चीनको औद्योगिक उत्पादन बढ्यो «

चीनको औद्योगिक उत्पादन बढ्यो

चीनको औद्योगिक उत्पादन गत वर्षको समान अवधिको तुलनामा यो वर्षको सुरु दुई महिनाको अवधिमा ७.२ प्रतिशतले वृद्धि भएको छ । यसैबीच स्थिर सम्पत्ति लगानी वृद्धि पनि ७.९ प्रतिशतमा पुगेको छ । यी दुवैको वृद्धि अपेक्षाभन्दा बढी हो ।
विश्लेषकमाझ गरिएको सर्वेक्षणले औद्योगिक उत्पादनको वृद्धि ६.१ प्रतिशत देखाएको थियो । यो डिसेम्बरको ६.२ प्रतिशतको तुलनामा कम हो ।
स्थिर सम्पत्तिको लगानी ७ प्रतिशत हुने अपेक्षा गरिएको थियो । यो पनि गत वर्षको पूरै अवधिको ७.२ प्रतिशतको तुलनामा कम हो ।
निजी क्षेत्रको स्थिर सम्पत्तिको लगानी ८.१ प्रतिशतले वृद्धि भएको छ । यो पनि गत वर्षको ६ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो । चीनमा हुने समग्र लगानीमा निजी लगानीको हिस्सा ६० प्रतिशत रहँदै आएको छ ।
वार्षिक मापनका आधारमा खुद्रा बिक्री ९.७ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । यो अपेक्षाभन्दा थोरैले कम हो ।
विश्लेषकहरूले बिक्री वृद्धि डिसेम्बरको ९.४ प्रतिशतबाट वृद्धि भई ९.८ प्रतिशत पुग्ने अपेक्षा गरेका थिए ।
चीनले यो वर्ष खुद्रा बिक्रीको वृद्धि १० प्रतिशत पुराउने लक्ष्य राखेको छ । तर, औद्योगिक उत्पादन तथा स्थिर सम्पत्तिको लगानीको लक्ष्य भने घोषणा गरेको छैन ।
प्रधानमन्त्री ली कछ्याङले गत साता आफ्नो मुलुकको अर्थतन्त्र यो वर्ष ६.५ प्रतिशतले बिस्तार हुने बताएका थिए । यो २०१७ को समान हो । यसमा सरकारले पूर्वाधारको क्षेत्रमा गरेको विशाल आकारको लगानी र बैंकको कर्जा प्रवाहको योगदान छ ।

प्रतिक्रिया दिनुहोस्