भोलिबाट गण्डकीमा १६४६ सवारी साधन विस्तापित

आगामी चैत १ गते अर्थात् बिहीबारदेखि २० वर्ष पुराना सार्वजनिक सवारी साधनहरू सञ्चालन नहुने भएका छन् । वातावरण प्रदूषण गराएको भन्दै नेपाल सरकारले ०७४ चैत १ गतेबाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने तयारी भएको हो ।
०७२ चैत १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यान्वयन गर्न आफ्नो क्षेत्रबाट आफूहरू तयारी अवस्थामा रहेको गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख अच्युत रेग्मीले बताए । उनका अनुसार पोखरासहित गण्डकी क्षेत्रमा १ हजार ६ सय ४६ वटा सवारी साधन २० वर्ष पुराना रहेका छन् । उनले भने, “२० वर्ष पुराना सवारी साधन यस क्षेत्रबाट विस्तावित गर्नका लागि सवारी धनीहरूले फागुन ३० गतेभित्र दर्ता खारेज गर्न निवेदन दिन सक्छन् ।” कार्यालय प्रमुख रेग्मी चैत १ गतेबाट २० वर्ष पुराना भएका सार्वजनिक सवारी साधन सञ्चालनमा भएमा वा गराएमा उक्त सवारी साधनहरू जफतसम्म गर्ने गरी तयारी भएको बताए । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा १ लाख ६३ हजार जसो सवारी साधनहरू हालसम्म दर्ता भएका छन् भने यसमा सार्वजनिक सवारी साधनको संख्या करिब १६ हजार रहेको प्रमुख रेग्मीले जनाए ।
सरकारको यो निर्णय कार्यान्वयन गर्न नदिन यातायात व्यवसायीहरूको छाता संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघ र सर्वोच्च यातायात राष्ट्रिय महासंघले चुनौती दिने भएका छन् । उनिहरूले पुँजी पलायन हुने र त्यसबाट हजारौंको रोजी रोटी गुम्ने अवस्था आएको भन्दै सरकारको अलोकप्रिय निर्णय खारेज हुनुपर्ने माग गर्दै आएका छन् । तर, सरकारले यो निर्णयमा कुनै सम्झौता हुन नसक्ने बताउँदै आएको छ ।
सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधन लाई २० वर्षे निति अक्षरस कार्यान्वयन गरिने दाबी गर्दै आएको छ । पर्यटन नम्बरका सवारी साधन समेत चल्न नपाउने गरी विभागले देशभर रहेका मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।