डोटीमा पनि बेल विवाह «

डोटीमा पनि बेल विवाह

दिपायल (डोटी) – बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल विवाह गरिन्छ । नेवारी समुदायमा छोरीहरुको पराइ घर जाने विवाहको दिनभन्दा बेल विवाह ठूलो पर्व नै मान्ने गर्छन् ।
दिपायल सिलगढी नगरपालिका ६ डोटीका स्थानीय गोकर्ण श्रेष्ठले भने, “महिनावारी नहुँदै छोरीहरुको विवाह गर्ने चलन परम्परादेखिकै चल्दै आएको हो । सबै ठाउँमा बस्ने नेवारी समुदायले यो छोरीहरुको बेल विवाह जस्तोसुकै धनी गरिब परिवारले पनि छुटाउँदैनन् ।” उनले थपे, “छोरीहरुको बेलविवाह १० वर्षभन्दा कमकै उमेरमा गरिन्छ भने छोराहरुको ब्रतबन्धमा बेल विवाहसरह नै पूजाआजा गरिन्छ ।”
ब्राह्मण, क्षेत्रीलगायत अन्य समुदायमा विवाहको दिनमा विवाह गरेको कपडा नै बाँधेर पूजा गर्ने मण्डप वरिपरी घुमाउने गरिन्छ भने नेवारी समुदायमा यो विवाहको कपडा बेलविवाह तथा ब्रतबन्ध गरेको समयमा नै गरिन्छ ।
छोरीहरुको बेलबिबाहमा ब्राम्हण कन्याले सिन्दूर हाल्ने र पानी, मिठाई खुवाउने चलन चल्दै आएको गोकर्ण श्रेष्ठले बताए । महिनाबारी नहुँदै बेल विवाह गरेमा आउँदो दिनमा आमा बुवाले विवाह गर्न नपाउँदै भागेर विवाह गरेपनि आफन्तहरुले नेवारी संस्कारअनुसार विवाह नै गरिसकेको भनेर चित्त पनि बुझाइन्छ ।
बेलविवाहमा दुलाहाको सट्टा बेलका फल राखेर मन्दिरमा पूजाआजा गरिन्छ । त्यो बेलको दाना नै ज्वाइँ शिवजी मानेर पूजाआजा गरिन्छ । त्यो बेलको दाना पनि मन्दिरबाट घरमा ल्यार वर्षौसम्म राख्ने चलन रहेको विनोद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्