भन्सार कार्यालयमा कर्मचारी अभाव «

भन्सार कार्यालयमा कर्मचारी अभाव

कर्णाली प्रदेशको उत्तरी नाका भन्सार कार्यालयमा कर्मचारीको अभाव भएको छ । तिब्बतसँग नाका जोडिएका हुम्ला, मुगु र डोल्पा नाकाका भन्सार कार्यालयमा कर्मचारी अभाव भएको हो ।
तिब्बती सीमा नाकाको भन्सार कार्यालयमा वर्षांैदेखि कर्मचारीविहीन र हुम्लाको हिल्सा, न्यारी, मुगुको नाक्चे लाग्ना, लुम्सलगायतका ठाउँमा भन्सार कार्यालयको साइनबोर्ड राखिए पनि कर्मचारी नभएको स्थानीयबासीले बताए । हुम्लाको हिल्सा, न्यारी, मुगुको नाक्चेलाग्ना र डोल्पाको डोलपोमा वैशाख महिनामा साइनबोर्ड राख्ने गरेको भए पनि त्यसबाहेकका महिनामा साइनबोर्ड नै नदेखिने स्थानीयको भनाइ छ ।
मुगुको लुम्स भन्सार कार्यालयमा वैशाख लागेपछि साइनबोर्ड तिब्बत सीमा मुगु गाउँमा देखिन्छ भने मंसिरपछि उक्त साइनबोर्ड लुम्स बगरको एक व्यापारीको घरबाहिर राख्ने गरिएको मुगु मुर्मारोव गाउँपालिकाका स्थानीय स्याम्बो लामाले बताए । “मौसमअनुसार कार्यालयको साइनबोर्ड फेरबदल हुन्छ,” उनले भने, “कर्मचारी भने कहिल्यै देखिँदैनन् ।”
तिब्बत नाकातर्फ हुने अवैध व्यापार रोकथाम र राजस्व असुलीका निम्ति स्थापना गरिएका भन्सार कार्यालयमा कर्मचारी नहुँदा राजस्व गुमेको हुम्लका पत्रकार नरजंन तामाङले बताए । “उत्तरी नाकामा यहाँका बासिन्दाको ब्यापार हुने गरेको छ ।” उनले भने, “भन्सारमा कर्मचारी नहुँदा राजस्व गुम्ने गरेको छ ।”
उत्तरी नाका भन्सार सक्रिय नहुदा सरकारलाई करोडौ राजस्व घाटा लागेको, कर्मचारीविहीन हुँदा तिब्बततिरको अवैध व्यापार वृद्धि भएको मुगु कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । “कर्मचारी अभावमा करोडौं राजस्व गुमेको छ,” उनले भने, “भन्सार नभएको मौका छोपी व्यापारीले अवैध रूपमा जडिबुटीलगायतका मालसामान तिब्बतमा पु¥याई बिक्री गरेको पाइएको छ ।”

रमेश रावल

प्रतिक्रिया दिनुहोस्