कोरोना, विश्वव्यापी तरंग र विश्व स्वास्थ्य संगठन «

कोरोना, विश्वव्यापी तरंग र विश्व स्वास्थ्य संगठन

कोरोना महामारीले विश्वभरि नै वितण्डा मच्चाइरहेको छ । धर्तीभरि नै त्रास बढेको छ । विश्वभरि यस महामारीबाट बच्न अनेकौँ प्रकारका प्रयास जारी छन् । हामी पनि बन्दाबन्दीमैँ छौँ । जनजीवन कष्ठकर बन्दै गएको छ । सञ्चारमाध्यममा कोरोनाका अपडेटमा मानिसको मृत्युको संख्या बढिरहेको देखिन्छ । आममानिसको आशा, भरोसा र ध्यान विश्वका वैज्ञानिकको खोजतिर खिचिएको छ । जबसम्म कोरोनाको औषधी पत्ता लाग्दैन तबसम्म यसको त्रासबाट मानिस मुक्त हुन सक्दैन । सोमबार साँझ जोन हाप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा १ लाख १६ हजार भन्दा बढीले यसबाट ज्यान गुमाइसकेका छन् । विश्वविद्यालयका अनुसार १८ लाख ६३ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । विश्वका धनी र सम्पन्न मुलुकमा समेत यस रोगबाट मानिसको मृत्यु हुने दर बढिरहेको सन्दर्भमा हाम्रो जस्तो गरिब र स्रोतसाधनको अभाव हुने राष्ट्रले बढी संवेदनशील भएर राज्यको नीति नियम पालना गर्नु र आत्मसंयम गर्नु नै बढी सान्दर्भिक ठहरिन्छ । महामारीले धनी र गरिब भन्दैन । अहिले कोरोनाले विश्वलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही नै हो ।
कोरोनाका कारण सबैभन्दा बढी मानवीय क्षति अमेरिकामा भएको छ । अमेरिकामा मात्र २२ हजार ८ ५० जनाले ज्यान गुमाएका छन् । यसैगरी इटालीमा १९ हजार ८९९, स्पेनमा १७ हजार ४८९, फ्रान्समा १४ हजार ३९३, बेलायतमा १० हजार ६१२, इरानमा ४ हजार ४७४, बेल्जियममा ३ हजार ९०३, चीनमा ३ हजार ३४५ ज्यान गुमाएका छन् । हाम्रो छिमेकी राष्ट्र भारतमा भने यसबाट मृत्यु हुनेको संख्या ३ सय ३१ पुगेको छ ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसले विभिन्न विषयलाई उजागर गरेको छ । कहिले नामकरणको विषयलाई लिएर विवाद बढेको देखिन्छ । महामारी फैलिएको बेला नामकरणका विषयमा भन्दा पनि यसको नियन्त्रणमा बढी केन्द्रित बन्नुपर्नेमा केही राष्ट्रले आरोप र प्रत्यारोपमा बढी समय खर्चेका कारण झन मानवीय क्षति बेहोर्नुपरेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले चीनको पक्ष लागेर कोरोनाका बारेमा सूचना सम्पे्रषणमा ढिलाइ गरेको अमेरिकाले आरोप लगाएपछि विश्वव्यापी रूपमा विश्व स्वास्थ्य संगठनको औचित्यमाथि प्रश्न उठेको छ । तर, विश्व स्वास्थ्य संगठनले भने भाइरसमाथि राजनीति नगर्न र त्यसलाई राजनीतिक विषयवस्तु नबनाउन पटकपटक जानकारी गराउँदै आएको छ । उसले महामारीमा सबै एकजुट र संयमित भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएको छ । हालआएर विश्व स्वास्थ्य संगठनको उक्त गैरलापरवाही कदम भन्दै त्यसमा स्पष्टीकरण माग्ने क्रम पनि बढ्दै गएको छ; जसका कारण विश्वभरि विश्व स्वास्थ्य संगठनको औचित्यमाथि प्रश्न उठेको हो । अमेरिकाले त खरो रूपमा विश्व स्वास्थ्य संगठनको औचित्य सकिएको भन्दै आफ्नो आर्थिक सहयोगसमेत बन्द गर्ने चेतावनी दिएको छ भने ताइवानले पनि विश्व स्वास्थ्य संगठनले उक्त कदमप्रति माफ माग्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
अमेरिका, ताइवान र अन्य राष्ट्रको खरो आलोचनापछि विश्व स्वास्थ्य संगठनले अप्रिल ९ मा कोरोना भाइरसको विरुद्धमा एकजुट भएर लड्नुपर्ने कुरामा जोड दिँदै विज्ञप्ति सार्वजनिक गरेको हो । विज्ञप्तिमा विश्व एकताका लागि पनि आह्वान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई आफ्नो देशले प्रदान गर्ने अनुदानमाथि रोक लगाइने चेतावनी दिएपछि नै विश्व स्वास्थ्य संगठनले वर्तमान अवस्थामा विश्व एकता र सहकार्य नै प्रमुख आवश्यकता भएको औँल्याउँदै उक्त विज्ञप्ति जाहेर गरेको हो ।
कोभिड–१९ को तीव्र रूपमा फैलावटसँगै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा दरिलो विश्वव्यापी सहयोग जरुरी भएको देखिन्छ, जुन सहयोग क्षेत्रीय र बहुपक्षीय स्तरमा आवश्यक छ । जबकि गत मार्च २६ मा जी–२० देशबीच सूचना आदानप्रदानलाई बढी प्रभावकारी बनाउन तथा सहयोग बढाउने सम्बन्धमा भिडियो सम्मेलनसमेत भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क देशमा कोभिड–१९ का लागि आपसमा सहयोग बढाउन आह्वान गर्नुभएको थियो । त्यस्तै, जी–२० बैठकले विश्व स्वास्थ्य संगठनमा सुधार आवश्यक भएको औंल्याएको थियो ।
यो महŒवपूर्ण कुरा हो, सार्वजनिक स्वास्थ्यको मामलामा विश्व स्वास्थ्य संगठन विश्वको सबैभन्दा ठूलो संस्था हो । यसको संरचनागत व्यवस्थामा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने देखिन्छ । सार्वजनिक स्वास्थ्यको क्षेत्रमा विश्व स्वास्थ्य सहयोग साना तथा विकासशील देशमा पर्याप्त मात्रामा पुग्नुपर्ने कुरामा पनि जी–२० बैठकमा समेत उठेको थियो । जबकि सन् २००८ मा विश्वभरि वित्तीय मन्दी आएका बेला पनि जी–२० को प्रमुख अर्थव्यवस्था एकरूपमा अगाडि बढेको थियो । हो, अहिले पनि संकटको यस खण्डमा एकै प्रकारको व्यवस्था तर्जुमा गर्नु अत्यावश्यक छ । त्यसैले समृद्ध तथा ठूला राष्ट्रले यसका लागि ठोस कदम चाल्नुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठन जस्तो विश्वव्यापी संस्थाले यसबेला आपत्कालीन स्थितिको घोषणा गरिसकेको छ । यो विश्वका अधिकांश जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय पनि हो । त्यसैले विकासशील देशका जनताको आवाजसँग जोडिएको यो विषय भएका कारण कुनै पनि आपत्कालीन निर्णय प्रक्रियामा पनि विकासशील देशको सहभागिता अनिवार्य रहन्छ वा उनीहरूको आवाज सुनिनुपर्छ ।
विश्व स्वास्थ्य संगठन स्वतन्त्र विश्वव्यापी सार्वजनिक संस्था भए पनि यो केही शक्तिशाली राष्ट्रको दबाबबाट मुक्त हुन सकेको छैन । ती देशको नियन्त्रण र निर्देशनमा काम नगरी स्वतन्त्र रूपमा काम गर्नुपर्ने संस्थाले आफू र आफ्नो मुलुकअनुकूल काम नगरेपछि विभिन्न आरोप खेप्नुपर्ने पछिल्लो उदाहरणले यस संस्थाको स्वायत्तता र स्वतन्त्रतामाथि सहजै प्रश्नचिह्न खडा गरेको छ । यसका महानिर्देशक टेड्रोस एडहनोम घेब्रेयेससले कोरोनाको भाइरसको नाम चीनको नामबाट राख्न आनाकानी गरेको र महामारी घोषित गर्न ढिलाइ गरेका कारण अमेरिकाले लगाएको आरोप नै यसको पछिल्लो उदाहरण ज्वलन्त रूपमा रहेको छ । विश्वमा विश्व स्वास्थ्य संगठनको बजेटको एक चौथाइ हिस्सा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रबाट प्राप्त हुन्छ भने बाँकी अनुदान वा खर्च व्यवस्थापन अमेरिकाले एकलौटी रूपमा बेहोर्ने गरेको छ ।
एउटा विश्वव्यापी संस्थाले स्वतन्त्र रूपमा भूमिका निर्वाह गर्नुपर्ने कुरामा कसैको सन्देह छैन । तर, आर्थिक रूपमा सम्पन्न राष्ट्र र औषधी उत्पादन गर्ने राष्ट्रको वशमा विश्व स्वास्थ्य संगठन रहनु वा पर्नु राम्रो होइन ? यसबेला भारत, चीनलगायतका अन्य देशले यसको महŒवलाई पहिचान गरिसकेका छन् । संगठनका पछिल्ला महानिर्देशक चीनद्वारा प्रस्तावित व्यक्ति भएका कारण पनि अमेरिकाले यसमा असन्तुष्टि जाहेर गरेको देखिन्छ । यो निर्णय हरेक साल विश्व स्वास्थ्य संगठन सभाबाट पारित गरिन्छ, जसमा सबै सदस्य राष्ट्र सामेल हुन्छन् । जसमा एउटा कार्यकारी बोर्ड पनि रहेको छ । जसका लागि सक्षम ठानिएका सदस्य भौगोलिक प्रतिनिधित्वका आधारमा ३४ देशबाट छनौट हुन्छन् । पछिल्लो समयमा यस संगठनको कार्यकारी बोर्डका सदस्यले आपसमा मिलेर बैठक गर्न सकून् र तत्कालै कारबाहीको निर्देशन दिन सकून् भनी कार्यकारी बोर्डलाई भौगोलिक प्रतिनिधित्वबाट टाढा रहन निर्देश समेत गरिएको छ । यसले ठूलो अर्थव्यवस्था र ज्यादा जनसंख्या भएको राष्ट्रलाई प्रमुख साझेदारमात्र बनाएको देखिन्छ । संयुक्त राष्ट्रसंघमा संयुक्त राष्ट्र महिला बोर्ड रहेको छ; जुन देखाउने दाँतमात्र बनेको छ । जुन महिला बोर्डमा विश्वका विभिन्न देशबाट प्रतिनिधित्व नभएर ठूला दाता राष्ट्रका प्रतिनिधिमात्र चयन भएका छन् ।
त्यसैले, विश्व स्वास्थ्य संगठनले दु्रत गतिमा यो महामारी नियन्त्रण गर्न अत्यावश्यक कदम नचालेको भन्ने केही राष्ट्रको आरोप पनि छ । वर्तमान परिप्रेक्ष्यमा यसको औचित्यमाथि प्रश्न उठाउनुभन्दा बरु यसलाई प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न विशेष पहल गर्नुपर्ने देखिन्छ । यसको कार्य र स्वरूप परिवर्तनको आवश्यकताभन्दा पनि बढी वर्तमान समयमा यसलाई जिम्मेवारीपूर्ण तथा प्रभावकारी रूपमा स्वतन्त्र तवरले काम गर्न दिनु नै बढी सान्दर्भिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्