मध्यपुरमा एकैचाेटी ६ वटा एम्बुलेन्समार्फत काेराेनाका नक्कली बिरामी ल्याउँदा …

घटना शुक्रबार दिउँसाे करिव १:३० बजे हाे । साइरन बजाउँदै लगालग ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल काेरिया मैत्री नगरपालिका अस्पताल परिसरमा पुग्याे ।
विभिन्न ठाउँबाट काेराेनाका बिरामी लिएर एम्बुलेन्स आइपुग्दा सबै जना आत्तिएर यताउता दाैडिन थाल्याे । काेहि एम्बुलेन्समा स्यानिटाइज गर्नतिर लागे, केहि बिरामीकाे साेधपुछ तथा बिरामी बाेक्ने ट्रेचर ल्याउनतिर दाैडिरहेकाे देखिन्थ्याे । यस्तै गर्नुपर्छ भन्ने धेरैलाई जानकारी नै थिएन ।
यत्तिकैमा दुईवटा एम्बुलेन्स अस्पतालभित्रै छिर्याे र बिरामीलाई इमर्जेन्सी वार्डमा लगियाे । तर काेराेनाकाे बिरामीलाई छुट्टै राखेर उपचार गराउनुपर्छ भनेसम्मकाे हेक्का चिकित्सकहरूले बिर्से । याेसँगै झन् अत्तालिएर सुरक्षागार्डदेखि चिकित्सकहरू दाैरधुपमा लागे । धेरैलाई अस्पतालसँगै बनाइएकाे विशेष खालकाे काेराेना आइसाेलेसनमा छिराइयाे । यतै पत्रकार, उतै सुरक्षाकर्मीहरूकाे बाक्लो उपस्थिति देखिन्थ्याे । घटनास्थलमा देखिएका धेरैजना काेराेनाकाे बिरामीदेखि डराएर टाढिन खाेज्दैथिए । यस्तै क्रम केही मिनेट सम्म चल्याे ।
करिव १५ मिनेट पछि थाहा भयाे कि एम्बुलेन्समा ल्याइएका बिरामी नक्कली हुन् भने कुराे । जिल्ला रेडक्रस साेसाइटी भक्तपुरले मध्यपुर थिमि नगरपालिकासँगकाे समन्वयमा काेराेना महामारीकाे बखत आकस्मिक रूपमा उपचार गराउने सम्बन्धीकाे पूर्व तयारी अभ्यास गरेकाे थियाे ।
काेराेना बिरामी ल्याउँदा अपनाउनुपर्ने सतर्कताकाे तयारीकाे लागि याे नाटकीय घटना महत्त्वपूर्ण भएकाे मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । धेरैलाई जानकारी नदिइकन आयाेजना गरेकाे कार्यक्रममा भएका धेरै उपलब्धि र थाेरै त्रुटिलाई मूल्यांकन गरि अगाडि बढ्ने मेयर श्रेष्ठले दाबी गरे ।
हुनपनि काेराेना आकस्मिक उपचारकाे लागि शुक्रबार आयाेजित पूर्व तयारी अभ्यासपछि बस्ने भनिएकाे बैठकले प्रतिवेदन तयार गर्नेछ । साेही प्रतिवेदनकाे आधारमा अस्पतालमा काेराेना संक्रमितलाई थप प्रभावकारी रूपमा उपचार गर्न सकिने देखिन्छ ।
नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, स्थानिय समाजसेवी तथा स्वयंसेवकहरूलाई डाकेकाे भएपनि धेरैलाई याे विषय थाहा थिएन । यस्तै खालका काेराेनाकाे पूर्व तयारी उपचारकाे अभ्यास अस्पतालले पहिलाे पटक गरेकाे हाे । सेना र प्रहरीले भने भूकम्प, बाढिपहिराे तथा अन्य विपदजन्य घटनालाई मध्यनगर गरि पूर्व तयारी अभ्यास गर्दैआएका छन् ।
अस्पतालले काेराेना महामारीलाई मध्यनगर गरि सुविधायुक्त आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको जनाएको छ । शंकास्पद बिरामीको उपचार गर्न अस्पतालले १० वेडको आइसोलेसन वार्ड, ६ वेडको भेन्टिलेटरसहितको आइसोलेसन वार्ड र २० वेडको क्वारेन्टाइन वार्ड तयारी अवस्था राखेकाे छ । अस्पताललाई मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गर्दैआएकाे छ ।