पोखरा विमानस्थलको निर्माण ५७ प्रतिशत सम्पन्न «

पोखरा विमानस्थलको निर्माण ५७ प्रतिशत सम्पन्न

 

लकडाउनमा पनि निर्माण कार्य जारी
साढे ३ सय मजदुर एकै योजनामा आवद्ध

पोखरा-कोरोनाभाइरसका कारण देशभर लकडाउन हुँदा विकास योजनाहरू प्रभावित हुँदा पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माणको कार्य भने जारी छ । आफूहरूले उक्त योजनामा आवश्यक पर्ने केही निर्माण सामग्री स्टक राखेका कारण देशमा लकडाउन हुदा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य हाल जारी रहेको आयोजना प्रमुख विनेस मुनंकर्मीले बताए । उनका अनुसार उक्त योजनामा हाल नेपाली १ सय र चिनियाँ २५० गरी कुल ३५० मजदुर योजनामा हाल आवद्ध भएका छन् ।
“नेपालसहित भारतमा पनि लकडाउन भएकोले गर्दा हाम्रो योजना निर्माणको गति भने केही कम भएको छ, पोखरा विमानस्थलमा आवश्यक पर्ने केही निर्माण सामाग्रि भारतको वन्दरगाहमा रोकिएको छ,” प्रमुख मुनंकर्मीले भने । अहिलेको स्थितिमा देशमा लकडाउन बढ्दै गएमा पनि अबको करिब डेढ महिना पछि भने निर्माणको काम प्रभावित हुन सक्ने उनले जनाए । केही संरचनाको फिनिसिङ, सजावट, स्टक्चर, आलमुनियम, ड्रेन तर्फको काम भइरहेको उनले बताए । आफूहरूसँग गुणस्तरको सिमेन्ट अभाव भएको अबस्थामा पोखरा क्षेत्रमै खोजेर दुई ट्रक सिमेन्टको समेत हाल जोहो गरेको उनले जनाए । अन्यथा उक्त परियोजनाको लागि उच्च गुणस्तरको भारतबाट सिमेन्ट ल्याउने गरिएको हो । भारतको बन्दरगाहमा, लिफ्ट, लाइटिङ, झ्याल ढोका लगायतका सामानहरू रोकिएको प्रमुख मुनंकर्मीले जनाए । आयोजनामा माटो काट्ने र फिलिङ गर्ने करिब ५८ प्रतिशत काम समेत सम्पन्न भएको उनले जनाए ।
सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्ने गरी हाल देशको विसम परिस्थितीमा पनि निर्माण कार्य जारी राखेको आयोजनाले जनाएको छ । हालसम्म फाउण्डेसन, रनले, ट्याक्सि वे, ह्याङगर, ड्रेन सहितको केही भौतिक संरचना निर्माण सम्पन्न भएको प्रमुख मुनंकर्मीले जनाए । १४ वटा भवनमध्य अधिकांश भवन निर्माण भएको छ ।
नेपालमै पहिलो पटक निर्माण भएको २ हजार ५ सय मिटरको लम्बाई र ४५ मिटरको चौडाईमा रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग निमार्ण कार्य सम्पन्न भएको हो । उक्त धावन मार्ग तीन तहमा निमार्ण भएको हो । उक्त परियोजनामा प्रयोग हुने निर्माण सामाग्रि चाइन र भारतबाट आउने हुदा हाल निर्माण कार्यलाई द्रुत गतिमा लैजान कठिन भएको चाईनिज सिएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।
पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चिनियाँ कम्पनी सिएमसीले जिम्मा लिएको हो । उक्त कम्पनीले ६ महिना अघि नै उक्त परियोजना सक्ने योजनाका साथ द्रुत गतिमा काम गर्दै आएको छ ।
पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण सुरु भएको हो । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ वर्ष भने (ग्रेस अवधि) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्