प्रधानन्यायाधीशको उमेर विवाद थप चर्कियो

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले सर्वोच्च अदालतमा विवाद चर्किएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश पराजुलीमाथि प्रश्न उठाएपछि विवाद थप चर्किएको हो ।
वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्ण इजलाश बहिष्कार गरेका थिए भने अरु ८ जना न्यायाधीशले पनि इजलाशमा नबसेपछि विवाद उत्कर्षमा पुगेको छ । यसैबीच बुधबार न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले गत साउनमै पदमुक्त भइसकेको व्यहोराको पत्र जानकारी गराएपछि प्रधानन्यायाधीशको उमेर विवादको विषय थप चर्किएको छ । निरौलाले उमेर नाघेको भन्दै पदमुक्त भएको जानकारी गराए भने त्यसलगत्तै नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशकै हैसियतमा पराजुलीबाट पद तथा गोपनियताको सपथ लिइन् ।
न्यायपरिषद्का सचिव निरौलाले गत साउन २१ मै उमेर हद नाघेको भन्दै पदमा नरहेको पत्र काटेका छन् । राष्ट्रपतिलाई समेत बोधार्थ पठाइएको पत्रमा गत साउनमै पराजुलीको ६५ वर्षे उमेर हद पुगेको उल्लेख छ । सचिव निरौलाको पत्रमा ‘पदमुक्त’ भनिएका पराजुलीबाट राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ लिएपछि त्यसमा समेत प्रश्न उठेको छ ।
“सम्माननीय महोदयको यस न्यायपरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै प्राप्त पत्रसमेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा ७ बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पूरा भइसकेको देखिन आएकोले आजको सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु,” न्यायपरिषद्का सचिव निरौलाले पठाएको पत्रमा भनिएको छ । त्यस्तै, पत्रमा पराजुलीलाई निवृत्त जीवन सुखमय रहोस् भन्ने कामनासहित न्याय क्षेत्रमा पु¥याएको योगदानका लागि धन्यवादसमेत दिइएको छ ।
न्यायपरिषद्को पत्रमा कानुन व्यवसायी दुई कित्तामा देखिएका छन् । पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठले परिषद्को अध्यक्ष नै प्रधानन्यायाधीश हुने भएकाले सचिवले मात्रै निर्णय गर्न नमिल्ने दाबी गरे । “यदि त्यसो हो भने यो घटनालाई फेरि अर्को ‘कू’ का रुपमा लिनुपर्ने हुन्छ,” श्रेष्ठले भने । तर, अर्का कानुन व्यवसायी बार एसोसियसनका पूर्व उपाध्यक्ष टिकाराम भटराईले भने न्याय परिषद्को उक्त निर्णय स्वभाविक भएको प्रतिकृया दिए । उनले सचिवस्तरीय निर्णयबाट पराजुलीलाई हटाउन सक्ने व्यवस्था रहेको बताए ।
पनिकाको पत्रअनुसार उमेर बाँकी नै !
न्याय परिषद्का सचिव निरौलाले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्राप्त पत्रलाई समेत पराजुलीको पदमुक्त गर्ने आधार मानेका छन् । तर, परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विजयप्रसाद आचार्यले न्यायपरिषद्लाई सम्बोधन गर्दै ‘जानकारी एवं विवरण सम्बन्धमा’ पठाइएको पत्रमा पराजुलीको जन्म मिति २०११ वैशाख १३ रहेको उल्लेख छ । सो जन्म मितिलाई आधार मान्ने हो भने प्रधानन्यायाधीश पराजुलीको उमेर ६३ वर्षमात्र हुन्छ । पराजुलीको पक्षमा देखिएका एक कानुन व्यवसायीले पनिकाको पत्रलाई आधार मान्दा उनी पदमुक्त नहुने दाबी गरे । पराजुलीको नागरिकतामा जन्ममिति २००९ साउन २१ रहेको, शैक्षिक प्रमाणपत्रमा २०१० रहेको र पनिकाको रेकर्डमा २०११ वैशाख २३ रहेकाले नागरिकता र पनिकाको अन्तर २१ महिना रहेको देखिन्छ । तर, पराजुलीको विपक्षमा रहेकाहरूले भने न्याय परिषद् ऐनको दफा ३१(७) मा अनुसार १ बर्ष फरक भएमा अघिल्लो जन्ममिति लागू हुने व्यवस्था रहेको भन्दे सोही वयवस्था अनुसार २००९ कै जन्ममिति कायम हुने हुँदा उनले अवकास पाउनुपर्ने जिकिर गरेका छन् ।
राष्ट्रपतिद्वारा शपथ ग्रहण नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । भण्डारीले बुधबार अपरान्ह प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् । उनले ईश्वरका नाममा शपथ लिएकी छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलगायत अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । |