बन्द रहेका उद्योगलाई ब्याजदरमा छुट «

बन्द रहेका उद्योगलाई ब्याजदरमा छुट

केन्द्रिय बैंकले कोरोनाका कारण बन्द रहेका उद्योगलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाउन निर्देशन दिएको छ ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कोरोनाका कारण हाल बन्द रहेका पर्यटन तथा उत्पादनमुलक उद्योगलाई दुई प्रतिशत विन्दुले ब्याज घटाउन निर्देशन दिएको हो । बन्द उद्योगलाई ठूलो राहत पुग्ने भन्दै खासगरी ऋणात्मक हुने क्षेत्रलाई राहत दिन केन्द्रीय बैंकले यस्तो निर्देशन ल्याएको हो । पर्यटन, उत्पादनमुलक उद्योग, अटोमोटिभलगायतका क्षेत्र कोरोनाका कारण ऋणात्मक हुने सम्भावना रहेकोले ती क्षेत्रलाई तत्काल राहत दिन २ प्रतिशत विन्दूले ब्याज घटाइएको राष्ट्र बैंकले जनाएको छ ।
निर्देशनअनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, तथा सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरुले २ प्रतिशत विन्दुका दरले ब्याजदर घटाउनु पर्नेछ ।
साथै, चालू पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्ने भने कुनै उद्योगीले चालू पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा पनि बढाइएको राष्ट्र बैकले जनाएको छ ।
यस्तै, कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको छ । होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताहरुको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । यस अवधिमा तिर्नु पर्ने कर्जा असार मसान्तमा तिर्दा थप शुल्क वा हर्जना नलिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै ५० अर्ब लगानी योग्य पुँजी थप गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । राष्ट्र बैंकले बैंकहरुले एक वर्ष भुक्तानी अबधि रहेका २ वा सोभन्दा बढी अवधिका मुद्दति निक्षेपलाई शतप्रतिशत लगानी गर्न पाउने सुविधा दिएको जनाएको छ । त्यसैगरी, राष्ट्र बैकले बैंकहरुमा मुद्दति निक्षेपमा रहेको विदेशी मुद्रालाई पनि स्रोत परिचालन (सीसीडी) मा गणना गर्न मिल्ने व्यवस्था पनि गरेको छ । यस व्यवस्थाबाट थप ५० अर्ब रुपैयाँ लगानीयोग्य पुँजी थपिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्