Logo

पोखरा महानगरको राहत कोषमा पौने ४ करोड

कास्की- पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा हालसम्म करिब ३ करोड ७८ लाख ३५ हजार ३ हजार ९१ रुपैयाँ जम्मा भएको छ । कोभिड–१९ न्यूनीकरण तथा प्रभावितलाई राहत प्रदान गर्न महानगरले २ करोड जम्मा गरेर सो कोष स्थापना गरेको थियो ।
कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्फबाट ४८ लाख ५० हजार रुपैयाँ, प्रदेश सरकारको १ करोड रुपैयाँ र विभिन्न सार्वजनिक तथा निजी संघ–संस्था, व्यक्तिलगायतबाट गरी आजसम्म सो रकम संकलन भएको र रकम आउने क्रम जारी रहेको महानगर प्रमुख मानबहादुर जिसीले बताए । त्यसैगरी ३ लाख रुपैयाँबराबरको खाद्यान्न पनि सहयोगस्वरुप प्राप्त भएको महानगरले जनाएको छ ।
महानगरले सोही कोषबाट लकडाउनका कारण प्रभावित बनेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउँदै आएको छ । महानगरपालिकाले विपद् व्यवस्थापन कोषका नाममा राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्नसमेत इच्छुक व्यक्ति तथा संघ–संस्थामा आह्वान गरेको छ ।
कोरोनाबाट प्रभावितका लागि राहत वितरण गर्न जिल्लाका गाउँपालिकाले समेत कोष स्थापना गरेको र रकम जम्मा हुने क्रम चलिरहेको बताइन्छ । मादी गाउँपालिकाले खडा गरेको कोषमा सुपर मादी हाइड्रोका तर्फबाट १२ लाख ७३ हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग भएको बताइन्छ ।
त्यसैगरी पर्यटन व्यवसायी महेन्द्र गुरुङबाट १ लाख रुपैयाँ तथा इशानेश्वर हार्डवेयरबाट २० हजार रुपैयाँ सहयोग कोषमा जम्मा भएको मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । माछापुच्छ«े गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाल निर्माण व्यवसायी संघ कास्कीबाट ५० हजार रुपैयाँ तथा भेँडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताउनुभयो ।
सहयोग जुटाएर मुस्ताङका २ सय ९४ विद्यार्थीलाई राहत वितरण कोभिड–१९ को संकमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको ‘लकडाउन’का कारणले घर फर्किन नपाएर अलपत्र मुस्ताङका विद्यार्थीलाई पोखरामा सहयोग प्रदान गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा मुस्ताङकै केही व्यक्ति मिलेर १ लाख रुपैयाँ सहयोग संकलन गरेर माथिल्लो मुस्ताङका विभिन्न गुम्बामा अध्ययन गर्ने २ सय ९४ जना विद्यार्थीलाई हिजो र आज गरी पोखरामा राहत स्वरूप खाद्यान्न सहयोग गरिएको हो ।

हिउँद्को समयमा उपल्लो मुस्ताङमा जाडो बढी हुने भएपछि कात्तिकदेखि चैतसम्म छ महिना त्यहाँका विद्यार्थी पोखरालगायत देशका विभिन्न स्थानमा झरेर अध्ययन गर्ने गरेकामा लकडाउन घोषणा गरेसँगै उनीहरू घर फर्किन पाएका थिएनन् । उपल्लो मुस्ताङकोे पाल ई वाम नाम्ग्याल मोनाष्टिक विद्यालय, ई वाम नाम्ग्याल मोनाष्टिक आनी विद्यालय, चराङ लेक्क्षे न्युनरी स्कूल, लो निफुक गुम्बा स्कुल र कागबेनीमा रहेको काग छ्योदे थुप्टेन साम्फेलिङ मोनास्टिक विद्यालयका पोखरामा रहेका विद्यार्थीलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरिएको प्रदेशसभा सदस्य विष्टले बताए ।
विद्यार्थीलाई खाद्यान्न वितरणका लागि जिविस मुस्ताङका पूर्वसभापति विष्णु हिराचनले नगद ५० हजार रुपैयाँ, उपल्लो मुस्ताङका किमी छ्योक्योङ गुरुङले २५ हजार रुपैयाँ गण्डकी प्रदेशसभा सदस्य विष्टले १५ हजार रुपैयाँ र ग्याचा गुरुङ (फुवा) ले नगद १० हजार रुपैयाँ सहयोग गरेको बताइन्छ ।
यसअघि गण्डकी प्रदेश सरकारले पेसा, व्यवसाय तथा चिसो छल्नका लागि पोखरा झरेका र जारी लकडाउनका कारणले अलपत्र परेका ३ सय ४० मुस्ताङवासीलाई राहत प्रदान गरेको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रभावित मुस्ताङवासीलाई प्रदेश सरकारका तर्फबाट राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्