बेनी–जोमसोम–कोरला सडक आयोजनालाई बजेटको अभाव «

बेनी–जोमसोम–कोरला सडक आयोजनालाई बजेटको अभाव

बजेट अभावले राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम प्रभावित भएको छ ।
बेनीदेखि तिब्ती सिमाना कोरला नाकासम्मको १८६ किमि सडक स्तारोन्नतिका लागि सञ्चालित आयोजनाको काम बजेट अभावका कारण रोकिने अवस्था पुगेको निर्माण कम्पनीका प्रतिनिधिहरूले बताएका छन् । बेनी–जोमसोम सडकको दुईवटा प्याकेजको ठेक्का लिएको शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले आयोजनाले समयमै रनिङ बिलको रकम भुक्तानी गर्न नसक्दा मजदुरलाई ज्याला दिन, इन्धन र निर्माण सामग्री जुटाउन समस्या परेको बताए । “अहिलेसम्म बैंकको ऋण र सापटी गरेर जेनतेन धानिएका छौं । कामलाई तीव्रताका साथ अघि बढाउन अप्ठ्यारो परेको छ,” क्षेत्रीले भने, “आयोजनाले छिट्टै बजेटको व्यवस्था गर्न नसके काम रोक्नुपर्ने हुनसक्छ ।”
बेनीदेखि मुस्ताङको जोमसोमसम्मको ७६ किमि सडक कालोपत्रेका लागि चारवटा खण्डमा पहिलो चरणमा सडक फराकिलो बनाउने काम भइरहेको छ । हिउँदमा चिसोका कारण रोकिएको ११० किमि दूरीको जोमसोम कोरला खण्डको ठेक्का लिएका निर्माण कम्पनीहरू पनि बजेट अभावले काममा फर्कन ढिलाइ गरेका छन् ।
सरकारले यो आयोजनाका लागि चालू आर्थिक वर्षमा विनियोजन गरेको ५५ करोड रुपैयाँ बजेट गत मंसिरमै सकिएको थियो । आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले वर्षभरिका लागि विनियोजित बजेट पहिलो चौमासिकमै खर्च भएको र थप बजेट व्यवस्थापन गर्न ढिलाइ भएको बताए । उनका अनुसार अर्थ मन्त्रालयले हालै ३० करोड थप बजेट पठाएकाले तत्काललाई समस्या टरेको छ । “काम छिटो भएकाले वर्षभरिका लागि विनियोजित बजेट पहिलो चौमासिकमै सकिएको हो,” आयोजना प्रमुख सुवेदीले भने, “अर्थले थप बजेटको व्यवस्था गरेकाले अब समस्या हँुदैन ।” २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको प्रमुख सुवेदीले बताए ।
११ मिटर फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिज विस्थापित गरेर पक्कि मोटरेबल पुल निर्माण गरिने भएको छ । बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने इन्जिनियर प्रदिप निरौलाले बताए ।
यो सडकलाई प्रदेश नम्बर ४ को भाग्यरेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कोरला नाका सञ्चालन गर्ने वातावरण बने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालिगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्