Logo

कर्णाली राजमार्गमा मनपरी भाडा असुली

कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी कार्यालय, जुम्लाको पहलमा भएको छलफलमा भाडादर कायम भएको थियो । तर, एक वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्न छोडेका छैनन् । यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले भाडादर कार्यान्वयनमा नआएको बताए । “कर्णाली राजमार्गमा भाडादरमा एकरूपता आएको छैन, व्यवसायीले भाडादर कार्यान्वयनमा ल्याएका छैनन्,” ढकालले भने ।
व्यवसायीद्वारा दोब्बर भाडा असुली
जुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि यातायातका साधनहरू चल्छन् । सुर्खेत र नेपालगन्जसम्म बसका साथै साना सवारीसाधन जिप, माइक्रोबस पनि चल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय जुम्लादेखि सुर्खेतसम्म प्रतियात्रु ८ सय १९, नेपालगन्जसम्म १ हजार ६९ र काठमाडौं २ हजार रुपैयाँ भाडा तय गरिएको छ । तर, यातायात व्यवसायीले यात्रुअनुसार भाडा लिने गरेका छन् । जसबाट जतिसक्यो, त्यति लिने गरेको यात्रुको गुनासो छ ।
उनीहरूले जुम्लाबाट सुर्खेतको जिपले २ हजार र बसले १ हजार ६ सय रुपैयाँ लिन्छन् । त्यस्तै, जुम्लाबाट नेपालगन्जसम्म जिपले २ हजार र बसले १ हजार २ सय लिन्छन् । जुम्ला–काठमाडौं बस मात्रै चल्छन, तिनले प्रतियात्रु २ हजार ८ सय ५० रुपैयाँ लिने गरेका छन् । कर्णाली यातायात व्यवसायी संघ, जुम्लाका अध्यक्ष मीनबहादुर थापा भाडादरमा एकरूपता नभएको स्वीर्काछन् ।
साना–ठूला सबैखाले सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको बताउँदै उनले भने, “सबै यातायात व्यवसायी समिति जुम्लाभन्दा बाहिरका छन्,” हामीले नियन्त्रण गर्ने अवस्था छैन ।
कर्णाली राजमार्गमा कर्णाली, गोकर्णाली, चन्दननाथ, सनराज, बुलबुलेलगायत एक दर्जनभन्दा बढी यातायात व्यवसायी समिति सवारीसाधन चल्छन् । भाडादर कार्यान्वयनमा स्थानीय प्रशासनले वास्ता नगरेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष थापाको भनाइ छ ।
“यो विषय नियमन गर्न पटक–पटक सिडियोसाप र यातायात व्यवस्था कार्यालयलाई अनुरोध गर्येउ, ध्यानै दिँदैन,” उनले भने । यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्छ ।
काउन्टरमा काटिन्न टिकट
यातायात व्यवसायी समितिहरूले जुम्ला बसपार्कमा काउन्टर राखेका छन् । बाटोमा पनि ठाउँ–ठाउँमा काउन्टर छन् । तर, काउन्टरमा टिकट काट्ने भने गरिएको छैन । मनपरी भाडा लिने गरेकाले काउन्टरमा टिकट काट्ने गरिएको छैन । यसले ट्राफिक प्रहरीलाई छल्न सजिलो हुने गरेको छ । उनीहरूले ट्राफिक बिटनजिक यात्रुलाई ओरालेर हिँड्न लगाउने गरेका छन् । ट्राफिक प्रहरीले पनि सामान्य जरिवाना गराएर छोड्ने गर्छन् ।
सहुलियत छैन
यातायातका साधनमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिइन्छ । कर्णाली राजमार्गमा भने कसैलाई पनि भाडादरमा छुट दिने गरिएको छैन ।
जुम्लाबाट नेपालगन्ज, सुर्खेत तथा काठमाडौं यात्रा गर्दा पनि छुट नपाएको हिमा गाउँपालिकाको खलढुंगाका सूर्य अधिकारीले बताए । “अपांग हुँ, परिचय पत्र पनि देखाउँछु, तर कसैले छुट दिँदैनन्,” अधिकारीले भने । विद्यार्थीलाई पनि भाडादरमा छुट नदिने गरिएको अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीले बताए । “विद्यार्थी परिचयपत्र देखाउँदा पनि यातायात व्यवसायीले छुट दिँदैनन्,” नेपालीले भने ।
स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको उनको आरोप छ । कर्णाली राजमार्गमा चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिक, अपांग तथा महिलाका लागि सिट छुट्याइएको पनि हुँदैन । उभिएर जानुपर्ने अवस्था छ । ज्येष्ठ नागरिक संघ, जुम्लाका अध्यक्ष तीर्थराज भारतीले भने । राज्यले जेष्ठ नागरिक एकल महिला तथा विद्यार्थीका लागि छुट्याएको विशेष राहात लाई यातायात व्यवसायीहरूले मिच्दै हिँडेको जुम्लावासीको गुनासो छ ।

सागर परियार

प्रतिक्रिया दिनुहोस्