उपभोक्ता समितिमार्फत विकास निर्माण सुरु

संखुवासभाको शिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रियालाई खारेज गर्दै उपभोक्ता समितिमार्फत विकास निर्माण तथा भौतिक योजनाका कार्य सुरु गरेको छ ।
ठेकेदारमार्फत भएका विकास गतिविधि अतिसुस्त र गुणस्तरहीन हुने भन्दै गाउँपालिकाले निर्माण कार्यविधि नै बनाएर उपभोक्ता समितिमार्फत विकासे कार्य गर्ने निर्णय गरेपछि गाउँका विकास योजना धमाधम सञ्चालनमा छन् ।
ठूलो बजेटको आयोजना सम्पन्न गर्न निर्माण कम्पनीमार्फत नै गर्नुपर्ने प्रावधान रहे पनि गाउँपालिकाले त्यस्तो ठूलो लागतको आयोजनालाई खण्ड खण्डमा विभाजन गरी निर्माण कार्य सम्पन्न गर्ने कार्यविधिमा व्यवस्था गरेका छन् । त्यहीअनुसार २ करोड लागतको बुम्लिङटारदेखि गाउँपालिका कार्यालयसम्म जोड्ने सडकको स्तरोन्नतिको आयोजना पनि निर्माण उपभोक्ता समितिमार्फत नै सुरु गरिएको छ । समितिमार्फत १ करोडभन्दा बढी लागतको निर्माण कार्य गर्न नपाइने भएकाले स्तरोन्नति कार्यलाई तीन भागमा विभाजन गरेर कार्य सुरु गरिएको शिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको भनाइ छ ।
उक्त आयोजना यसअघि ठेक्का प्रणालीबाट सम्पन्न गरिने भन्दै बोलपत्र आव्हान गरिएको थियो । आव्हान गरिएको बोलपत्रमा २७ निर्माण व्यवसायीले फारम खरिद गरिसकेका थिए । तर पछि गाउँ कार्यपालिकाको बैठकले निर्माण कार्यविधी नबनिसकेको भन्दै ठेक्का प्रक्रिया स्थगित गरी ठूला आयोजना खण्डीकरण गर्दै निर्माण समितिमार्फत नै सम्पन्न गर्ने व्यवस्थासहितको कार्यविधि पास गराएर काम थालनी गरिएको अध्यक्ष कुलुङ्ले बताए । निर्माण व्यवसायीहरूले खरिद गरेको बोलपत्रवापतको रकम फिर्ता गरिने अध्यक्ष कुलुङको भनाइ छ ।
स्थानीय उपभोक्ता समितिबाटै काम गरे उनीहरूलाई अपनत्व हुने र स्थानीय जनशक्तिले रोजगारीको अवसर पाउने र स्थानिय स्रश्रोतसाधनको सही परिचालनसमेत हुने भएकाले ब्यवस्था गरिएको अध्यक्ष कुलुङले स्पष्ट पारे । ठेक्का प्रणालीबाट काम गर्दा प्रक्रिया झण्झटिलो हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले पनि निर्माण समितिबाटै योजना सम्पन्न गर्ने ब्यवस्था गरिएको कार्यकारी अधिकृत मोहनप्रसाद निरौला बताउँछन् । “जिल्लामा अहिलेसम्म कुनै पनि आयोजना तोकिएको समयमा सम्पन्न भएको रेकर्ड देखेका छैनौं,” उनले भने, “समिति बनाएर काम गरे गुणस्तरीय र समयमै सकिने र कामको पारदर्शिता पनि देखिने भएकाले कार्यविधि बनाएर उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो ।”
ठूलो बजेटको आयोजना पनि खण्ड खण्डमा विभाजन गरेर एकैसाथ काम गरे छोटो समयमा धेरै काम गर्न सकिने र उपभोक्ता समितिबीच गुणस्तर र राम्रो कामका लागि प्रतिस्पर्धा हुने भएकाले विकास निर्माण कार्य छिटो हुने उनको दाबी छ ।
–कृष्णराज शाक्य