भूकम्पले भत्केका ८० प्रतिशत निजी आवास निर्माण «

भूकम्पले भत्केका ८० प्रतिशत निजी आवास निर्माण

गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको ५ वर्षको अवधिमा जिल्लामा ८० प्रतिशत निजी आवास निर्माण सम्पन्न भएका छन् ।
गोरखामा हालसम्म कायम भएका ७२ हजार ४ सय ६५ भूकम्पपीडित लाभग्राहीमध्ये ६८ हजार ३ सय ६० जनाले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम लगेका छन् । चैत पहिलो सातासम्मको तथ्यांकअनुसार ६१ हजार ३ सय ८० ले दोस्रो किस्ताको डेढ लाख रुपैयाँ लिएका छन् । तेस्रो किस्ताका लागि सिफारिस लिनेको संख्या भने ५६ हजार ८ सय छ । जिल्लाभर करिब ८० प्रतिशत घर पुनर्निर्माण भइसकेको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ ।
सरकारले दोस्रो र अन्तिम किस्ता लिनका लागि समयसीमै तोकेका कारण पनि हतार हतार किस्ता लिएर घर बनाउनेको संख्या ह्वात्तै बढेको इकाईका प्रमुख रामशरण आचार्यले जानकारी दिए । “कतिपयले किस्ता लिनकै लागि एक कोठे घर बनाएको पनि पाइएको छ,” उनले भने, “इन्जिनियरको आँखाले हेर्दा मापदण्डअनुसार नै बनेका त्यस्ता घर अनुदान पाउनका लागि योग्य त छन् तर ब्यावहारिक रूपमा हेर्दा ति घर खासै उपयोगी हुने देखिँदैन । एकल महिला वा सानो परिवार भएकालाई त्यतिले पुग्ने जस्तो देखिए पनि ५ जनाभन्दा बढी परिवार भएकालाई भने त्यस्ता घर ब्यावहारिक रूपमा प्रयोगमा नआउने देखिन्छ ।” अहिले एक कोठे नै बनाए पनि पछि पैसा र जनशक्तिको बन्दोबस्त गरेपछि त्यसैमा जोडेर अरु कोठा निकाल्न मिल्ने गरी बनाए प्राविधिक र सामाजिक दुवै हिसाबले त्यस्ता घरहरू उपयोगी हुने र राज्यको लगानी खेर नजाने प्राविधिकहरू बताउँछन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले गरेको प्रारम्भिक सर्भेक्षणमा पुनर्निर्माण भएकामध्ये करिब ३० प्रतिशत घर एक कोठे छन् । ४२ हजार ९ सय २ घरमा सर्भेक्षण गर्दा ६ हजार ९ सय ७७ ले एक कोठे घर बनाइएको पाइएको इकाई प्रमुख आचार्यले जानकारी दिए ।

जोखिम बवस्ती स्थानान्तरण हुँदै
यस्तै भूकम्पका कारण पहिरोको जोखिममा परेका गोरखाका बस्तीहरूको स्थानान्तरणको काम पनि अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिममा परेका भनिएका बस्तीहरूको भौगर्भिक अध्ययन सकिसकेको छ । भूगर्भविद्हरूको छुट्टाछुट्टै टोलीले जिल्लाका १५ भन्दा बढी बस्तीको अध्ययन सके पनि केरौंजाबाहेक अन्य बस्तीका बासिन्दाको स्थानान्तरणले भने गति लिन सकेको छैन । भूगर्भविद्हरूको टोलीले केरौंजा, लापू, गुम्दा, उहिया, लाप्राक, सिर्दिवास, वारपाक, सिमजुङ, खरिबोटका जोखिमपूर्ण बस्तीको अध्ययन गरेको थियो ।
यस्तै घ्याच्चोक, केराबारी, कासीगाऊँ, चुम्चेत, ल्हो र प्रोकका बस्तीहरूको पनि अध्ययन गरिएको थियो । यीमध्ये अलि बढी जोखिममा रहेको केरौंजाको बस्ती स्थानान्तरणका लागि प्रक्रिया सुरु भइसकेको छ । कार्यविधि अनुसार प्राधिकरणले सामूहिक रूपमा वा ब्यक्ति आफैंले सुरक्षित ठाऊँमा घर बनाउन सक्नेछन् । पहिरोको जोखिममा परेका बस्तीका परिवारले आफूखुसी घर बनाउन चाहे प्राधिकरणले जग्गा खरिदका लागि दुई किस्तामा दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्