
समयानुसार अभ्यस्त हुन त सकिएला तर यसले अर्थतन्त्रमा यति ठूलो चोट पु-याउनेछ, जुन खाल्डो पुर्नका लागि पनि धेरै वर्ष पापड बेल्नुपर्ने हुनसक्छ । यसको असर समाज र अर्थतन्त्रसँगै जीवनशैलीमा नराम्ररी पर्ने देखिन्छ, जुन कुरा वैश्विक अर्थशास्त्रीहरूले प्रक्षेपण नै गरिसकेका पनि छन् । विकासका अन्य पक्षहरूमा शून्यता छाउनेछ ।अर्थतन्त्रको सानो आकार, बजार र निर्वाहमुखी हाम्रो देश वैदेशिक अनुदानबाट चलेको छ । सम्भावनाका पोकाहरू हामीले खोल्नै सकेका छैनौँ र अर्काले दिएको भरमा जीवन गुजार्नु हाम्रो बाध्यता हो । सबै कुरा अरूकैबाट चलेको देशमा मागेका चिजमा हुने घिनलाग्दो अनियमितता र बिग्रेको शैलीले हाम्रो अर्थतन्त्रमा लाग्ने कालो धब्बा र पु-याउन सक्ने दीर्घकालीन असर झनै कहालीलाग्दो देखिएको छ । यसले अर्थतन्त्रका सम्पूर्ण पक्षमा अधिक असर पु-याउने देखिन्छ । यसकारण पनि २०७७ साल नेपालीका लागि अत्यन्तै दुःखदपूर्ण र संघर्षमय हुने देखिन्छ ।
कोरोनाले केही कुरा सिकाउला ?
यही भएर पनि अहिले जनजनको बहसमा आएको छ— कोरोना जितेपछिको विश्व कस्तो होला भनेर ! चिकित्सक, वैज्ञानिक, अर्थशास्त्री, नेता तथा जनताका अभिमतहरू सार्वजनिक भएका छन् । अधिकांशले मानिसको बानी–व्यवहारमा परिवर्तन हुने बताएका छन् । उनीहरूले मानिसहरू क्रमशः प्रकृतितर्फ फर्कने, दूरी कायम गर्ने, बिग्रिएको जीवनशैलीमा थोरै भए पनि सुधार हुने, आध्यात्मिक यात्रा, खानपिन, गरिबी बढ्ने तर सहयोगी भावनाको विकासजस्ता विविध पक्षमा परिवर्तन हुनसक्ने बताएका छन् । तर, प्रश्न उठ्न सक्छ, के यी सब कुरामा परिवर्तन देखिएला ?
कोरोनाको नकारात्मकता त छँदैछ, तर यसका सकारात्मकताहरू पनि ल्याउने तर्कहरू आएका छन् । यो महामारीले सामाजिक विभेदको अन्त्य, देखावटी जीवनशैली र खर्चको कटौती, आत्मनिर्भरतामा वृद्धि, राज्यको भूमिका चाहिन्छ भन्ने कुरा, बजारको आकार, वातावरण प्रदूषणमा कमीजस्ता विभिन्न सकारात्मक कुरा ल्याएको बताइरहेका छन् ।हुन त वैज्ञानिकहरूले महामारीका कारण सामाजिक दूरी बढिरहेको बताउँदै समाजबाट हात मिलाउने, अँगालो हाल्ने जस्ता सामाजिक परम्परा लोप हुनसक्ने चेतावनी पनि नदिएका होइनन् । उनीहरूले कारोनापछि यस्ता व्यवहारमा परिवर्तन ल्याउने सम्भावना रहेको कुरालाई जोड दिएका छन् । अहिले पूरा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । यस्तो बेला कसले प्राथमिकता पाउनुपर्छ— अर्थतन्त्रले कि जनताले ? धेरै सरकार अहिले यो द्विविधामा परेको पनि देखिन्छ ।कोरोनाको कहरपछि विश्वमा धेरै कुरामा प्रभाव पर्ने निश्चित छ । यसले दूरगामी रूपमा सामाजिक, राजनीतिक, अर्थतन्त्र र मनोवैज्ञानिक प्रभाव पार्ने कुरामा कसैको दुईमत छैन ।
कोरोनापछि यी परिवर्तन देखिन सक्छन् :
♦ विश्वका पर्यटन तथा उड्डयन व्यवसाय र पर्यटनमा दीर्घकालीन असर पर्नेछ । लामो दूरीका यात्रामा मानिसहरू निस्कनछैनन् ।
♦ स–साना बालबालिकाहरूलाई अभिभावकहरूले विद्यालय पठाउन डर मान्नेछन् । सक्षम विद्यालयहरूले दूर शिक्षा वा टेलिएजुकेसन वा अनलाइन लर्निङ रणनीति अवलम्बन गर्नेछन् । समृद्ध राष्ट्रहरूले यसमा व्यापक लगानी गर्नेछन् ।
♦ आधुनिक सूचना–प्रविधि र सञ्चारबाट वञ्चित रहेका गरिब देशका अधिकांश शिक्षक, अभिभावक र बालबालिकाहरू फलतः पछि पर्नेछन् ।
♦ लकडाउनले ध्वस्त भएको अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न र असफल राष्ट्र हुनबाट मुलुकलाई जोगाउन सबै सरकारहरूले आक्रामक आर्थिक गतिविधि र विकासका अभियानहरू सञ्चालन गर्नेछन् ।
♦ वातावरण संरक्षणतर्फ सरकारहरूको ध्यान जानेछैन । परिणामस्वरूप कालान्तरमा ग्लोबल वार्मिङ बढ्नेछ र विभिन्न किसिमका वातावरणीय संकटहरू उत्पन्न हुन सक्ने आकलन गर्न सकिन्छ ।
♦ विश्वका समृद्धशाली र शक्तिशाली कहलिएका मुलुकहरू नै यस महामारीबाट बढी आक्रान्त भएकाले र त्यहाँको अर्थतन्त्रमा बढी क्षति भएकाले विश्व स्वास्थ्य संगठन, श्रमिक संगठन, युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूलाई दिइँदै आएको अनुदान रकममा दातृ राष्ट्रहरूले भारी कटौती गर्नेछन् ।
♦ स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूले काम गर्ने उत्साह र मनोबलमा कमी आउनेछ । पीपीईजस्ता सामग्रीको प्रयोग गरेर मात्र स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा जानेछन् । मेडिकल एजुकेसनको आकर्षणमा पनि केही न केही कमी आउनेछ ।
♦ विश्वका धेरै रोजगारदाता कम्पनीको व्यवसायमा नराम्रो असर पर्नेछ ।
♦ समृद्धिका लागि विकासका अभियान र अर्थतन्त्रलाई डुब्नबाट बचाउन विभिन्न आर्थिक गतिविधि र जनतालाई रोजगारीका अवसरहरू उपलब्ध गराउने नाममा अविकसित मुलुकमा आर्थिक अपचलन वा भ्रष्टाचार बढ्ने पक्का छ ।
♦ रोजगारी वा अध्ययनका लागि विदेश जाने प्रवृत्तिमा कमी आउनेछ । यसको सकारात्मक असर नेपालजस्तो मुलुकको कृषिजन्य पेसा वा व्यवसायमा देख्न सकिनेछ ।
♦ चीनजस्ता अटोक्रेसी भएका मुलुकमा सरकारहरू तीव्रतर ढंगले समृद्धिको अभियान सञ्चालन हुन सक्नेछन् ।
♦ सामान्य फेसमास्कसमेत नभएकाले विश्वका धनाढ्य मुलुकमा समेत हाहाकार मच्चिएको अवस्थामा भेन्टिलेटरलगायतका महँगा स्वास्थ्य सामग्रीहरूको व्यावसायिक ढंगले निर्यात गरेर चीनजस्ता मुलुकले नाफा कुम्ल्याउनेछन् ।
♦ यस संक्रमणले धनी र गरिब त छुट्याएको छैन, तर धनीहरू झन् धनी र गरिबहरू झन् गरिब हुनेछन् ।
आखिर जसरी व्याख्या गरिए पनि यो संकटले हामीलाई यस्तो पाठ सिकाएको छ कि मानव मानव भएर बाँच्न सिकौँ, जसमा नयाँ विश्वको परिकल्पना गरियोस्, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव ज्ञानसहितको सामाजिक व्यवस्था कायम होस् । प्रकृतिको हमलालाई पुँजीवादले प्रतिरोध गर्न सकेन र आजआम नागरिक कोरोना भाइरसको आक्रमणमा परेका छन् ।तर, वैश्विक जगत् र क्रियाकलापलाई फर्केर हेर्ने हो भने ‘मसान वैराग्य’ जस्तै यो महामारी पनि नबन्ला भन्न सकिँदैन । थोरै समय आत्तिएजस्तो र सिकेजस्तो गरिए पनि क्षणभरमै बिर्सन्छौँ र अर्को पटक यस्तै महामारीमा अन्जानजस्तै बन्छौँ ।
भाइरसकेन्द्रित– २०७७
वि.सं. २०७७, नयाँ वर्षभर शुभकामनाभन्दा पनि भाइरसकेन्द्रित गतिविधिहरू सञ्चालन हुने देखिन्छ । एकाध घटना बाहेक सिर्जनात्मक र आर्थिक फड्को मार्ने गतिविधि कालो सोच राख्नेबाहेक भन्दा देख्न र सुन्न सायदै पाइएला । दुःख र संघर्षपूर्ण २०७७ मा विपत्तिबाट र पर्न सक्ने जोखिमताका बीच पूर्व तयारी र क्षतिलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित रहनेछ । सरकारदेखि जनतासम्म कुनै न कुनै रूपमा खान–देखाउन–बाँच्न कोरोना केन्द्रित गतिविधिमा संलग्न हुनेछन् र समयले साथ दिएमा र सहज हुँदै गएमा गच्छेअनुसार २०७७ बिताउनेछन् ।तर, पहिलेकै गतिमा न विश्व बग्नेछ न नेपाल । हामीलाई कोरोनाको औषधि अर्थात् भ्याक्सिन बने पनि २०७७ साल कष्टपूर्ण हुनेछ । केबल पात्रोका पन्नाहरू पल्टनेछन् तर दैनिक जीवन अत्यन्तै विभेदपूर्ण र दुःखप्रद हुनेछन् ।उसै पनि बेरोजगारी प्रतिशत गर्न सक्ने उमेर समूहमा ११.७४ प्रतिशत रहेको मुलुकमा यो महामारीले थप थिलोथिलो बनाउँदा गरिबीको प्रतिशतमा ह्वात्तै वृद्धि गराउने स्पष्ट छ ।
किनकि २०७२ को विनाशकारी भूकम्पले झन्डै ९ हजारको ज्यान लिएको थियो भने २० लाखभन्दा बढी गरिब थपेको थियो । यो ५ वर्षमा पुनःस्थापनामै जीवन गुजार्नुपरेको अवस्था एकातिर छ भने संघीयतासँगै बढेको खर्चले आगामी बजेट पनि ह्वात्तै बढ्ने र दाताको सहयोग स्थिर रहँदा उही जनताको डाढ सेकिने प्रस्ट छ ।अब भन्नुहोस्, दैनिक जन जोगाउन र जीवन कष्टप्रद अवस्थामा गुज्रिनुपरेको यो अवस्थामा सरकारले देश चलाउने बहानामा जनताबाटै रकमको भारी थोपा-यो भने सम्झनुहोस् त अवस्था कति भयावह हुन्छ ! सोच्दा पनि गरिबीले मार्छ ।नयाँ बजेटको बहस र तयारी भइरहेको यो अवस्थामा कोरोनाको आक्रमणले अक्रान्त र शान्त अर्थव्यवस्थाले जीवनमाथि प्रश्नका थाक उब्जाइदिएको छ ।
उचित व्यवस्थापन गर्न नसक्दा मृत्युदर नहुँदा पनि जनता अत्तालिनुपरेको अवस्था छ । यदि विकराल अवस्था आएको खण्डमा त तपाईं हाम्रो सोचीय क्षमताले सायद अंकलन गर्न नसक्ने हुनसक्छ सायद । कामना गरौँ, यस्तो अवस्था नआओस्, २०७७ साल कोरोना जित्नमा केन्द्रित रहौँ, घरमा बढी समय बिताऔँ, पहिला जीवन बचाऔँ, त्यही नै वास्तविक शुभकामना हुनेछ । आशा गरौँ, पैसाभन्दा ठूलो कुरा हुन्छ, समानता अपरिहार्यता रहेछ, सामजिकता चाहिने रहेछ, हरेक कुरामा पूर्वतयारी हुनुपर्ने रहेछ, स्वास्थ्यमा लगानी बढाउनुपर्ने रहेछ अनिमात्र कसैले गरेको प्रगति कामलाग्दो रहेछ भन्ने ज्ञान २०७७ मा दिऊँ ।