४० मेगावाटको न्यादीलाई लगानी जुट्यो «

४० मेगावाटको न्यादीलाई लगानी जुट्यो

लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।
सिउरी न्यादी पावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा ६ बैंकले ऋण लगानी गर्ने सम्झौतासँगै वित्तीय व्यवस्थापन भएको हो । आयोजनामा एनएमबी बैंकसहित प्रभु, मेगा, सेन्चुरी, एनसीसी र कुमारी बैंक लिमिटेडले ५ अर्ब २५ करोड लगानी गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र बैंकका प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।
७ अर्ब कुल लागत रहेको आयोजनामा ७५ प्रतिशत अर्थात् ५ अर्ब २५ एनएमबी बंैकले लगानी गरेको कम्पनीका अध्यक्ष गुरागाईंले जानकारी दिए । सम्झौता कार्यक्रममा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशमा बन्ने आयोजनामा प्रदेश सरकारले विशेष सहयोग गर्ने बताए ।
१ अर्ब ७५ करोड स्वपुँजी लगानी रहेको आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । लगानीको जोहो भएपछि निर्माण सुरु गरिने कम्पनीका अध्यक्ष गुरागाईंले बताए । २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट २३५.७६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्