गण्डकी प्रदेश ग्रिन जोनमा : मुख्यमन्त्री गुरुङ «

गण्डकी प्रदेश ग्रिन जोनमा : मुख्यमन्त्री गुरुङ

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोना भाइरस (कोभिड—१९) मुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् । कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारपछि निको भई घर फर्केपछि मुख्यमन्त्री गुरूङले शनिबार पोखराका पत्रकारसँगको कुराकानीमा उक्त घोषणा गरेका हुन् ।
उनले भने, “कोरोना भाइरस संक्रमित हाम्रो प्रदेशको बागलुङमा दुई जनामा देखिएसँगै यस क्षेत्र रेड जोनको रुपमा लिइएको थियो तर दुई वटा भन्दा बढी केसबाट नबढेको र संक्रमितहरु पनि निको भई घर फर्किएकोले अब हाम्रो क्षेत्र ग्रिन जोनमा परेको हो ।”
संक्रमित प्रदेशका दुवै जनालाई बधाई दिँदै मुख्यमन्त्री गुरुङले उपचारमा खटिने चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई समेत धन्यवाद दिएका छन् ।
प्रदेशका अब बागलुङसहित ११ जिल्ला ग्रिनजोनमा भएकोले अब कृषि उत्पादन र विभिन्न योजनाहरुलाई अघि बढाउनु पर्ने उनले आशय व्यक्त गरेका छन् । संघीय सरकारले वैशाख १५ पछि पुनः लकडाउन बढाउने वा कस्तो ढंगबाट देशलाई अघि लैजान्छ, त्यसको बारेमा केही निर्णय आएसँगै प्रदेश सरकारले प्रदेशमा आर्थिक क्रियाकलाप थोरै सहज पार्ने योजनामा केही निर्णय गर्ने योजनामा रहेको मुख्यमन्त्री गुरुङले जनाए । प्रदेशका ८५ वटै पालिकाहरु ग्रिन जोनमा रहेको प्रदेश सरकारले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रबार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सो सँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको दाबी गरे । प्रदेशलाई अहिलेकै अबस्था कायम राख्न लकडाउन, सामाजिक दूरी कायम गर्ने, सेनिटाइज गर्ने, सचेत र सजग हुने कुरामा उनले जोड दिए ।
यस्तै, संक्रमण नियन्त्रण नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने उनको धारणा छ । भारतमा संक्रमण नघट्दासम्म यहाँ लकडाउन खोल्न हतार गर्न नहुने मुख्यमन्त्रीको धारणा रहेको छ । कोरोना भाइरस सरुवा रोग भएकोले यसमा लापरबाही गर्नु नहुने उनको भनाइ थियो ।
गण्डकीमा हालसम्मको पिसिआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाको नेगेटिभ आएको छ । २ जनाको पोजेटिभ आएकोमा उनीहरू निको भएका हुन् । यस्तै, गण्डकीमा झण्डै ५ हजार जनाको कोरोनाको आरडिटि परीक्षण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्