मापदण्डविपरीतका घरटहरा भत्काउन सुरु «

मापदण्डविपरीतका घरटहरा भत्काउन सुरु

पोखरा क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका घरटहरा एवं भौतिक संरचना भत्काउने काम सुरु गरिएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१८ स्थित सराङ्कोट डाँडाको सार्वजनिक पर्तिजग्गामा अवैध रूपमा निर्माण भत्काएलगत्तै मंगलबार बगरस्थित भीमकाली पाटन तमु समाजले अवैध रूपमा निर्माण गरेको पर्खाल र गेट भत्काइएको छ ।
मापदण्डविपरीत महानगरभित्र कसैले निर्माण गरिएका भौतिक संरचनाहरू महानगरपालिकाले विस्तारै हटाउँदै जाने पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । उनले भने, “पहिला के भयो भन्दा अब के हुनुपर्छ भन्ने हो, अब कसैले मापदण्डविपरीत निर्माण गरेका भौतिक संरचनालाई महानगरपालिकाले भत्काइ छाड्छ ।”
महानगरपालिकाको वडा नं. १ भीमकालीपाटन बगरस्थित भीमकाली पाटन तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाउँदा स्थानीय सुभद्रा पौडेलले विगत दुई वर्षदेखि घर बनाउन नपाएको भन्दै बाटो खुला गर्न महानगरपालिकामा दिएको निवेदनको आधारमा महानगरपालिकाले अवैध रूपमा निर्माण गरेको भौतिक संरचना भत्काएको महानगरका नगर प्रहरी प्रमुख वसन्तप्रसाद चालिसेले बताए ।
समाजले सार्वजनिक बाटो मिचेर आफ्नो भवनको गेट बनाएको एवं सार्वजनिक नहर कुलोको मापदण्डविपरीत पर्खाल लगाइएको हुँदा आफूहरूले मंगलबार डोजर लगाएरै भत्काउनु परेको नगर प्रहरी प्रमुख चालिसे बताए । स्थानीय पौडेलको करिब पाँच आना जग्गा समाजले लगाएको पर्खालका कारण घर निर्माण गर्ने गरी दुई पटकसम्म जगको काम गरे पनि बाटो अवरोध गर्दैै घर नबनाउन चेतावनी दिएकाले आफूले हालसम्म घर बनाउन नपाएको पौडेलले गुनासो गरिन् । स्थायी घर घाचोक भए पनि केही वर्ष जापान बसेर स्वदेश आएकी पौडेलले तमु समाजका पदाधिकारीले उक्त जग्गामा घर बनाउन नदिने र पर्खालबाट नहेर्न र किनेको आधार मूल्यमा जग्गा माग्दै आएको बताइन् । पौडेलले भवन निर्माणका लागि करिब २ वर्षअघि नै स्वीकृति लिए पनि उक्त पर्खालकै घर निर्माण गर्न सकिनन् । मापदण्डविपरीत संरचना भत्काउने अभियानमा वडा नं. १ का पदाधिकारी, वडाप्रहरी कार्यालय बगरका सुुरक्षाकर्मी तथा नगर प्रहरीको सहभागिता थियो ।
महानगरपालिकाका मेयर मानबहादुर जिसीको निर्देशनमा टोलीले मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना भत्काउने अभियान जारी राख्ने भएको मेयर जिसीका सहयोगी लक्ष्मण तिमिल्सिनाले बताए । यसै विषयमा भीमकाली पाटन तमु समाजका अध्यक्ष धर्मराज गुरुङ महानगरपालिका प्रति रुष्ट छन् । उनले भने, “हाम्रो दर्ता भएको संस्थालाई हामीले निर्माण गरेको भौतिक संरचना भत्काउँदा हामी नभएको समयमा किन भत्काइयो ? कर्मचारीको पक्षमा लागेर मेयर साबले यस्तो काम गर्ने ? ”
यस्तै, महानगरपालिकाबाट गएको सुरक्षाकर्मी सहितको टोली तथा १८ नम्बरका वडाध्यक्ष रणबहादुर थापासहितको जनप्रनिधिहरू सहितको टोलीले सराङकोटमा अवैध रूपमा निर्माण गरेका दुई वटा घर टहरा भत्काएको छ ।

 

प्रतिक्रिया दिनुहोस्