नाकामै कुहियो ७० करोडको फलफूल «

नाकामै कुहियो ७० करोडको फलफूल

नेपाल–चीन सीमाको केरुङ नाकामा ७० करोड रुपैयाँ बराबरको फलफूल नष्ट भएको छ । कोरोनाभाइरस (कोभिड–१९) का कारण चीनतर्फको व्यापार प्रभावित हुँदा सीमा नाकामै रोकिएका ७० करोड रुपैयाँ बराबरको फलफूल कुहिएको हो । कोभिड–१९ संक्रमण फैलन थालेपछि झन्डै चार महिनादेखि चीनबाट हुने आयातमा रोक लगाइएको छ । जसको कारणले गर्दा तातोपानी र केरुङ सीमा नाकामा रोकिएर बसेका एक सय ३० कन्टेनरमा फलफूल नष्ट भएको फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले जानकारी दिए ।
लामो समयसम्म नाकामा फलफूल बोकेका कन्टेनर रोकिँदा ७० करोड रुपैयाँको फलफूल नष्ट भएको उनको भनाई छ । पहिलै अर्डर गरेका सामान भने कोलकाताबाट पानीजहाजबाट भित्र्याइएको उनले जानकारी दिए । दुई महिनादेखि फलफूलको आयात कम हुँदा बजारमा मुल्य बृद्धि भएको छ । चीनबाट ल्याउने गरी अगाडि नै अर्डर गरिएका फलफूल पनि नाकामा रोकिएका थिए । सरकारले नाका खोल्न चासो नदिएपछि करोडौं मूल्यको फलफूल कुहिएर फाल्नु परेको उनको भनाइ छ ।
गत महिनासम्म व्यवसायीले चाँडै बिग्रने खाद्यान्न तथा फलफूलहरू ल्याउनका लागि नाका खोल्न पहल गरेका थिए । आयातित सामानमा संक्रमणको जोखिम हुने भएकाले सरकारले आयात बन्द गरेपछि फलफूलहरू कुहिन थालेको हो ।
चीनबाट ल्याउँदा सस्तो पर्ने भएपछि नेपालमा खपत हुने फलफूलमध्ये ६० प्रतिशत चीनबाटै आयात हुँदै आएको थियो । पहिले नै मगाएका सामान समेत नाकामा रोकिएपछि लकडाउनयता आयातकर्ताहरूले पनि चीनबाट फलफूल ल्याउन त्यति चासो नदिएको व्यवसायीको भनाइ छ । अहिले भारतबाट मात्र फलफूल आयात भइरहेको छ ।
यसैबीच, आयातित सामानका कारण कारोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएपछि रोक लगाइएको फलफूल भारतबाट आयात भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि आयात खुला भएको छ । लकडाउनपछि मागभन्दा धेरै फलफूल बजारमा भित्रिएसँगै कोभिड–१९ को जोखिम न्यून गर्न एक साताका लागि पुग्ने स्टक राखेर आयातमा रोक लगाइएको थियो ।
भारतबाट आयात हुने तरकारी, फलफूल तथा खाद्यान्न लिएर आउने सवारीसाधनमा चालक र सहयोगीबाहेक अन्य व्यक्तिहरू समेत आउन थालेपछि एक हप्तालाई आयात बन्द गरिएको थियो । दुई साताअघि भारतबाट दैनिक एक हजार टन आयात हुने गरेको फलफूल अहिले दैनिक तीन सय टनमा झरेको छ । कोरोना भाइरस प्रभावले आयात कम हुन थालेको व्यवसायीको भनाई छ ।
भारतबाट ल्याएका फलफूल भैरहवाबाट सुरक्षित तरिकाले नेपाली गाडीमा ल्याएर फलफूल बजारमा भित्रिने गरेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार फलफूल बजारले आयात रोके व्यापारीले आफूखुशी मूल्य लिने र बजार असन्तुलित हुनसक्ने भएपछि पुन आयात गर्न थालिएको हो ।
कोरोना भाइरसको संक्रमण लगायत अन्य रोगसँग लड्न आवश्यक पोषणका लागि फलफूल पनि खान जरुरी भएकाले समेत आयात खुला गरेको बताइएको छ । व्यवसायीका अनुसार अनुसार लकडाउनका बीच पनि अहिले दैनिक दुई सय टन फलफूल खपत भइरहेको छ । केरा मात्र सय टन खपत भइरहेको बताइएको छ । यस्तै तरबुजा र मेवाको खपत क्रमशः ५० टन र २० टन रहेको छ ।
हाल बजारमा स्याउ तरवुजा मेवा सुन्तला केरा र अङुरको खपत अन्य फलफूलभन्दा बढी भइरहेको छ । चीनबाट आयात रोकेपछि महँगिएको फलफूलको मूल्य भारतबाट आयात खुला गरेसँगै सस्तिएको छ । उपभोक्ताले सबैभन्दा बढी रुचाउने फुजी स्याउको मूल्य पनि अहिले झन्डै आधा सस्तिएको छ । गत हप्ता किलोको साढे चार सय रहेको फुजी स्याउको मूल्य अहिले २४० रुपैयाँमा झरेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्