संसद् अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग «

संसद् अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग सरकारसँग गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न माग गरेको हो । तत्काल संसद बैठक बोलाउन पनि कांग्रेसले माग गरेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्छ ।
कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औंल्याएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लकडाउनको पनि समीक्षा भएको थियो । लकडाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष बैठकले निकालेको छ । पीपीई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको थियो ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेका नागरिकहरुको उद्धार गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल
नेपाली कांग्रेस मुलुक कोरोना भाइरसबाट संक्रमणमुक्त भएपछि मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने योजना र रणनीति बनाउने तयारीमा जुटेको छ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र अर्थविद्हरुसँग मंगलबार यसबारे छलफल गरेका थिए ।
बैठकमा कोरोनाको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने योजना र रणनीतिबारे छलफल भएको थियो ।
यस्तै बैठकले लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत उपलब्ध गराउन राज्यलाई जरुरी कदम चाल्न आग्रह गरेको छ ।
बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शशांक कोइराला, पूर्णबहादुर खड्कालगायत सहभागी थिए । यस्तै प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र उदयशम्शेर राणा पनि सहभागी थिए ।
अर्थशास्त्रीहरु पृथ्वीराज लिगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल, स्वर्णीम वाग्ले, अच्युत वाग्ले, पोषराज पाण्डे, प्रभु बुढाथोकी, विश्व पौडेल, राजु नेपाललगायतले पनि बैठकमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्