विकास निर्माण सुरु गर्न प्रदेश सरकारको आग्रह «

विकास निर्माण सुरु गर्न प्रदेश सरकारको आग्रह

पोखरा-गण्डकी प्रदेश सरकारले अतिशंवेदनशील विकास निर्माणकार्य सुरु गर्न आग्रह गरेको छ । चालू आवको अन्तिम अवस्थामा पुगेका, वर्षातले योजनालाई क्षति पुग्ने र प्रभाव पार्ने प्रकृतिका विकास निर्माणलाई अघि बढाउन प्रदेश सरकारले आग्रह गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री बस्नेतले गण्डकी प्रदेश हालसम्म कोरोनाको ग्रिन जोनमा परेकाले प्रदेशको नाकाबन्द भए पनि सामाजिक दुरी कायम गरी अतिशंवेदनशील र तत्काल निर्माण गर्नुपर्ने योजना अघि बढाउन निर्माण कम्पनीलाई आग्रह गरिएको उनको भनाइ छ । उनले भने, “लकडाउन हामीले मात्र खुकुलो पार्न खोजेर हुँदैन, यसमा संघीय सरकारको अनुमतिबिना हामीले केही गर्न सक्दैनौं, प्रदेशभित्रै सजगता अपनाउँदै विकास निर्माणलाई थोरै भए पनि गति दिन यस्तो नीति अपनाएका हौं ।” जिल्ला प्रशासन कार्यालयहरूलाई समन्वय गरी अतिसंवेदनशील र उत्पादन हुने उद्योगलाई समेत विस्तारै सञ्चालन गर्न आफूहरूले अनुमति दिएको प्रवक्ता बस्नेतले बताए । निर्माण व्यवसायीहरूलाई आफ्ना योजनाको पहिचान गरी अतिआवश्यक निर्माण योजना भए भौतिक पूर्वाधार मन्त्रालयमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।
पोखरासहित कास्कीमा भने केही सामताअघिदेखि विकासका योजना अघि बढेका छन् । लकडाउनको अवस्थामा सार्वजनिक हितका कुनै भौतिक पूर्वाधार निर्माणकार्यलाई अघि बढाउनु परेमा कास्की प्रशासनले सवारी साधनको पास दिन कुनै कन्जुस्याइँ नगर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले हाल बैंक तथा वित्तीय संघसंस्था र विभिन्न योजना अघि बढाउन निर्माण कम्पनीलाई सवारी साधनको पास दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्