काँक्रो बेच्न नपाउँदा किसान चिन्तित «

काँक्रो बेच्न नपाउँदा किसान चिन्तित

तनहुँको बन्दिपुर–५ स्थित याम्पाफाँटका किसानले उत्पादन गरेको काँक्रो बिक्री नभएर खेतबारीमै कुहिन थालेका छन् ।
उत्पादित काँक्रो प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएर खेतबारीमा नै कुहिन थालेपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । त्यहाँका करिब २०० किसानले व्यावसायिक रूपमा काँक्रो खेती गर्दै आएका छन् ।
उत्पादित काँक्रो जिल्लाभित्र मात्रै खपत हुन नसकेको र अन्य जिल्लामा लैजान छिमेकी जिल्लाका प्रशासन कार्यालयबाट अनुमति पास नपाएपछि काँक्रो बिक्रीमा समस्या भएको कृषक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । “मैले ६ रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी लगाएको छु”, उनले भने, “करिब डेढ रोपनीमा गरिएको काँक्रो खेतीबाट दैनिक १०० किलोग्राम हाराहारीमा उत्पादन हुन्छ, बिक्री नहुँदा बारीमा नै कुहिन थालेको छ ।”
“प्रतिकिलो १० रुपैयाँमा दिँदा पनि बिक्री भएको छैन, दिनमा १५-२० किलोसम्म गाईवस्तुलाई खुवाउने गरेको छु”, उनले भने, “म जस्ता कृषक यहाँका दुईजनाले दैनिक चार-पाँच सय किलोसम्म काँक्रो गाईभैंसीलाई खुवाउन थालेका छन् ।”
त्यहाँको उत्पादित काँक्रो दमौलीसम्म पु-याउँदा प्रतिकिलो ४० देखि ७० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको छ तर यहाँ कृषककै मूल्यमा दिँदा पनि बिक्री नभएको उनले बताए । घिरौँला, फर्सी, करेला, लौकालगायतका अन्य तरकारी बिक्री भएको छ । उनले भने, “अन्य तरकारीको तुलनामा काँक्रो छिटो र धेरै उत्पादन हुँदा बिक्रीका लागि समस्या परेको हो ।”
यहाँ उत्पादित काँक्रो संकलन गरी पोखरा र चितवनलगायत बजारमा पठाउने सोही ठाउँका बरुण भट्टराईले यहाँ दैनिक चार टन काँक्रो उत्पादन भए पनि मुस्किलले दुई टन बिक्री हुने गरेको बताए । कास्कीका व्यापारीले प्रतिकिलो २० रुपैयाँमा खेतबारीबाटै काँक्रो लैजाने भने पनि सवारीपासको व्यवस्था नहुँदा बिक्रीका लागि समस्या भएको हो । उनले भने, “छिमेकी जिल्ला पोखरासम्म लैजान पाउने हो भने कृषकले पनि उचित मूल्य पाउन सक्ने थिए ।” केहीले काँक्रो लिन आउने पशुपालक किसानललाई प्रतिकिलो पाँच रुपैयाँका दरले छिप्पिएको काँक्रो बिक्री गर्ने गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्