उत्पीडित वर्गको हितमा काम गर्न भूमि आयोगलाई निर्देशन «
Logo

उत्पीडित वर्गको हितमा काम गर्न भूमि आयोगलाई निर्देशन

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले लामो समयदेखि भूमिबाट बञ्चित रहँदै आएका उत्पीडित वर्गको पक्षमा काम गर्न आग्रह गरेकी हुन् ।
“जुन वर्गका निम्ति यो आयोग गठन भएको हो, ती आधारभूत वर्गको हितमा काम गर्नुहोस्” आयोगका पदाधिकारीहरुलाई शुभकामना दिँदै मन्त्री अर्यालले भनिन्, “तपाईँहरुको भूमिका निम्न वर्गहरुको हित पहिलो प्राथमिकता हुनुपर्छ ।” विगत सात दशकदेखि त्यो वर्ग समस्यामा रहेको भन्दै उनले ती आधारभूत वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरिन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी ज्ञवालीले भूमि व्यवस्थापनका क्षेत्रमा यो नै अन्तिम आयोग रहने गरी काम अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे । सरकारले राष्ट्रिय संकल्प भएको भन्दै अध्यक्ष ज्ञवालीले काम गरेर आधारभूत वर्गको हितमा काम गर्ने र सहयोगका लागि मन्त्रालयलाई आग्रह समेत गरे ।
मन्त्रालयका सचिव केदार न्यौपानेले वर्षौदेखि रहँदै आएको भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्नका लागि आयोग र मन्त्रालय एक भएर काम गर्ने बताए ।
गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो भने सदस्यहरुमा भीमबहादुर कार्की, जगत देउजा, मञ्जली शाक्य र दीनेशचन्द्र यादवलाई नियुक्त गरेको थियो ।
भूमिसम्बन्धी ऐन (आठौं संशोधन)–२०७६ अन्तर्गत भूमि सम्बन्धि समस्या समाधानका लागि ‘भूमि सम्बन्धी समस्या समाधान आयोग–२०७६’ गठन गरिएको हो । आयोगको कार्यकाल ३ वर्षको हुनेछ । यस अवधिमा आयोगले देशभरका भूमि सम्बन्धी समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्