लकडाउन कहिलेसम्म लम्ब्याउने ? «

लकडाउन कहिलेसम्म लम्ब्याउने ?

सरकारले हामीसँग रहेका यी–यी कमजोरीका कारण हामीले लकडाउन लम्ब्याउनुपर्ने बाध्यता छ भनेर जनतासामु प्रस्ट्याउनुपर्छ ।

नेपालीहरूले ३० दिने र भारतीयले अझ लामो लकडाउन भोगिसकेर अब थप कति दिन लकडाउनमा बस्नुुपर्ने हो भन्ने प्रश्न अनुत्तरित छ । यस लेखमा लकडाउन कुन अवस्थामा हटाउन उपयुक्त हुन्छ र त्यो अवस्था कहिले हुनेछ भन्ने विषयमा चर्चा गरिएको छ ।
चिकित्सकहरूले निविर्कल्प रूपमा लकडाउन लम्ब्याउनुपर्ने राय दिएका छन् भने अर्थविद्हरूले फरक राय दिइरहेका छन् । चिकित्सकहरूले अमेरिका र युरोपले गल्ती गरेका तथा चीनले सही काम गरेको भन्ने आरोप तथा प्रशंसा गर्ने गरेका छन् । अमेरिका र युरोपले मानिसको स्वतन्त्रता र देशको अर्थतन्त्रलाई बढी महत्व दिएको तथा भाइरसलाई कम आकलन गरेको कारण धेरै संक्रमित भएको र मृत्यु भएको आरोप उनीहरूको छ । अर्कातर्फ चीनले मानिसको स्वतन्त्रता खोसेर लकडाउनको कडा पालना गराएको कारण सो देशमा भाइरस नियन्त्रणमा आएको प्रशंसा उनीहरूको छ ।
चिकित्सा क्षेत्रबाट भएको आरोप र प्रशंसा वस्तुगत देखिँदैन । चीनमा डिसेम्बर ३१ मा सुरु भएको भाइरस जनवरी २३ तारिखसम्म हजारौंमा विस्तार भइसकेपछि बल्ल लकडाउन गरिएको हो । चीनमा वुहान सहरमा मात्र लकडाउन गरिएको हो । चिनियाँ अधिकारीले भनेअनुसार वुहानका १ करोड १० लाख मानिसमध्ये ५० लाख मानिस त्यहाँ रोग देखिन थालेपछि चीनका अन्य सहरमा पुगेका थिए; तर सांघाई, बेइजिङलगायत कुनै पनि सहर एक दिन पनि लकडाउन गरिएन ।
वुहानमा ६७ दिनमा लकडाउन खोलियो । चीनले भाइरसलाई गम्भीरतापूर्वक लियो, तर पश्चिमाले हल्का रूपमा लिए भन्ने आरोप लगाइन्छ । जुन समस्या जहाँ उत्पत्ति भयो, जसको अनुसन्धान गर्न अधिकारीहरू एक महिना खटिए, जो समस्यासँग राम्ररी भिज्यो, ऊ बढी गम्भीर हुनु र सावधान हुनु स्वाभाविकै हो । अर्को कुरा, चीनमा सरकार नियन्त्रित व्यवस्था छ । त्यहाँ व्यक्तिको स्वतन्त्रता र अधिकारभन्दा सरकारको आदेश महत्वपूर्ण हुन्छ ।
पश्चिमा मुलुकमा चीनमा जस्तो व्यक्तिको अधिकारलाई कुण्ठित गर्न कानुनी, व्यावहारिक र सांस्कृतिक रूपले सम्भव हुँदैन । सरकारको आदेश भन्दैमा जनताले पालना गर्दैनन्, विरोध गर्छन्, अवज्ञा गर्छन र आफ्नो अधिकारका लागि अदालत जान्छन् । भाइरसका बारेमा चीनले पर्याप्त सूचनाहरू सार्वजनिक नगर्ने, चीनको व्यवस्थाअनुसार सार्वजनिक भएका सूचनाको स्वतन्त्र पुष्टि हुन नसक्ने र विश्व स्वास्थ्य संगठनले समेत अघिल्ला सूचना खण्डन गर्दै नयाँ सूचना जारी गर्ने अवस्थाले गर्दा बाँकी विश्वलाई समयमा सही निर्णयमा पुग्न कठिन भएको पनि हो ।
नेपालमा १ जना मात्र संक्रमित भेटिंदा लकडाउन गरिएको थियो । चिनियाँ नीतिका समर्थकहरूले त्यो ढिलो भयो भनिरहेका छन् । चीनको उदाहरण हेर्ने हो भने त हामीले लकडाउन सुरु र निरन्तर गर्नुपर्ने आवश्यकता नै छैन । जे काम जहिले गर्नुपर्ने हो, त्यो त्यही समयमा गरे मात्र परिणामुखी हुन्छ, पहिले वा पछि गरेर हुँदैन । आमजनतामा लागू गर्ने कुरा कन्भिन्सबिना लाद्न सम्भव हुँदैन र जसरी पनि सम्भव गराउनु उचित पनि हुँदैन । सबैले सुरुमै लकडाउन गरेर कसैलाई पनि कोरोना नफैलिएको भए लकडाउनको औचित्व सावित भयो भनेर मानिसहरूले विश्वास गर्थे होला ?
नागरिकलाई बुझाउन सक्ने र मानिसहरूको आँकडा अद्यावधिक गर्न सक्ने क्षमता नभएका सरकारका लागि लकडाउन आवश्यक पर्ने हो । सिंगापुर, दक्षिण कोरिया, मलेसियालगायत मुलुकले एक दिन पनि लकडाउन नगरी भाइरस नियन्त्रण भएको छ । जापान, अमेरिका, युरोपका धेरै मुलुक लकडाउनबिना चलिरहेका छन् । गतिविधि जति आवश्यक छ, त्यति नियन्त्रण गर्ने हो । लकडाउन घोषणा नगरिएका मुलुकमा पनि बाध्यकारी तथा स्वस्फूर्त रूपमा गतिविधिहरू बन्द तथा सीमित भइरहेका छन् ।
नेपाल भारत जस्ता मुलुकका लागि लामो समय लकडाउन गरेर जनताका आधारभूत आवश्यकता पूरा गर्न सकिंदैन किनकि यहाँका सरकारहरू गरिब छन् । लकडाउन नगरेको अमेरिकाले जीडीपीको १० प्रतिशत राहत बाँड्यो । लकडाउन गरेर प्रायः सबैको रोजगारी बन्द गरेको भारतले जीडीपीको १ प्रतिशत राहत घोषणा ग-यो । नेपाल र भारतजस्ता देशमा गरिबको तथ्यांकको अभाव तथा कुशासनका कारण राहत अधिकांशतः दुरुपयोग हुने गर्छ । अहिले नेपालमा वितरण भएको राहत ९५ प्रतिशत गलत व्यक्तिको हातमा पुगेको सबैले देखेकै छौं ।
अर्कातर्फ गरिब मुलुकमा रोग फैलिएमा स्वास्थ्यकर्मी, अस्पताल र उपकरणहरूको कमीका कारण भयावह स्थिति सिर्जना हुन्छ । त्यसैले संक्रमण फैलिन नै नदिनका लागि लकडाउन प्रभावकारी बनाउनु यस्ता मुलुकका लागि झन् बढी आवश्यक हुन्छ । यसको सन्तुलन कायम गर्नु नै हाम्रो लागि चुनौती हो । एक जनालाई पनि रोग नलागोस् भनेर केही दिन लकडाउन सहन सके पनि त्यही उद्देश्यका लागि लामो लकडाउन सहन सकिंदैन । जति जना गम्भीर बिरामीलाई हामीले सेवा दिन सक्छौं, त्यतिसम्म रोगको सामना गर्न तयार हुनुपर्छ ।
रोगको सम्भावना शून्य नहुँदासम्म लकडाउन कडाइका साथ लागू गर्ने भन्ने तर्क जायज हुँदैन । सन् १९१८ को स्पेनिस फ्लु तीन वर्षसम्म कायम रहेको थियो । यो सार्स कोभ–२ भाइरस कतिसम्म रहन्छ भन्ने केही अनुमान गर्न सकिएको छैन । लकडाउन लम्ब्याउँदैमा पनि रोग शून्य हुन्छ भनेर कसैले निश्चित गर्न सक्दैन । यो भाइरसका बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । विश्वका अधिकांश मानिसमा प्रतिरोधात्मक क्षमता विकास नहुँदासम्म कहीं–कतै भाइरस रहिरहने र पुनः फैलने सम्भावना हुन्छ । अधिकांश मानिसमा प्रतिरोधात्मक क्षमता विकास हुन या त खोप बनेर सेवन गर्नुप-यो या अधिकांश मानिसमा यो भाइरस संक्रमण भई उनीहरू निको हुनुप-यो ।
लकडाउन गर्ने र गतिविधि खोल्ने दुवैको उद्देश्य मानिसलाई बचाउने हो । जे गर्दा बढी मानिसको भलाइ हुन्छ, त्यही गर्ने हो । त्यसैले निरपेक्ष रूपले लकडाउन लम्ब्याउने मात्र कुरा गर्नु हुँदैन । निरपेक्ष रूपमा लकडाउन खोल्ने कुरा त कसैले गरेकै छैन । लकडाउन खोल्नुपर्छ भन्ने तर्क राख्ने अर्थविद्हरूले पनि नियन्त्रित र संयमित रूपमा मात्र गतिविधिहरू सुरु गर्नुपर्ने सुझाएका छन् ।
सिंगो क्षेत्र, कुनै भूभाग, कुनै सहरमा संक्रमण शून्य भएको १४ दिन पर्खेर लकडाउन संयमतापूर्वक खोल्नु सुरक्षित हुन्छ । तर १३–१४ दिन पर्खेको बेला अर्को संक्रमण देखियो भने लकडाउन लम्ब्याउनुपर्ने हुन्छ । यसरी लगातार लकडाउन लम्बिई रहन सक्छ । अर्कातर्फ संक्रमण शून्य देखेपछि लकडाउन खोल्ने र जहिले पुनः देखिन्छ, त्यतिखेर लकडाउन गर्ने विधि पनि अवलम्बन गर्न सकिन्छ । तथापि बीचमा केही दिन लकडाउन खुले पनि कुल लकडाउनको समय यसरी झन् बढी हुने सम्भावना रहन्छ ।
१४ दिन संक्रमण पुष्टि नहुँदैमा पनि कुनै ठाउँमा संक्रमण बाँकी छैन भनेर यकिन गर्न पनि सकिंदैन । पूरै जनसंख्यामा परीक्षण नगरी यकिन गर्न सकिंदैन । हामीले गर्ने भनेको नमुना परीक्षण नै हो । नमुनाको संख्या जतिसक्दो बढाउने र नमुनाले सकेसम्म सम्भावित सबै जनसंख्याको प्रतिनिधित्व गर्ने गरी विवेकपूर्ण र वैज्ञानिक विधि अवलम्वन गर्नु अर्को चुनौती छ । त्यसैले १४ दिन कुर्ने वा नकुर्ने विषयमा निर्णय लिन कठिन छ ।
लकडाउन हटाउँदा पनि पर्याप्त तयारी र सावधानी आवश्यक हुन्छ । लकडाउन हटाउँदा पनि शिक्षण संस्था, मनोरञ्जन स्थल, मालपोत, नक्सा पास, खेल प्रतियोगिता, मेलापर्व, भोजभतेर, भेला आदि त बन्दै गर्नुपर्ने हुन्छ । साथै दूरी कायम, आशंकितको स्वाब परीक्षण, सुरक्षा विधि, गतिविधिमा संलग्न मानिसको व्यवस्थित अभिलेखीकरण कायमै गर्नुपर्छ । यी कुरा लागू गर्न÷गराउन नसकिने भए लकडाउन नै लम्ब्याउने विकल्पलाई बल पुग्न जान्छ ।
हामीले २३ दिनको लकडाउन गर्दा हजारौं वा लाखौं मानिसले रोग लागेर पाउनेभन्दा बढी दुःख पाइसकेका छन् । हप्ता–दस दिनसम्म बालबच्चा र भारीसहित भोकै प्यासै पैदल हिंड्नुपर्ने बाध्यता भयो । अन्य रोग लागेका व्यक्तिले पनि उपचार नपाएर मर्नुपर्ने अवस्था आयो । गरिबी र मानसिक रोग बढेको कारण भविष्यमा हुने मृत्यु र क्षति त अहिले देखिंदैन । सामान्य व्यक्तिमा गरिबी र उद्यम व्यपारीमा घाटाका कारण भविष्यमा बढ्ने अपराध, ठगी र तस्करी अहिले देखिंदैन ।
एक–दुई दिनका लागि थोरै मात्र वस्तु र सेवा अत्यावश्यक हुन्थे भने अवधि लम्बिँदै गएपछि क्रमशः धेरै वस्तु तथा सेवा अत्यावश्यक हुन्छन् । सरकारले एकातिर लकडाउन कडाइका साथ लागू गर्ने भनेर सुरक्षाकर्मीमार्फत सडकमा बल प्रयोग गर्ने नीति लिएको छ । अर्कातर्फ कृषिसहित कतिपय वस्तु र सेवाको उत्पादन, आपूर्ति र बिक्री–वितरण सहज पार्ने आश्वासन पनि दिइरहेको छ । दुवै कार्य कार्यान्वयन गर्ने एउटै सुरक्षाकर्मीले हो । सुरक्षाकर्मीको जुन स्तर छ, त्यसले कसलाई लाठीचार्ज गर्ने र कसलाई सहयोग गर्ने भनेर छुट्याउन सक्दैन । पास वितरण पनि राहत वितरण जस्तै दुरुपयोग र अव्यवस्थित हुने हुँदा भीड बढाउने काम मात्र हुन्छ ।
अन्त्यमा, लकडाउन लम्ब्याउँदैमा रोग भविष्यमा नदेखिने निश्चित नभएको हुँदा हचुवाका भरमा लकडाउन लम्ब्याउन हुँदैन । त्यस्तै, रोग फैलन मद्दत पुग्ने गरी लकडाउन हटाउन पनि हुँदैन । लकडाउन लम्ब्याउनु वा हटाउनु दुवैको उद्देश्य मानिसलाई बचाउनु हुनुपर्छ । सरकारले हामीसँग रहेका यी–यी कमजोरीका कारण हामीले लकडाउन लम्ब्याउनुपर्ने बाध्यता छ भनेर जनतासामु प्रस्ट्याउनुपर्छ । दुवै पक्षलाई ध्यानमा राखेर लकडाउन र यसको प्रकृतिबारे विवेकपूर्ण र दीर्घकालीन सोचसहितको निर्णय लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्