बक्स अफिस र डिजिटाइजेसनको आश «

बक्स अफिस र डिजिटाइजेसनको आश

चलचित्र क्षेत्रमा बक्स अफिसको सुरुवातसँगै नेपाल चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्न उद्देश्यले डिजिटाइजेशन गर्ने भएको छ । यसमा नेपाली चलचित्रको स्वर्णकाल पुराना चलचित्र आमा, कुमारीदेखि शान्तीदिपसम्म डिजिटाइजेशन हुने भएको छ । बोर्डको पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । बोर्डले सबैभन्दा पहिले नेपाली चलचित्र आमासहित १२ वटा चलचित्रलाई पहिले चरणमा डिजिटाइजेशन गर्न लागेको हो ।
डिजिटाइजेशन भनेको पुरानो रिल प्रविधिबाट बनेको चलचित्रहरू खुइलेर जानसक्ने भएकाले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रुपान्तरण गरी संरक्षण गर्ने विधि हो । यसबाट पुराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकन्छ । पुराना चलचित्रहरूलाई डिजिटाइजेशनको प्रकियामा लैजानको लागि विकास बोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पुराना चलचित्रहरूलाई क्रमशः डिजिटाईजेसन प्रकियामा लैजान सिफारिस गरेको छ ।
डिजिटाईजेशन भएपछि सबै १६ एमएम र ३५ एमएमका फम्यार्टमा ल्याउन सकिनेछ । साथै नेपाली चलचित्रको गौरवमय इतिहासलाई आम सर्वसाधारणसम्म पुराउन चलचित्र संग्रहालयको पनि स्थापना गर्न प्रकियाको थालनी भएको बोर्डले जनाएको छ । आगामी असार १६ गते चलचित्र बिकास बोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्र निर्माण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा साताव्यापी रुपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रुपमा प्रदर्शनीसमेत गर्न तयारी बोर्डले गरेको छ ।
पुराना चलचित्रलार्ई डिजिटाईजेशन गरी एक सातासम्म प्रदर्शन गर्न लागेको चलचत्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् । “हामीले नेपालमा चलचित्र निर्माण सुरु भएको ५० वर्ष नाघिसकेको अवसरमा प्रारम्भिक चरणमा १२ वटा अति पुराना नेपाली चलचित्रलाई डिजिटाईजेशन गरी एक सातासम्म प्रदर्शन गर्न निर्णय गरेको छौं,” उनले भनिन् ।
त्यसैगरी नेपाली चलचित्रको सरंक्षण र स्तरोन्नतिको लागि यो कदम स्वागतयोग्य रहेको कलाकारहरूले बताएका छन् । “नेपाली चलचित्रप्रेमीको लागि योभन्दा सुखद खबर अरु के नै हुन्छ र ? यो कदम चलचित्र विकासका लागि कोशेढुंगा सावित हुनेछ,” आमा चलचित्रकी नायिका तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाले बताइन् ।
यसैगरी अर्का कलाकार हरिवंश आचार्यले चलचित्र विकास बोर्डका वर्तमान अध्यक्षको कार्यकाल स्वर्णिम युग बन्ने विश्वास व्यक्त गरे । “बोर्डको २०५६ सालदेखिको इतिहासमा हालसम्म बोर्डले गर्न नसकेको काम वर्तमान अध्यक्षको कार्यकालमा हुन लागेकोमा खुशी छु,” उनले भने ।
आमा नेपालको पहिलो नेपाली चलचित्र हो । २०२१ सालमा छायाङ्कन भएको यस चलचित्र २०२२ सालमा प्रदर्शनमा आएको थियो । आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दुर, परालको आगो, कुमारी, मनको बाँध, परिर्वतन, हिजो आज भोलि, विश्वास, शान्तीदिप जस्ता चलचित्र डिजिटाइजेशन हुन लागेको हो ।

बक्स अफिसले चलचित्र क्षेत्रमा राहत
विगत लामो समयदेखिको अथक प्रयासपछि नेपाल चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन २०७४ फागुन १ बाट बक्स अफिस पनि लागु गर्न चरणबद्ध रूपमा काम चलचित्र विकास बोर्डले सुरु गरेको थियो । चलचित्र बिकास बोर्डमा निकिता पौडेल दुई वर्ष कार्यकालको लागि निर्वाचित भएसँगै उनले आफ्नो कार्यकालमा चलचित्रसम्बन्धी कारोबारलाई व्यवस्थित बनाउन बक्स अफिस लागू गर्न चलचित्र घरहरूमा लागू गराउने अपेक्षा लिएकी छिन् । उनी चलचित्र बिकास बोर्डको पहिलो महिलाअध्यक्ष समेत हुन् ।

चलचित्र क्षेत्र सुधार्न लागिपरेकी छु
निकिता पौडेल
अध्यक्ष, चलचित्र विकास बोर्ड
बक्स अफिसले चलचित्र क्षेत्रमा कस्तो प्रभाव पर्छ ?
चलचित्र क्षेत्रमा व्यापारको सही मूल्यांकन हुन्छ र ई–टिकेटिङले निर्माताहरूलाई कुन चलचित्र घरमा कति व्यापार भयो भनेर जानकारी गराइरहने हुँदा यसबाट आफ्नो चलचित्रले कति व्यापार ग¥यो भनेर अनलाइनबाट जानकारी पाइरहन्छ । पारदर्शी कारोबार पनि हुने भएकाले निमार्ताहरूले आफ्नो चलचित्रको सही मूल्यांकन पनि पाउँछन् ।

चलचित्र किास बोर्डको पहिलो महिला अध्यक्ष हुनुहुन्छ, कुन–कुन क्षेत्रमा परिर्वतन ल्याउने प्रयासमा हुनुहुन्छ ?
हामीले बक्स अफिसको थालनी गर्येउ । यसका साथै फिल्म क्षेत्रमा संलग्न सबैसँग छलफल गर्न र चलचित्र क्षेत्रमा पारदर्शी गराउने प्रयासहरू गर्छु ।

पछिल्लो समय रिलिज भएका नेपाली चलचित्रमा के–कस्तो परिर्वतन पाउनुभएको छ ?
पछिल्लो समय मैले सानो अनुसन्धान गर्दा नेपाली चलचित्र क्षेत्रमा हास्यव्यंग्यमा र नेपाली समाजको कथावस्तुमा आधारित कथाहरूले नेपाली दर्शकहरूको आकर्षण गराइरहेको पाइन्छ । हलसम्म पुगेर रमाइलो र नेपाली लवाइखवाइसँग् मिल्ने चलचित्रले दर्शकको मन जित्न सफल भइरहेको पाइन्छ ।

कतिपय चलचित्रले लगानी उठाउन नसक्नुको कारणचाहिँ के जस्तो लाग्छ ?
हलिउड र बलिउडमा पनि सबै चलचित्रले दर्शकको मन जित्न सक्छ भन्ने चाहिँ हुदैन । चलचित्र क्षेत्र कस्तो छ, चलचित्र निर्माण गर्नुभन्दा पूर्व अनुसन्धान गर्नु जरुरी देखिन्छ । कथावस्तु नेपाली वातावरण सुहाउँदो भाव प्रकट भयो भने चलचित्र क्षेत्र अझै माथि जान्छ जस्तो लाग्छ ।

रिना खत्री

प्रतिक्रिया दिनुहोस्