पूर्वमा पेट्रोलियम ढुवानी बन्द

नेपाल आयल निगमले सहमति पालना नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर एकाइ कार्यालय चारआलीले बुधबारदेखि नेपाल आयल निगमअन्तर्गतका पम्पमा सम्पूर्ण ढुवानी बन्द गरेको ट्यांकर कार्यालयका अध्यक्ष तोकप्रसाद दुलालले बताए ।
भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरले बुधबारबाट डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेसँगै पूर्वका पम्पमा पेट्रोल र डिजेल अभाव हुन थालेको छ । २०७३ साल माघ ५ गते भएको सहमतिअनुसार १५ बुदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरिएको ट्यांकर एकाइ कार्यालय चारआलीका अध्यक्ष दुलालले बताए ।
आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांकरमा लकिङ सिस्टम लागू गरिनुपर्ने व्यवस्था छ । तर, ढुवानी व्यवसायीहरूले लकिङ सिस्टम लागू गरेपछि लस गेन (आयतन घटीबढी) को सम्पूर्ण जिम्मा आयाल निगमको हुनुपर्ने माग गरेको छ ।