कप्दाने पोखरी संरक्षणविहीन «

कप्दाने पोखरी संरक्षणविहीन

सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने ऐतिहासिक महत्व बोकेको कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । पर्यटकीय क्षेत्रको समेत उच्च सम्भावना बोकेको उक्त पोखरीको संरक्षणमा सरोकारवालाहरूको ध्यान नपुग्दा अतित्व गुम्ने खतरा रहेको स्थानिय राजेन्द्र घलेले बताए ।
नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरू भोट क्षेत्रमा युद्ध गर्न जाने क्रममा बोक्न नसकेका आफ्नो युद्ध सामग्रीहरू खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर सामग्री लिनआउँदा ति खाल्डोमा आफ्ना सामग्रीहरू पूरै पुरिएर पोखरी बनेको किम्बदन्ती रहँदै आएको पाईन्छ । अत्यन्तै गहिरो पोखरीभित्र आफ्ना सामानहरू पुरिएपछि निकाल्न नसकेको र सोही समयदेखि हालसम्म पानी नसुकेको जानकारहरूले बताएका छन् ।
तर, अहिले संरक्षणको अभावमा उक्त पोखरी पुरिन थालेको छ । वरिपरि झारले छोप्नुका साथै ढुंग र माटोले पुरिदा पोखरीको क्षेत्रफल समेत साँघुरिँदै गएको छ । पोखरी वरिपरि माटोको दलदल भएकोले भासिने डरका कारण कोही पनि पोखरी नजिक जान नसकेको स्थानीय सुनाबुटी शेर्पाको भनाइ छ । “पोखरी अहिले पनि निकै गहिरो छ, नजिक गयोभने माटो भासिएर पुरिने डर हुन्छ,” शेर्पाले भने ।
पहिले पोखरी ठूलो भए पनि पछिल्लो समय माटो र झारपातले छोपिँदै जाँदा पोखरीको क्षेत्रफल आधा नै घटेको अर्का स्थानीय ङिमादोर्ची शेर्पाले बताउँछिन् । पर्यटनको प्रशस्त संभावना भरिएको यस पोखरीको संरक्षणमा अहिले सम्म कुनै निकायले चासो नराखेकोमा उनको दुखेसो छ । उक्त पोखरीको संरक्षणमा स्थानीय सरकोकारवालाहरू तत्काल ध्यान जानुपर्ने शेर्पाको भनाइ छ । पुर्खाहरूको बिभिन्न धार्मिक साँस्कृतिक सम्वन्ध रहेपनि अहिलेका युवा पुस्ताहरूले पोखरीको संरक्षण र संम्वर्धनमा कुनै चासो नराखेकाले स्थानिय गाउँपालिकाले विशेष कार्यक्रम ल्याएर भएपनि यो पोखरीको संरक्षण गर्न आवश्यक रहेको स्थानीय दिनेश गुरुङ बताउँछन् । केही वर्षअघिसम्म यस पोखरीको करिब दुई रोपनी क्षेत्रफल पानीले ढाकेको थियो तर अहिले श्रोत सुकेर भन्दा पनि माटो भरिएर आधा क्षेत्रफल जलविहिन भइसकेको गुरुङ बताउँछन् ।
पोखरीसँगै विभिन्न देवी देवताहरूको मन्दिर समेत छ । सो मन्दिर परिसरमा शिवरात्रि र वैशाखे पूर्णिमाको बेला मेला लाग्ने गरेको छ । पोखरी वरिपरिका जंगलमा नेपाल बाहिरका चराहरू समेत बसाइँ सरेर आउने गरेको वातावरणविद् तीर्थबहादुर श्रेष्ठ बताउँछन् । उक्त क्षेत्र मकालु बरुण राष्ट्रिय निकुञ्जसँग समेत जोडिएकोले विभिन्न जंगली जनावरहरूको अवलोकनका लागि समेत पर्यटक भित्राउन सकिने भन्दै श्रेष्ठले उक्त जंगलमा परापूर्वकालदेखि नै साइप्रसबाट समेत केही समयका लागि चराचुरुङ्गीहरू आउने गरेकाले पर्यटन र आर्थिक समृद्धिका लागिसमेत पोखरी संरक्षण हुनुपर्ने बताए ।
विभिन्न प्रकारका चराचुरुङ्गी, लोपोन्मुख पहेंला ठूला खालका भ्यागुताका विभिन्न प्रजातिसहित धार्मीक मठमन्दिरहरू समेत रहेकोले त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकसित गर्न सकिने पर्यटन ब्यवसायी मनबहादुर लिम्बुको भनाइ छ । “त्यस क्षेत्रबाट मकालु हिमाल, मत्स्यपोखरी लागायत अन्य मनोरम दृश्यहरूको समेत अवलोकन गर्न सकिने हुँदा पर्यटनको सम्भावना उच्च रहेको छ,” लिम्बुले भने ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्