भारतबाट गुणस्तरहीन दूध आयात «

भारतबाट गुणस्तरहीन दूध आयात

भारतबाट गुणस्तर परीक्षण नगरी दैनिक एक हजार लिटरभन्दा बढी दूध मुख्य नाकाबाटै नेपालगन्ज भित्रिने गरेको छ । यसैगरी विभिन्न सहायक नाकाबाट पनि दुईदेखि तीन सय लिटर दूध आउने गरेको छ । 
भारतका दूध उत्पादक कृषकले परीक्षण नगरिएको दूध बिना कुनै रोकटोक नेपालगन्ज भित्र्याउने गरेका छन् । सीमापारीबाट आउने दूधको परीक्षण नगरिँदा गुणस्तरहीन दूध खान नेपाली उपभोक्ता बाध्य भएको स्थानीयको भनाइ छ । 
भारतबाट नेपाल आउने दूधमा फ्याट एक प्रतिशतभन्दा कम हुने गरेको पशु क्वारेन्टाइन चेकपोष्ट नेपालगन्जका इन्चार्ज पशु चिकित्सक रामसेवक त्रिपाठीले बताए । “भारतबाट आउने दूधमा धेरै पानी हाल्ने भएकोले फ्याटको मात्रा एकदमै कम हुन्छ,” उनले भने ।
नेपालगन्ज नाका भएर आउने दूधको ल्याक्टो सामान्य परीक्षण हुने गरेको छ । ल्याक्टोमिटरमार्फत् ल्याक्टोको मापन गरिँदै आएको पशु चिकित्सक त्रिपाठीले बताए । ल्याक्टो मापन भए पनि फ्याट मापनबिना भारतीय दूध बजारमा जान दिने गरेको उनको भनाइ छ । “ल्याक्टो परीक्षण भए पनि उपकरण अभावमा फ्याट परीक्षण हुन सकेको छैन,” उनले भने । परीक्षणका लागि उपकरण नभएकोले शंका लागेमा क्षेत्रीय खाद्य प्रविधि प्रयोगशालामा पठाउने गरेको उनले जानकारी दिए । उनका अनुसार एक पटक परीक्षण गरेको ६५० रुपैयाँ शुल्क लाग्छ । महँगो शुल्क र समयमा रिपोर्ट नआउँदा परीक्षण गराउन समस्या भएको उनले बताए । 
भन्सारले समेत शुल्क नलिँदा भारतीय कृषकलाई प्रोत्साहन मिलेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए । नेपाली कृषकले उत्पादन गरेको दूध पर्याप्त भएकोले भारतबाट आउने दूध आउन बन्द गर्नुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्