एनआरएनए महिला समूहबाट १ लाख सहयोग «

एनआरएनए महिला समूहबाट १ लाख सहयोग

गैरआवासी नेपाली संघ (एनआरएनए) फिन्डल्याण्डका महिला समूहले सुदूरपश्चिमका अछाम र डोल्पा जिल्लाका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । अछाममा स्वस्थ्य शिविर सञ्चालनको लागि ६० हजार र डोल्पाको विकट गाउँमा शिक्षाका लागि ४० हजार रुपैयाँ गरी १ लाख रुपैयाँ सहयोग गरिएको हो ।
विकट ग्रामिण भू–भागका महिलाहरुमा पाठेघर खस्ने समस्या बढ्दै गइरहेको र आर्थिक अभावका कारण स्वस्थ्य उपचारबाट बञ्चित हुनुपरेको भन्दै एनआरएन फिन्डल्याण्डका महिला समूहले अबदेखि प्रतिमहिला मासिक १ यूरो संकलन गरेर सहयोग उपलब्ध गराउने तयारी गरेको छ । समूहकी संयोजक ममता थकालीले यसअघि पनि समूहले मिहला स्वास्थ्य कार्यक्रम संचालन गर्नका लागि सहयोग उपलब्ध गराउँदै आइरहेको भन्दै आगामी दिनहरुमा महिला स्वास्थ्यलाई प्राथमिकता दिएर सहयोग रकम उपलब्ध गराउने बताएकी छिन् । “हामी फिनडल्याण्डमा बसोबास गर्ने महिलाहरुको समूहबाट रकम जम्मा गरेर दुर्गम क्षेत्रका महिला जो स्वास्थ्य सेवाबाट बञ्चित छन्, उनीहरुलाई सहयोग गरेका हौं, आगामी दिनहरुमा पनि हाम्रो सहयोग जारी रहने छ,” उनले भनिन् ।
यसअघि पनि फिनल्यान्डले तराईको बाढी पीडितलाई राहत, डोल्पाका बालबालिकाको शिक्षाका लागि, धुर्मुस सुन्तली बस्ति, रामेछाप जिल्लामा भूकम्पले भत्किएका विद्यालय पूनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्