लकडाउनको कारण देखाउँदै पुल निर्माणमा ढिलाइ

धादिङ-तोकिएको समय सीमामा काम सम्पन्न नगर्ने निमार्ण कम्पनीहरू अहिले लकडाउनले निमार्ण सामग्री अभाव भएकाले समयमा काम सम्पन्न गर्न कठिनाइ भएको बताइरहेका छन् । गत चैतमा निर्माण सम्पन्न गर्नुपर्ने मोटर पुलको काम वैशाखको पहिलो सातासम्म ६५ प्रतिशत पूरा गरेको छ ।
धादिङको थाक्रे गाउँपालिका–२ र ११ जोड्न सिम्लेस्थित महेश खोलामाथि र वडा नं. ७ र १० जोड्ने आठकिलास्थित महेश खोलामाथि मोटरेबल पुल निर्माण गर्न २०७५ साल माघबाट काम शुरु गरिएको थियो । सिम्लेस्थित पुल निर्माण गर्न दिव्यज्योति कन्ट्रक्सन, रोजन निमार्ण सेवा, एमआर ग्रुप प्राइभेट लिमिटेड र भिजन कन्ट्रक्सनले सडक डिभिजन कार्यालय भरतपुरसँग २०७५ असारमा सम्झौता गरेको थियो । आफ्नो ट्रान्जेसन कम भएकाले संयुक्त रूपमा सम्झौता गरेको तर सम्पूर्ण जिम्मेवारी भिजन कन्ट्रक्सनको भएको भिजन कन्ट्रक्सनको सञ्चालक केशव गजुरेलले बताए ।
२०७५ माघदेखि निरन्तर काम गरिरहेको भए पनि पछिल्लो समय लकडाउनले निमार्ण सामग्री अभाव भएका कारण तोकिएको समयमा काम सम्पन्न गर्न कठिनाइ भएको गजुरेलले बताए । पुल निर्माणमा प्रयोग हुने रड, सिमेन्ट, गिट्टी बालुवा अभाव छ । कोराना भाइरसको संक्रमण फैलने त्रासले काम गर्ने मजदुर घर गएका छन् । अहिले ३२ जनाले मात्र काम गरिरहेका छन् । काम गर्न जिल्ला प्रशासन कार्यालयले सहयोग पु¥याएको छ । तर उद्योग पसल बन्द भएका कारण सामग्री जुटाउनै कठिन भएको छ । पुल नयाँ प्रविधिको भएकाले लठ्ठासमेत प्रयोग हुने भएकाले लठ्ठा भारतबाट ल्याउनु पर्नेछ । लकडाउनले गर्दा लठ्ठा ल्याउन कठिनाइ भएको गजुरेलले बताए । पुलमा आवश्यक पर्ने गिट्टी बालुवा तयारी अवस्थामा छ । आठ किलामा निर्माण भइरेहेको पुलको लागत भ्याटबाहेक तीन करोड ९७ लाख र सिम्लेमा निर्माण भइरहेको पुलको लागत भ्याटबाहेक चार करोड २६ लाख रहेको गजुरेलले बताए ।
महेश खोलाको सिम्ले र आठ किलामा निर्माण भइरहेको पुल नयाँ प्रविधि (प्रि स्टेर्स) हो । नेपालमा आठ वर्ष अघिबाट मात्र यस्तो प्रविधिमा पुल निर्माण गरिएको छ । पुलको एक साइटमा सातवटा लठ्ठा र अर्को साइटमा सातवटा लठ्ठा राखेर विम निर्माण गरी पुल ढलान गरिने सडक डिभिजन कार्यालय भरतपुर साइट अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले बताए । यो प्रविधिमा कम खर्च हुने तर काम गर्दा निकै होसियारी अपनाउनु पर्ने हुन्छ । आठ किलामा ३५ मिटर र सिम्लेमा ४० मिटरको पुल निर्माण भइरहेको इन्जिनियर खड्काले बताए । दुवै पुल गत चैत मसान्तमा निर्माण सम्पन्न हुनुपर्ने हो तर अहिलेसम्म ६५ प्रतिशत काममात्र सकिएको छ । एउटाको पुल विम तयार गर्न र ढलान गर्न निरन्तर काम भए ९० दिन लाग्छ । यही अवस्थामा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने देखिँदैन इन्जिनियर खड्काले भने । कावु बाहिरको अवस्थाको मूल्यांकन, यसअघिको कामप्रतिको लगाव, कामको तीव्रतालाई हेरेर म्याद पथ गर्ने नगर्ने कार्यालयले गर्छ । म्याद थप नभएको अवस्थमा निमार्ण कम्पनीले प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशत हर्जना तिर्नुपर्ने विद्यमान व्यवस्था रहेको इन्जिनियर खड्काले बताए ।
नेपालमा निर्माण होस् अन्य कुनै किसिमको काम तोकिएको समय सीमाभित्र सम्पन्न नगर्ने जिम्मेवारी पाएकाको गैरजिम्मेवारीपन पुरानै हो । गैर जिम्मेवारीपनलाई सुधार गर्न वा तोकिएको समय सिमा भित्र काम सम्पन्न नगर्ने कम्पनी वा कुनै संस्थालाई पछिल्लो दिनकाम काम गर्न अयोग्य ठहरिने व्यवस्था नभएसम्म तोकिएको समय सीमामा काम पूरा नहुने सरोकारवाला बताँउछन् ।