कोभिड–१९ र बढी मानवीय क्षति भएका १० देश «

कोभिड–१९ र बढी मानवीय क्षति भएका १० देश

२०२० को मार्च ११ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोबेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) लाई विश्वव्यापी रूपमा फैलिने÷फैलिएको महामारी ‘प्यान्डेमिक’ भनी घोषणा गर्दाताका अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशले कोभिड–१९ लाई केही होइन भनेझैं गरिरहेका थिए । तर, कोभिड–१९ को महामारी सुरु भएको देश चीनमा लगभग नियन्त्रणमा आइसक्दा–नसक्दै अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशमा भने कोभिड–१९ महामारी फैलँदो क्रममा थियो भने अझैं  पनि फैलने क्रममै रहेको देखिन्छ । चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिमतिर फैलन सुरु भएको ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९) अहिले के सानो, के ठूलो ? के गरिब, के धनी ? कसैलाई तपाईं र कसैलाई मपाईं नगरी विश्वका २ सय १० देशमा फैलिसकेको छ । सुरुमा ‘नोबेल कोरोना भाइरस’ (एनसीपी) नाम दिइयो भने हाल कोभिड–१९ ले चिनिन्छ ।
विकसित, सेवा–सुविधाले सम्पन्न र आधारभूत तहदेखि नै आफ्नो देशमा रहेका जनतालाई सबै कुरो राज्यले उपलब्ध गराउँछ भनिएको देशहरूमै किन कोभिड–१९ को महामारीले यो तहमा आक्रमण गरिरहेको छ ? किन ती देशमा अनपेक्षित रूपमा जनधनको ठूलो क्षति गरिरहेको छ ? प्रश्न वास्तवमै गम्भीर देखिन्छ । हुन पनि कोभिड–१९ को महामारीले हालसम्म बढी प्रभावित १० वटा देशको लिस्ट हेर्ने हो भने कोभिड–१९ को महामारीले हालसम्म बढी प्रभावित १० वटामा अधिकांश अति विकसित देशहरू नै परेका छन् । त्यसमा पनि पहिलो नम्बरमा छ— अमेरिका ।
यहाँ ‘वोल्र्डोमिटर’ नामक एक संस्थाले अपडेट गरिरहेको विश्वभरिकै विभिन्न देशको कोभिड–१९ का कारण बिरामी भएर मरेकाहरूको तथ्यांक प्रस्तुत गरिएको छ । आजका मितिसम्ममा विश्वमा २९ लाख २३ हजार १ सय ९१ भन्दा बढी मानिस बिरामी भएका छन् । त्यस्तै २ लाख ३ हजार ३ सय ८ भन्दा बढी मानिस कोभिड–१९ को संक्रामक महामारीकै कारण मरेका छन् भने कोभिड–१९ संक्रामक महामारीका कारण बिरामी भएका २९ लाख २३ हजार १ सय ९१ जनामध्ये ८ लाख ३७ हजार ५ सय २७ जनाभन्दा बढी बिरामी निको भएर फर्केका छन् । त्यस्तै ५७ हजार ८ सय ८३ चानचुन मानिस अभैm सिकिस्त बिरामी छन् । स्मरण रहोस्, यो तथ्यांक अप्रिल २६, २०२० को जिएमटी ०७ः२३ (नेपाली समय दिउँसो १ः१५ बजे) सम्मको हो ।
तल कोभिड–१९ को महामारीका कारण मृत्यु भएको संख्याको आधारमा १० औं स्थानसम्म ओगटेका देशहरूको नाम लिस्ट प्रस्तुत गरिएको छ ।
१. अमेरिकामा हाल कोभिड–१९ को महामारीका कारण संक्रमितहरूको संख्या सबैभन्दा धेरै छ । हाल अमेरिकामा ९ लाख ६० हजार ८ सय ९६ जना बिरामी छन् भने ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १ लाख १८ हजार ६ सय २१ जना बिरामी पूर्ण रूपमा निको भएर घर फर्केका छन् भने १५ हजार १ सय १० जना सिकिस्त बिरामी छन् ।
२. कोभिड–१९ को महामारीको संक्रामक भाइरसका कारण धेरै मान्छे मर्ने दोस्रो देशमा इटाली छ । इटलीमा हालसम्म २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।
३. त्यस्तै कोभिड–१९ को महामारीका कारण धेरै मानिस मर्ने तेस्रो देशमा स्पेन रहेको छ । स्पेनमा २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।
४. त्यस्तै फ्रान्स चौथो देशमा रहेको छ । फ्रान्समा हालसम्म २२ हजार ६ सय १४ जना मानिस कोभिड–१९ को महामारीका कारण मरेका छन् ।
५. कोभिड–१९ को महामारीका कारण धेरै मर्ने ५ औं ठूलो संख्या बेलायतीहरूको छ । बेलायतमा हालसम्म २० हजार ३ सय १४ जना मरेका छन् ।
६. त्यस्तै बेल्जियममा हालसम्म ६ हजार ९ सय १७ जना मनिस मरेका छन् । स्मरणीय छ, बेल्जियम केही हप्ताअघिसम्म १२ औं स्थानभित्र पनि थिएन ।
७. कोभिड–१९ को महामारीका कारण धेरै मानिस मर्ने देशमा जर्मनी ७ औं स्थानमा देखिन्छ । जर्मनीमा हालसम्म ५ हजार ८ सय ७७ जना मानिस मरेका छन् ।
८. हाल इरान ५ हजार ६ सय ५० जनाको मृत्यसहित ८ औं स्थानमा रहेको छ । स्मरणीय छ, लगभग १ महिनाअघिसम्म इरान मानवीय क्षति बेहोर्नेमा चीनपछि दोस्रो स्थानमा थियो ।
९. सुरुमा पहिलो स्थानमा रहेको चीन अहिले ९ औं स्थानमा छ । हालसम्म चीनमा ४ हजार ६ सय ३२ जना मानिस मरेका छन् ।
१०. नेदरल्यान्ड पनि सुरुमा कोभिड–१९ का कारण धेरै मानिस मर्ने देशमा १५ औं स्थानभन्दा पनि तल थियो । तर, हाल ४ हजार ४ सय ९ जनाको मानवीय क्षतिसहित नेदरल्यान्ड १० औं स्थानमा रहेको छ ।
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्