१० रुपैयाँ बचत गर्ने महिला सहकारीको पुँजी पौने करोड

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मोराहाङमा रहेको गौखुरी महिला बहुउद्देश्य सहकारी संस्थाको पुँजी पौने १ करोड पुगेको छ । महिलाले मात्र सञ्चालन गर्दै आएको सहकारी संस्थाको पुँजी ७३ लाख ७४ हजार १ सय २१ रुपैयाँ पुगेको अध्यक्ष पुष्पादेवी गौतमले बताइन् ।
महिलाले सामूहिक रूपमा नेतृत्व विकाससँगै सामूहिक सहकार्यमा जुट्ने उद्देश्यका साथ स्थापना गरेको संस्थाका शेयर सदस्यले स्थापनाकालमा १० रुपैयाँ बचत गर्दै आएका थिए । संस्थामा सेयर सदस्यको संख्या बढेपछि सहकारी सञ्चालन सहजताका लागि बस्तीबस्तीमा समूह बनाएर सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ । घरखर्च चलाउन साहूको हात माग्न पुग्ने गरेका यहाँका महिलाको समस्या सहकारीमार्फत समाधान हुने गरेको छ ।
परिवारमा समस्या हुँदा साहुकोमा महंगो ब्याजमा ऋण काड्दै आएका महिलालाई सहकारीले सस्तो ब्याजमा ऋण प्रवाह गरेसँगै सहज भएको संस्थाकी व्यवस्थापक सुजता भट्टराईले बताइन् । सहकारीले ऐच्छिक बचत, बाल बचत, नियमित बचत, वृद्धा बचतलगायतका शीर्षकमा बचत गर्ने गरेको छ । सहकारीले महिलालाई व्यावसायिक बनाउने उद्देश्यका साथ विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ । तरकारी खेती, बंगुरपालन, ढाका बुनाइ, कृषि, पशुपालनलगायतका व्यवसाय सञ्चालन गर्न कर्जा प्रवाह गर्दै आएको संस्थाकी सचिव गीतादेवी गौतमले बताइन् ।
सहकारीले हिंसामा परेका महिलालाई राहात प्रदान गर्ने उद्देश्यका साथ पीडित सेयर सदस्यलाई बिनाब्याज एक महिने लगानी गर्ने गरेको छ । महिलाको आयआर्जन, सीपमूलक व्यवसाय तथा नेतृत्व विकास गर्न समय समयमा विभिन्न कार्यक्रहरू सञ्चालन गर्दै आएको छ । संस्थाको आफ्नै भवन नहुँदा कोठा भाडामा लिई कार्यक्रम सञ्चालन गर्र्दै आएको थियो । संस्थाको समस्यालाई मध्यनजर गर्दै गतबर्ष १ लाख रुपैयाँमा जग्गा खरिद गरी संस्थाले आफ्नै भवन निमार्ण गरी सकेको छ । भवन निर्माण सँगै सहकारी सञ्चालनमा सहज भएको सचिव गौतमले बताइन् ।
भवन निर्माणका लागी जिल्ला विकास समितिबाट ३ लाख, महिला तथा बालबालिका कार्यालय तेह्रथुमबाट २ लाख, समाजसेवी राधिका पोख्रेलबाट ५० हजारका साथै तल्कालिन गाविस तथा संस्थाको २१ लाख खर्च भएको छ । २०६४ सालमा २५ जना महिलाले सुरु गरेको सहकारीमा १ सय १३ वटा समूहमा ६ सय १९ जना महिला आबद्ध भएका छन् ।
–प्रकाश पाक्साँवा