गाईपालनमा पूर्वलाहुरे

म्याग्दीमा एक पूर्वलाहुरेले सहरको सुख, सुविधा त्यागेर दुर्गम गाउँमा व्यावसायिक गाईपालन र चिज उद्योग सञ्चालन गरेका छन् ।
विदेशको कमाईले सहर बजारमा घरघडेरी किनेर गाउँको खेतीयोग्य जमिन बाँझै राखी बसाइँसराई गर्ने क्रम तीव्र रूपमा बढिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका यामबहादुर पुन गाउँमै उद्यमी बनेका हुन् ।
भारतीय, बेलायती गोर्खा सैनिक, युरोप, अमेरिकादेखि खाडी मुलुकमा रोजगारी गर्ने म्याग्देलीहरू सहरी क्षेत्रमा बसाइँसराई गर्ने क्रम तीव्र रूपमा बढिरहेको अवस्थामा भारतीय सेनाका पेन्सनर पुनले सञ्चालन गरेको गाईपालन र चिज उद्योगमा अरुले समेत रोजगारी पाएका छन् । “भारतीय गोर्खा सैनिकबाट पेन्सन आएपछि आठ वर्ष अफगानिस्तानमा काम गरें,” पुनले भने, “बजारमा बस्न पुगे पनि उद्यम र समाजसेवा गर्ने भावनाले गाउँ फर्किएँ ।” धेरै सहपाठीले पोखरा, काठमाडौ, बुटबलमा बसाइँ सरेर गए पनि गाउँ नै प्यारो भएको पुनले बताए ।
दुई वर्षअघि सात लाख रुपैयाँको लगानीमा उनले स्थापना गरेको राम्चे चिज उद्योगमा पुन र उनकी श्रीमतीबाहेक अरु २ जनाले रोजगारी पाएका छन् । बाच्छाबाच्छी सहित जर्सी जातका आठवटा गाई पालेका पुनले मासिक दुई सय किलोग्राम चिज उत्पादन गर्छन् ।
प्रतिकिलो ७५० रुपैयाँका दरले बेनी, नांगी, मोहरेडाँडा, घोडेपानी, घान्द्रुकका होटलमा चिज बिक्री हुने गरेको पुनले बताए । “चिजको माग अत्यधिक छ,” उनले भने, “माग धान्न नसकेपछि क्षमता बढाउने योजना बनाएको छु ।”
उद्योगलाई दर्ता गरेर थप व्यवस्थित र व्यावसायिक हिसाबले सञ्चालन गर्ने तयारी गरेको पुनले बताए । प्रोटिनयुक्त चिज पर्यटकीय क्षेत्रमा बढी मात्रामा खपत हुने गरेको छ । उनी स्थानीय तह निर्वाचनमा वडा सदस्यमा चिर्वाचित भएका थिए ।
“सहरको सुविधाभन्दा गाउँकै हावापानी र जनताको सेवालाई प्राथमिकता दिएको छु,” उनले भने, “बसाइँसराईका कारण बाँझिएको जग्गालाई प्रयोगमा ल्याउन र बसाइँसराई रोक्न नीतिगत रूपमा गाउँपालिकामा आवाज उठाएको छु ।”