लकडाउनको मारमा होटल व्यवसायी «

लकडाउनको मारमा होटल व्यवसायी

जुम्ला -कोरोनाको संक्रमण बढ्ने संकेत पाएपछि सरकारले जारी गरेको लकडाउन करिब डेढ म हिनादेखि जारी छ । लकडाउनका कारण देश ठप्प रहेको छ । यसको प्रत्यक्ष मारमा जुम्लाका होटल व्यावसायी पनि परेका छन् ।
लकडाउन लम्बिएसँगै कर्णालीको पर्यटन क्षेत्र, होटल व्यवसायी र उद्योगीहरु बढि मारमा परेका छन् ।
लकडाउनकै कारण होटल व्यवसायी प्रत्यक्ष मारमा परेको कान्जिरोवा होटलका सञ्चालक नोर्बु लामाले बताए । उनका अनुसार लकडाउन लम्बिएकाले होटल बन्द भएसँगै अधिकांश व्यवसायीहरु स्याउ र सूर्यमुखी फूलको खेती गर्न गाउँतिर फर्किएका छन् । “होटलमा काम गर्ने कामदारलाई तलब खुवाउने अवस्स्था नभएपछि गाउँतिर पसेको हुँ” उनले भने ।
यता तातोपानी पर्यटन क्षेत्रको रहेको सत्कार होटल एण्ड रेष्टुरेन्ट पनि लकडाउनको प्रत्यक्ष मर्कामा परेको छ । करिब ५ करोड लागतमा निर्माण भएको होटल सञ्चालनमा आएको महिना दिन पुग्न नपाउँदै लकडाउन भएपछि होटलको शुरुवातीमै घाटा व्यहोर्नु परेको छ ।
कोरोना भाइरसको त्रासले तातोपानी पर्यटन क्षेत्रमा पर्यटकको आवागमन होटल व्यवसाय ओरालो लागेको सत्कार होटलका सञ्चालक तेजेन्द्र रावलले बताए ।
त्यस्तै तातोपानी पर्यटन क्षेत्रमै रहेको होटल रिभर साईट पनि लकडाउनको मारमा परेको सञ्चालक राजु केसीले बताए । करिब ३ करोडको लागतमा नयाँ भवनमै सञ्चालन भएको होटलले सुरूमै लकडाउनका कारण आम्दानी गुमाउनु परेको उनको दुखेसो छ ।

घरभाडा मिनाह नहुँदा सास्ती
जुम्ला सदरमुकाममा साना ठूला गरी करिब पाँच दर्जन होटल सञ्चालनमा छन् । सञ्चालित मध्ये ९५ प्रतिशत होटल भाडाकै घरमा रहेका छन् ।
जुम्लामा न्युनतम १० हजारदेखि मासिक भाडा तिरेर अधिकांश होटल सञ्चालन भइरहेका हुन् । नैना होटलका सञ्चालक लोकेश परियार भन्छन्, सरकार कोरोना रोकथामसँगै होटल व्यवसायी, उद्योगी व्यापारीहरुको समस्या केन्द्रित हुनुपर्ने माग गरे ।
तर लामो लकडाउनले घाटा व्यवहोरेका व्यवसायी, घरभाडामा बस्नेहरु भाडा छुटको अपेक्षा गरिरहेका छन् ।
जुम्लामै पहिलो हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले मात्रै चैत महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्