म्याद गुज्रियो, पुलको जगसमेत बनेन «

म्याद गुज्रियो, पुलको जगसमेत बनेन

ठेकेदारको लापर्बाहीका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माण कार्य अलपत्र बनेको छ ।
२०७३ मंसिर २२ गते तत्कालीन तथा वर्तमान सांसद विशाल भट्टराईले शिलान्यास गरेको पुल निर्माण कार्य हाल अलपत्र परेकोे हो ।
१३ महिना अघि शिलान्यास गर्ने क्रममा पेटी ठेकेदार श्याम पोखरेलले ७ महिनामै पुल निर्माणको काम पूरा गर्ने बताए पनि हाल पुलको काम बीचैमा अलपत्र पारेका छन् ।
दिक्तेल–खोटाङ बजार सडक खण्डमा पर्ने पक्की पुल शिलान्यासका क्रममा पेटी ठेकेदार पोखरेलले २०७४ असार मसान्तभित्रमा पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
१८ महिनाभित्र पूरा गर्ने गरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले २०७३ साल वैशाखमा जिम्मा लिएको पुलको म्याद गत कार्तिकमै सकिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्ने गरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले पुल निर्माणको ठेक्का लिएको हो । तर, म्याद गुज्रिंदासमेत पुल निर्माणको काम सन्तोषजनक हुन सकेको छैन ।
म्याद गुज्रेको ४ महिना बित्दा खोलाको लफ्याङतर्फ मात्र जग खनेर केही रड राख्ने बाहेक अरू काम हुन नसकेको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए । अलपत्र परेको पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि प्रगति नभएको गाउँपालिकाले जनाएको छ । “पटक–पटक ताकेता गरियो, पुल निर्माणको प्रगति शून्य छ,” गाउँपालिका प्रमुख खड्काले भने, “ठेकेदारको चरम लापर्बाही देखिएको छ ।” तत्कालीन जिविस र प्राविधिक कार्यालयले खबरदारी नगर्दा समेत ठेकेदारले पुल निर्माणको काममा ढिलाइ गरेको उनले बताए ।
खोटाङको समृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङ बजार सडक उपयोगमा कठिनाइ भइरहेको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङ बजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोगविहीन बनेको छ ।

दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ–चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरवको योजना हो । साप्सु खोलाको पुल निर्माणमा भइरहेको ढिलाइका विषयमा जिल्लाका विभिन्न छलफल, बैठक तथा सभामा समेत आवाज उठ्ने गरेको छ । अलपत्र परेको पुलको जगको तस्विर र निर्माण स्थल सामाजिक सञ्जालमा पोस्ट हुने गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने मुख्य नाकाका रूपमा रहेको उक्त पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका पाँच गाउँपालिकाका स्थानीयको पहुँच सदरमुकाम दिक्तेलसंग जोडिन अझै समय लाग्ने देखिन्छ ।

पुल नबन्दा बैंक स्थापना भएन
बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाइ भएको छ । स्थानीय तह कार्यान्वयनसँगै साकेला गाउँपालिकामा एसबीआई बैंकको शाखा कार्यालय स्थापना गर्ने भनिए पनि पुल अभावमा शाखा कार्यालय स्थापनामा बैंक पछि हटेको गाउँपालिका प्रमुख खड्काले बताए ।
विभिन्न बैंकले साकेला गाउँपालिकामा शाखा स्थापना गर्ने इच्छा देखाए पनि पुल लगायतका भौतिक पूर्वाधार निर्माण नहुँदा बैंकको शाखा स्थापना हुन सकेको छैन । “एसबीआई बैंकको टोली फिल्ड भिजिटमा आएको थियो, बाटोमा पुल नभएपछि बैंक शाखा स्थापनाबाट पछि हट्यो,” खड्काले भने, “दबाव सिर्जना गरेरै भए पनि यो आर्थिक वर्षभित्र पुल बनाउँछौँ । शाखा स्थापनाका लागि ‘प्रोसेस’ चाल्नु भनेका छौँ ।”

उत्तम चौलागाईं 

 

प्रतिक्रिया दिनुहोस्