घोराही–होलेरी सडक कालोपत्रेमा ढिलाइ

सहिदमार्ग सडकअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक कालोपत्रेको काममा ढिलाइ भएको छ ।
करिब ३२ किलोमिटर सडक भारतीय एक्जिम बैंक अफ इन्डियाको सहयोगमा कालोपत्रे सुरु गरेको करिब ४ वर्ष हुन लाग्यो तर अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन । सिल-प्यासिफिक जेभी निर्माणले भ्याटसहित ४० करोड रुपैयाँमा निर्माण कार्यको जिम्मा २०७१ जेठमा लिएको थियो । निर्माण कार्यको पटकपटक म्याद थप गर्दा समेत हालसम्म जम्मा १२ किलोमिटर सडकमात्र कालोपत्रे भएको सहिदमार्ग योजनाले जनाएको छ । सडक कालोपत्रे कार्यमा ढिलाइ गरेको भन्दै अहिले स्थानीयले गुनासो गरेका छन् । “छिटोभन्दा छिटो बाटो पिच गर्नुपर्यो,” स्थानीय मिना डाँगीले भनिन् । धुलो र हिलोका कारण स्थानीयहरू बिरामी भइरहेको उनको तर्क छ । “बाटो पिच गर्ने भनेर बाटोमा के हो हाल्यो त्यो त ४-५ दिनमै उप्किन थाल्यो” उनले भनिन्, “यो सरकाले चाँडै चेक गर्नुपर्यो ।” त्यस्तै अर्का स्थानीय मिनबहादुर महराले भने, “घोराहीबाट होलेरी आउन २ घण्टाको बाटो हो । अहिले गाडीले ३-४ घण्टा लगाइरहेका छन् । निर्माण व्यवसायीको लापरबाहीले यस्तो भएको देखिन्छ ।” आगामी जेठ महिनासम्म बाँकी २० किमि सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । २०७२ सालमा गएको भूकम्पले निर्माण सामग्री र इन्धन अभाव हुनु तथा निर्माण व्यवसायीको ढिला सुस्तीका कारण समयमा काम सम्पन्न हुन नसकेको सहिदमार्ग योेजनाले जनाएको छ । सहिदमार्ग योजना प्रमुख नारायणप्रसाद नेहुरले काम भइरहेको बताए । २०७५ साल जेठ महिनामा सबै सक्ने गरी काम भइरहेको उनको भनाइ छ । निर्माण सामग्री, इन्धन अभाव, बन्दहडताल, विगतमा गएको भूकम्प र नाकाबन्दीका कारण समयमा काम नभएको नेहुरेले बताए । तर, अहिले सबै काम राम्रोसँग सुचारु भइसकेको नेहुरेले बताए । सशस्त्र द्वन्द्वका कारण विकासमा पछि पारिएका रोल्पा र रुकुममा विकास गर्ने उद्देश्यले शान्ति प्रक्रियापछि सहिद मार्ग निर्माण थालिएको होे । उक्त मार्ग दाङदेखि रुकुमसम्म करिब १७७ किमि छ । रुकुमबाट डोल्पा पु¥याउने लक्ष्य लिइएको छ ।
ट्रिपरका कारण सडक बिग्रियो
दाङमा रहेको सोनापुर सिमेन्ट उद्योगका लागि रोल्पाको धौलाबाङबाट ढुंगा बोक्न चल्ने ट्रिपरका कारण कालोपत्रेमा समस्या भएको पाइएको छ । स्थानीयका अनुसार सडक कालोपत्रे गर्ने समयमा चल्ने ट्रिपरका कारण पनि काममा ढिलो भएको हो । जथाभावी ट्रिपर चल्दा सडकको स्तर खस्किँदै गएको छ । सोनापुर सिमेन्ट उद्योग दाङमा छ । उद्योगले प्रयोग गर्ने ढुंगाको खानी होलेरीनजिकै धौलाबाङ भन्ने ठाउँमा छ । योजनाका अनुसार घोराहीदेखि सिमेन्ट उद्योगका ढुंगाखानीसम्म दैनिक सयौं ट्रिपर चल्दा सडकको अवस्था कमजोर बन्दै गएको हो । योजनाका अनुसार उद्योगलाई वैकल्पिक सडक मार्गबाट ट्रिपर नचलाउन पटकपटक आग्रह गरिए पनि त्यसको बेवास्ता गरिएको छ । उक्त सडकमा यातायात चाप कम गर्न नसकिए स्तरोन्नति गर्नै मुस्किल हुने आयोजनाले जनाएको छ । यसबारे पटकपटक उद्योगलाई पत्राचार गरिएको कार्यालय प्रमुख नेहुरेले बताए । ट्रिपर चल्दा सडकको स्तरोन्नति गर्न अवरोध भएको हो । ट्रिपर रोकेर सडक कालो पत्रेको कामलाई अगाडि बढाउने प्रयास भइरहेको नेहुरेले बताए ।
–पहलमान घर्ती