खाद्यन्न संकट टार्न आपतकालनी रोजगारी

धादिङ-विश्वभर माहामारीका रुपमा फैलिरुहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् । कतिपय स्थानीय तहहरुले उनीहरुलाई लक्षित गरी राहत सामग्री वितरण पनि गरिरहेका छन् ।
तर राहत प्याकेजले मात्र जिविका नचलने भन्दै धादिङको नेत्रावती दवजोङ गाँउपालिकाले गरिब तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगारी दिन थालेको छ । सरकारले तोकेको मापदण्ड र आफूसँग भएको स्रोत साधनअनुसार राहत वितरण गरेपनि दीर्घकालीन रुपमा समस्या समाधानका लागि रोजगारीको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दुर्गा नारायण शाक्यले बताए ।
“नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज वितरण ग-यौं” उनले भने, “त्यो राहतले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवालाई लक्षित गरी खाद्यन्न संकट टार्न आपतकालीन रोगारका लागि श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौं ।” कार्यक्रममा सहभागी हुने श्रमदाता वडाबाटै छनौट गरी सार्वजनिक निमार्णमा लगाउने र गाँउपालिकाले निर्धारण गरेका सात सय पचास रुपयाँ ज्याला दिने गरी वडा नं. ३ बाट काम सुरु गरेको अध्यक्ष शाक्यले बताए ।
श्रममा आधारित रोजगार कार्यक्रमबाट सडक, खानेपानी पाइप, मुहान सरसफाई, कुलो मर्मतलगायतका काम लगाइने गाउँपालिकाले जनाएको छ । सम्बन्धित वडामा काम पूरा भए श्रमिकहरुले अर्को वडामा समेत काम गर्न पाउने छन् ।
“कार्यक्रममा को को सहभागी हुन पाउने समेत टुंगो लगाइसकेका छौं” उनले भने, “वडा नं. १, २, ३, ४, र ५ का गरी १ सय ६२ जना बेरोजगारलाई तत्काल रोजगारी दिने तयारी गरेका छौं ।”
लकडाउनको समय लम्बिए मजदुरी गर्नेको संख्या थपिन सक्ने अध्यक्ष शाक्यको भनाइ छ । .कृषिको काम गर्न पनि सकेसम्म एकै परिवार र अर्मपर्म गर्नु परेपनि थोरै संख्यामा काम गर्न गाउँपालिकाले आग्रह गरेको छ ।