आर्थिक विकासमा ढुवानी व्यवसायीको ठूलो योगदान «

आर्थिक विकासमा ढुवानी व्यवसायीको ठूलो योगदान

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले देशको आर्थिक विकासमा ढुवानी व्यवसायीको भूमिका उल्लेखनीय रहेको बताएका छन् । तराई यातायात व्यवसायी संघ सिमराको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ढुवानी व्यवसायीलाई सरकारसँग हातेमालो गरेर अघि बढ्न आग्रह गरे । उनले ढुवानी व्यवसायीका समस्याबारे आफू जानकार रहेको भन्दै अब नयाँ नीति निर्माणसँगै व्यवसायीको समस्या समाधान हुने बताए ।
मुख्यमन्त्री राउतले देश तीन प्रकारको शासनबाट चल्ने भएकाले प्रदेशभित्रको यातायात क्षेत्रमा अब कुनै उल्झन आउन नदिनेसमेत बताए ।
कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक योजना तथा विकास मन्त्री जितेन्द्र सोनलले देशले संघीयता प्राप्त गरिसकेकाले अब ट्रक व्यवसायीहरूले नयाँ अवधारणामा अगाडि बढ्न आवश्यक रहेको बताए । ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू लागि पर्ने भन्दै उनलेसडक सञ्जालको व्यवस्थापन हुन नसक्दा पनि समस्या बढेको बताए । प्रदेशमा ६ देखि ८ हजार नयाँ सडक निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
संघका अध्यक्ष ओमकृष्ण कार्कीले तराई यातायात देशकै सबैभन्दा ठूलो यातायात व्यवसायी संघ भएकाले पनि यहाँका यातायात व्यवासायीहरूको समस्यालाई देशले बेवास्था गर्न नमिल्ने बताए । नेपाल सरकारले २० वर्ष पुराना सवारी साधन विस्थापित गर्दै नयाँ गाडी खरिद गर्नका लागि पीडित सवारी धनीलाई राज्यले भन्सार सहुलियत दिनुपर्ने माग राख्दै कार्कीले भारतीय सवारी साधनले नेपालभर नै ढुवानी गुर्न पाउनुनै नेपाली ढुवानी व्यवसायी धरासायी बन्नुको मुख्य कारण रहेको जिकिर गरे ।
भारतमा सवारी तथा ढुवानीका साधन कम लागत मूल्यमा खरिद गर्न सकिने हुँदा नेपालमा सस्तोमा सेवा दिने तर नेपाली ढुवानीका साधनले भारतिय साधनसंग प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ थियो ।

प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्