१२ दिनमा २ करोड संकलन «

१२ दिनमा २ करोड संकलन

इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाले १२ दिनका २ करोड रुपैयाँ संकलन गरेको छ । एसियाली विकास बैंकको सहयोगमा ८५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको ५ प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो ।
खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाइएको हो । स्थानीय प्रत्येक मिटरबाट १५ हजारका दरले रकम संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।
८५ करोडको पाँच प्रतिशत स्थानीयबाट साथै नगरपालिकाको नगरविकास कोषमार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
उपभोक्ता समितिले ४ करोडमाथि रकम संकलन गर्नुपर्ने हुन्छ । बुधबार सम्ममा २ करोड रकम संकलन भएको उनले जानकारी दिए । चाँडो रकम संकलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।
पानी यहाँको भविष्यसँग जोडिएको विषय भएकाले पनि सबै नगरवासीले रकम संकलन गर्नुपर्ने उपभोक्ता समितिका सचिव तिलक ठकुरीको भनाइ छ । सम्झौता भएको दुई वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा मुहानबाट पानी आपूर्ति गरिने छ । हाल पानी अभाव भएका कारण इलाम वजारका बासिन्दालाई नुहाउन र कपडा धुन सार्वजनिक धारा वा खोलामा जानुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुनसमेत उपभोक्ता सचेत हुनुपर्ने सचिव ठकुरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्