बेलायती वृद्धि जी–२० कै न्यून

यो वर्ष बेलायती अर्थतन्त्र विश्वका अन्य विकसित र उदीयमान राष्ट्रको अर्थतन्त्रको तुलनामा मन्द दरमा वृद्धि हुने ओइसीडीले जनाएको छ ।
बलियो बनेको विश्वव्यापी सुधारका बाबजुद यो वर्ष बेलायती वृद्धि १.३ प्रतिशत हुने प्रक्षेपण ओईसीडीले गरेको छ ।
यो दर सुरुमा गरिएको १.२ प्रतिशत प्रक्षेपणको तुलनामा बढी हो, तर जी–२० कै कमजोर हो ।
ओईसीडीले यो वर्ष विश्वव्यापी वृद्धि २०११ देखिकै तीव्र भएको जनाएको छ । यसमा अमेरिकी कर कटौती र जर्मनीमा गरिएको खर्चको महत्वपूर्ण योगदान रहेको छ ।
विश्वव्यापी अर्थतन्त्र आगामी दुई वर्षको अवधिसम्म वार्षिक ३.९ प्रतिशतका दरले विस्तार हुने अवस्थामा रहेको पेरिसस्थित संस्थाले जनाएको छ ।
यो वृद्धिदर गत नोभेम्बरमा गरिएको प्रक्षेपणभन्दा बढी हो । उक्त समयमा २०१८ मा ३.७ र आगामी वर्ष ३.६ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको थियो । तर, वृद्धि र रोजगारीमा चोट पु¥याउन सकिने भनि मानिएको व्यापार अवरोधले सुधारमा जोखिमको अवस्था सिर्जना गरेको चेतावनी संगठनले दिएको छ ।
बेलायतको उच्च अवस्थाको मुद्रास्फीतिले घरधुरीको आम्दानीमा लगातार संकुचन ल्याउन सक्ने संगठनले जनाएको छ ।
कमजोर अवस्थाको व्यावसायिक लगानीले आगामी दुई वर्षको अवधिसम्म वृद्धिलाई प्रभाव पार्नेछ । ब्रेक्जिटको मोलमलाइका कारण देखिएको अनिश्चितताले बेलायती वृद्धिमा प्रभाव पार्ने बताइएको छ ।
संस्थाले आगामी वर्षका लागि बेलायतको वृद्धिलाई १.१ प्रतिशतको अपरिवर्तनीय अवस्थामा राखेको छ । यो जापानकै जस्तो मन्द वृद्धि हो ।
बौद्धिक अर्थशास्त्रीहरूले बेलायती अर्थतन्त्र आगामी २ वर्षसम्मको अवधिमा वार्षिक १.५ प्रतिशतका दरले विस्तार हुने अपेक्षा गरेका छन् ।