कर्णाली प्रदेशको औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन «

कर्णाली प्रदेशको औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन

एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु भएको छ ।
यसअघि नै प्रादेशिक औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको प्रादेशिक केन्द्र सुर्खेतमा उद्योग मन्त्रालयबाट अध्ययनको जिम्मा पाएको परार्मदाता कम्पनीले भौगर्भिक तथा सम्भाव्यता अध्ययन सुरु गरेको हो । सम्भाव्यता अध्ययनका लागि ग्रीन राजदेवी कन्सटलटेन्सी काठमाडौंले जिम्मा पाएको छ । टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ ।
सम्भाव्यता अध्ययन प्रतिवेदनपछि मात्र डीपीआरको काम सुरु हुनेछ । औद्योगिक क्षेत्रका लागि छनोट भएको स्थलमा पर्याप्त पानीको स्रोत, राजमार्ग नजिक र विद्युत् सहज विस्तार गर्न सकिने क्षेत्र हो । सम्भाव्यता अध्ययनको काम सुरु लगत्तै अन्य प्रक्रियाहरू पनि अगाडि बढाउने तयारीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्र जुटेको छ । प्राविधिक टोलीको प्रतिवेदनले उपयुक्त छ भने, प्रस्तावित क्षेत्रमा नै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई बाटो खुल्नेछ ।
सरकारले औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेपछि सुर्खेतमा नै स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले पहल थालेको थियो । सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने एक हजार बिगाह जग्गा उपलब्ध गराउने निर्णय पनि गरिसकेका छन् । औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको सुर्खेत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव शर्माले बताए ।
औद्योगिक क्षेत्रका लागि रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरेका छन् । मन्त्रालयको टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्नेछ । प्रर्याप्त पूर्वाधार नहुँदा कर्णाली प्रदेशमा हालसम्म ठूला उद्योग स्थापना भएका छैनन् । प्रादेशि औद्योगिक क्षेत्र स्थापना भएपछि समग्र प्रदेशमा औद्योगिक विकास हुने यहाँका व्यवसायीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्