तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव घोषणा

‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने महोत्सव यही चैत २३ देखि २५ गतेसम्म राजधानीको याक एन्ड यती होटलमा चल्नेछ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागी हुनेछन् । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्रान्डका रूपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ ।
महोत्सवमा नेपाली चियाको ट्रेडमार्क औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ । विश्वबजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे पनि महोत्सवमा जानकारी दिइनेछ । महोत्सवमा चिया उत्पादनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपालमा उत्पादन हुने चियाले विश्व बजारमै सकारात्मक छाप छोड्न सफल भएको छ । उच्च गुणस्तरको चिया उत्पादनका लागि चिया बोट, उर्वर माटो, अनुकूल मौसमलगायत विभिन्न तत्वले भूमिका खेल्छ र नेपाल यी सबै क्षेत्रबाट चिया खेतीका लागि अनुकुल छ । विशेषगरी हिमाली क्षेत्रको विशेषताको प्रतीक पनि नेपाली चियालाई मानिन्छ ।
उच्च गुणस्तरको चियाको माग अन्तर्राष्ट्रिय बजारमा सदैव उच्च रहँदै आएको छ र नेपाली चियाले केही हदसम्म गुणस्तरको त्यो माग पूरा गर्दै आएको छ । दक्षिण एसियाली क्षेत्रमा पनि चियासँग सम्बन्धित व्यवसायीले नेपालको चियाप्रति रुचि राख्ने गरेका छन् । विशेष गरी यहाँ योङ बुसेसबाट चिया उत्पादन हुने गरेको छ ।
नेपालमा चिया उत्पादनका लागि उर्वर मानिने ठूलो क्षेत्रफल जमिन बाँझै रहेको छ । यद्यपि, हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । जसमध्ये अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ । पछिल्लो समय भने मध्य र पश्चिमी भेगमा पनि चिया खेती विस्तार हुँदै गएको छ ।
नेपालमा बार्षिक करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ, जसमध्ये ५५ लाख किलो चिया अर्थोडक्स रहेको छ । विशेष स्वाद रहेको अर्थोडक्स चिया मुलुकको पहाडी क्षेत्रमा उत्पादन हुन्छ भने सिटिसि चिया मुलुकको तराई भेगमा उत्पादन हुने गरेको छ ।
चिया व्यवसायले ठूलो मात्रामा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । अर्थोडक्स चियाका लागि आवश्यक चियापत्ती उत्पादनमा ८० प्रतिशत साना किसानको सहभागिता रहँदै आएको छ । चिया उत्पादनमा संलग्न ८० प्रतिशत साना किसान छन् । जसमा करिब ८० हजार महिलाले प्रत्यक्ष रूपमा लाभ लिइरहेका छन् । पछिल्लो समय साना किसानसँग मिलेर केही संघसंस्थाले पनि चिया व्यवसायमा हात हालेका छन् ।
नेपालको चिया नेपालभित्रै र बाहिर पनि विस्तारै मानिसको जीवनशैली बन्दै गएको छ । तर, हालसम्म पनि स्थानीय चिया ब्रान्डका रूपमा विश्व बजारमा स्थापित हुन नसक्नु यसको दुःखद् पक्ष हो । नेपालबाट निर्यात हुने चिया छिमेकी मुलुकबाट त्यहाँको स्थानीय ब्रान्डका रूपमा तेस्रो मुलुक निर्यात हुने गरेको तीतो यथार्थ हामी सामु छ । उपयुक्त मौसम, भूमि र दक्ष जनशक्ति परिचालन भई उत्पादन हुने चियाको बजारीकरण र ब्रान्डिङ गरी विश्व बजामा पुर्याउन नसक्नु हालसम्मकै ठूलो कमजोरी बनेको छ ।
यो पृष्ठभूमिमा नेपाली चियाको बजारीकरण र प्रचारप्रसारका लागि नेपाल चिया तथा कफी विकास बोर्डले तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गर्न लागेको हो ।