भुटानी नायिका र पाइलट लिएर फक्र्यो ड्रुक एयर «

भुटानी नायिका र पाइलट लिएर फक्र्यो ड्रुक एयर

शनिवार बिहान भुटानबाट आएको ड्रुक एयरको चार्टर विमानले २ भुटानी नागरिकलाई स्वदेश फिर्ता लगेको छ । लकडाउनका कारण काठमाडौंमा रहेका एक नायिका र एक पाइलटलाई काठमाडौंबाट उद्धार गरी भुटानले स्वदेश फिर्ता लगेको हो ।
एटीआर ४२–६०० विमान २ जनामात्रै भुटानी नागरिक लिनका लागि पारो विमानस्तथलबाट काठमाडौं आएको थियो । ४ सदस्यीय चालक दलसहित उडान नम्बर केबी–४०० मा आएको सो विमान विमान ७ बजेर ५३ मिनेटमा काठमाडौं अवतरण गरेको थियो । अवतरण गरेको १ घण्टापछि २ जना यात्रु लिएर केबी–४०१ बाट काठमाडौंबाट भुटानको पारो विमानस्थलको लागि उडेको थियो । विमानमा ८ बिजनेश र ३२ इकोनमी वर्गका सिट रहेका थिए । यात्रुमा १ हिमालयन एयरका क्याप्टेन सोनाम तोग्वे र नायिका उगेन छोदेन र चालक दलका ४ सदस्य रहेका थिए । ५ हजार १ सय ४६ अमेरिकी डलरमा २ यात्रुले सो चार्टर उडान गरेको नायिक छोदेनले बताइन् । काठमाडौंको टिबेट होटलमा २८ दिन विताएकी छोदेनले एक्लै बस्दा होमसिक भएको तथा लकडाउन कहिले खुल्ने भन्ने निक्र्योल नभएकाले चार्टर फ्लाइटमार्फत स्वदेश फर्किनुपरेको बताइन् । सार्क सचिवालय र भुटानको परराष्ट्र मन्त्रालयलाई इमेल गर्दै उद्धारको लागि अनुरोध गरेपछि उनी कुटनीतिक प्रक्रिया पूरा गरी स्वदेश फर्किएकी हुन् ।
उद्धारको लागि आफूले गरेको पहल कदमीको वृतान्त सुनाउँदै उनले भनिन्, “मैले अनुरोध गरेको तीन दिनपछि भुटानको पराष्ट्र मन्त्रालय उद्धारको लागि तयार भयो र काठमाडौंमा अन्य भुटानी नागरिकको पनि खोजी गर्दा हिमालय एयरलायन्सका पाइलट सोना तोग्बे रहेको थाहा भयो । मेरो बुवाले ड्र्ुक एयरकोे खातामा रकम भुक्तानी गरेपछि चार्टर उडानको लागि सम्बन्धित निकायमा अनुमति दियो र उडान अनुमति पाएको र चार्टर उडानको खर्च हामी दुवै जनाले तिरिन् ।”
करिब १ घण्टा १५ मिनेटको उडान पार गर्दै विमान पारो विमानस्थलमा अवतरण गरेको छ । भुटानको वातावरण धेरैपछि महशुश गर्दा खुसी लागेको उनले बताइन् ।
विमानस्थलबाट सिधै भुटान सरकारले तयार गरेको ओलाथाङ होटलको क्वारेन्टाइनमा पु-याएको छ । उनले अब २१ दिनको त्यहाँको क्वारेन्टाइन बसेपछि मात्र परिवारलाई भेट्न पाउनेछिन् । यद्यपि, स्वदेश फिर्ता हुन पाएकोमा खुसी लागेको उनको भनाइ छ । पाइलट सोनामलाई पनि अर्का सोही होटलको अर्का कटेजमा राखिएको छ । सोनाम हिमालय एयरलाइन्समा विगत ४ वर्ष देखि आवद्ध थिए ।
८ भुटानी फिल्ममा अभिनय गरेकी छोदेनले ३ फिल्मको निर्देशन र १ फिल्मको निर्देशनसमेत गरेकी छन् । माघ १५मा निर्देशक दीपेन्द्र लामाको फिल्म २ नम्बरीको छायाङ्कनका लागि काठमाडौं आएकी नायिका छोदेन सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्दा पोखरामा रहेकाले स्वदेश फिर्किन पाएकी थिइनन् । छोदेनको भिसा सकिएको र १ महिनाभन्दा घरबाहिर कहिल्यै नबसेकोले होम सिक भएको बताएपछि उनलाई फिर्ता लैजान पहल भएको थियो । निर्देशक लामाका अनुसार लकडानका कारण २५ प्रतिशत मात्र फिल्म सुटिङ सकिएको छ । कोरोना नियन्त्रणपछि नयिका फेरि काठमाडौं आउने लामाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्