क्षणभरमै निर्णय लिनसक्ने सुविधा हामीलाई छैन «

क्षणभरमै निर्णय लिनसक्ने सुविधा हामीलाई छैन

कामिनी राजभण्डारी सरकारी स्वामित्वको नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रबन्ध निर्देशक भएकी हुन् । मन्त्रिपरिषद्को ०७३ असोज ६ को निर्णयले राजभण्डारीलाई तीन वर्षका लागि प्रबन्ध निर्देशकमा उनलाई नियुक्त गरेको हो । राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाब इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए गरेकी छन् । उनले ०४२ सालमा इन्जिनियरका रूपमा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी थिइन् । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । परियोजना सञ्चालन, मर्मत–सम्भार, स्पेसिफिकेसन तयारी, अनुगमन तथा मूल्यांकनजस्ता क्षेत्रमा विशेष दख्खल छ । कम्पनीको सञ्चालक समितिमा पुग्ने उनी पहिलो महिला सञ्चालक पनि हुन् । नेपाल इन्जिनियर्स एसोसिएसनले राजभण्डारीलाई ०७३ मा ‘आउटस्ट्यान्डिङ वुमन इन्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो भने हालै नेपाल व्यवस्थापन संघ (म्यान)ले पनि अवार्ड प्रदान गरेको छ । प्रबन्ध निर्देशक राजभण्डारीसँग कम्पनीका योजना, अहिलेको प्रतिस्पर्धात्मक वातावरणलगायतका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानी :

टेलिकमको नेतृत्व सम्हानुभएको झन्डै १५ महिना भइसकेको छ, पछिल्लो समय के–कस्ता कामहरू अगाडि बढेको छ ?
सन् २०१६ को जनवरी १ मा टेलिकमले नेपालमा पहिलो पटक फोरजी सेवा विस्तार गर्न सफल भयो । मेरै कार्यकालमा चीनतर्फको फाइबर तानेर इन्टरनेट कनेक्टिभिटीको काम अगाडि बढ्यो । त्यसै गरी कम्पनीले जीएसएम, सीडीएमए, वाइम्याक्सलगायतका विभिन्न मल्टिसर्भिसेस दिएको छ, यी सेवालाई एउटै बिलिङ पद्धति ‘कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम’ मा जोड्न काम भएको छ । कम्पनीले इतिहासमा पहिलो पटक साधारणसभा समयमै सम्पन्न गर्न सकेकोे छ । साधारणसभा मात्र नगरेर हालसम्मकै सबैभन्दा धेरै लाभांश अर्थात ५५ प्रतिशत दिन सफल भएका छौँ । ०६७-६८ देखि कर्मचारी व्यवस्थापनका रिजल्टहरू पेन्डिङमा थिए । कर्मचारीको वृत्तिविकास हुन नसक्दा त्यति खुसी भएको अनुभूति मैले गर्न सकेकी थिइनँ । मेरा लागि सधैं ग्राहक पहिलो प्राथमिकता छन् भने कर्मचारी मेरा सम्पत्ति हुन् । ग्राहकलाई खुसी पारेर सेवा दिने र त्यसबाट कम्पनीले आम्दानी गर्ने हो । त्यसका लागि मेरा कर्मचारीको ठूलो हात हुन्छ । कर्मचारीलाई ‘मोटिभेट’ गरिनु आवश्यक देखेर मैले जति पनि रिजल्टहरू रोकिएका थिए, सबै प्रकाशित गरेँ ।
आजका दिनमा भन्ने हो भने कर्मचारीहरूको वृत्तिविकास ठीक तरिकाले भएको छ । ०७३-७४ मा वृत्तिविकास सम्बन्धमा विज्ञापन गर्ने, रिजल्ट हुने काम निर्धारित समयमै सम्पन्न भएको छ । ०७४-७५ को पनि विज्ञापन भएको छ, आश्वश्यकताअनुसार ‘प्लेसमेन्ट’ को काम पनि अगाडि बढेको छ । अर्काे कुरा, कम्पनीमा सवारी नीति पनि मेरै कार्यकालमा लागू भएको छ । यहाँ १०-११ तहले मात्रै गाडी पाउने, ड्राइभर नपाउने तर त्यसबापतको भत्ता मात्रै पाउने व्यवस्था थियो । अब कर्मचारीलाई भत्ता दिने गाडी केवल कार्यालयको कामका लागि मात्रै उपयोग हुने भएको छ । गाडीकै कारणले समयमा मर्मतसम्भार नहुने, भनेको समयमा कम्पनीका कामहरू गर्न नसकिने लगायतका विभिन्न समस्या आएपछि सेवालाई गुणस्तरीय बनाउनकै लागि कम्पनीको काममा मात्रै गाडी प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । योसँगै घर भाडा दिने नीति पनि लागू भएको छ । नयाँ प्रविधिको प्रयोगले स्पेस, पावरको तथा अपरेटिङ लागत घट्दै गएको छ । जति पनि कम्पनीका घरहरू खाली छन्, ती घरहरू भाडा दिने काम सुरु भएको छ । जनकपुरस्थित कम्पनीको खाली भवन सञ्चयकोषलाई भाडामा दिएका छौं । खाली जग्गा र भवनहरू भाडामा लगाएर पनि कम्पनीले आफ्नो आम्दानी बढाउँदै जानेछ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने टेलिकम कम्पनीहरूले आफ्ना सेवाहरूलाई अधिकतम आउटसोर्सिङ गरेको पाइन्छ, तर टेलिकमले एकाधबाहेकका सबै सेवा आफैले सञ्चालन गरेको छ, आउटसोर्सिङमा जाने बेला भएन ?
टेलिकमले आउटसोर्सिङ नगरेको होइन, गरेको छ । मुख्य–मुख्य योजनाहरू जस्तै— १ करोड लाइनको योजना, टीडीएम माइग्रेसनलगायतका ठूला परियोजना आउटसोर्सिङ नै गरिएको हो । हामी जडानदेखि टेस्टिङसम्मका सबै काम आउटसोर्सिङबाटै गराउँछौँ । त्यसमा आवश्यकताअनुसार हामी आफैंले पनि गर्छौं । कर्मचारीबाट हुने काम कर्मचारीबाट हुन्छ भने अरू काम परियोजना जसले बोलपत्रमार्फत पाउँछ उसलाई नै लगाउँछौँ । आउने दिनमा हाम्रो प्राथमिकता मोनिटरिङ, सुपरभिजन हुन्छ । जुन कामलाई प्राथमिकता दिन नसक्दा योजना-आयोजनामा ढिलाइ हुने गर्छ, त्यस्ता काम हामीले गर्ने, बाँकी काम आउटसोर्सिङ गरेर जाँदैछौँ ।

नेपालको समग्र टेलिकम्युनिकेसन सेक्टर र यसमा पनि नेपाल टेलिकमको विगतका केही वर्षको बिजनेस हेर्दा अब यो क्षेत्रचाहिँ सेचुरेसनमा पुगेको हो कि जस्तो देखिन्छ । के नेपालको अब टेलिकम्युनिकेसन सेक्टरमा हिजोका ती स्वर्णीम दिनहरू फर्किएलान् ?
नेपाल टेलिकमका लागि अवसरहरू निकै धेरै छन् भन्ने मलाई लाग्छ । अहिले कम्पनीको ६३ प्रतिशत टेलिघनत्व छ, यी ग्राहक टूजी र थ्रीजीका हुन् । अबका दिन झनै नयाँ–नयाँ प्रविधिसहित हामी अगाडि बढ्नुपर्छ । पछिल्लो पटक फोरजी सेवाको सुरुवात भएको छ, यसमा पनि पर्याप्त सम्भावना छन् । अहिले नै सेचुरेसनमा पुगेको भन्न मिल्दैन । अझ ‘भ्यालु एडेड’ सेवामा जोड दिनु जरुरी छ । भोलिका दिनमा मोबाइलबाटै सम्पूर्ण काम गर्न सकिने हुन्छ । फिक्स्ड मोबाइल कन्र्भजेन्समार्फत धेरै सेवा दिन सकिन्छ । सेचुरेसनमा पुगेको भन्न मिल्ने अवस्था अहिले छैन । बजार माग अत्यधिक छ, त्यसका आधारमा टेलिकमले आफ्ना योजनाहरू विस्तार गर्छ ।

नेपालका दूरसञ्चार कम्पनीहरूले नयाँ मार्केट खोज्नुको साटो भइरहेको मार्केट नै खोसाखोस गर्ने प्रवृत्ति बढ्यो भनिन्छ नि ?
भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि प्रकारको दूरसञ्चार सेवा नपुगेको ठाउँ भेटियो । राष्ट्रको सञ्चारको हैसियतले टेलिकमले भि–स्याटमार्फत बझाङ, हुम्ला, जुम्ला, बाजुराका विभिन्न विकट जिल्लामा सेवा विस्तार गर्यो । कतिपय ठाउँ यस्ता छन् जहाँ तार लैजान सम्भव छैन त्यस्तो ठाउँमा भि–स्याटबाट सेवा विस्तार गर्नुपर्छ । विकट होस् या सुगम टेलिकमले सेवा दिएर अगाडि बढेको छ । हामीले आम्दानी कम हुन्छ भनेर त्यस्ता विकट र दुर्गम ठाउँमा सेवा विस्तार गर्न छोडेको छैन । जनतालाई सर्वसुलभ रूपमा दूरसञ्चार सेवा पुराउन हामी सधैं कटिबद्ध छौँ र भोलिका दिनमा पनि हुनेछौँ ।

टेलिकममाथि सधैं लाग्ने गरेको आरोप, त्यत्रो पूर्वाधार र अपार जनसमर्थनका बीचमा पनि निजी क्षेत्रको भनौं अझ बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । प्रतिस्पर्धाका लागि अरू कम्पनीसँग भएको कुरा टेलिकमलाई के अभाव छ ?
नेपाल टेलिकम अहिलेको समयमा हेर्दा निकै प्रतिस्पर्धामा छ । प्रतिस्पर्धा गरेर हामी नेतृत्वदायी भूमिकामा छौँ । नेपालमा ६ वटा टेलिकम सेवाप्रदायक छन् । ६ वटै सेवाप्रदायकमध्ये टेलिकम डेटा र भ्वाइस दुवैमा अगाडि छ । प्रतिस्पर्धा गरेको छ, अझ थप प्रतिस्पर्धामा जानु पनि छ । हामी एउटा राष्ट्रको सञ्चार हौं । हामी सरकारी नीति–नियममा जानुपर्छ । सार्वजनिक खरिद ऐन हामीले कार्यान्वयन गर्नुपर्छ । मैले कुनै नयाँ प्रविधि ल्याउनुपरेमा एक घण्टा वा दुई दिनमा गर्न सक्ने अवस्था छैन । मैले जे काम गरूँ, सबै टेन्डर प्रक्रियामा जानुपर्छ । टेन्डरका सबै प्रक्रिया पूरा गर्दा अवश्य समय लाग्छ । विभिन्न प्रक्रियाले गर्दा हामीलाई धेरै चुनौती छन् । अरू कम्पनीले जस्तो क्षणभरमै निर्णय लिन सक्ने अवस्था हामीलाई छैन । यति हुँदाहुँदै पनि टेलिकम अन्य कम्पनीको तुलनामा भ्वाइस र डेटामा अगाडि छ ।

टेलिकम सरकारी कम्पनी नै भए पनि अन्यत्रभन्दा कम हस्तक्षेप हुने सरकारी निकाय हो । तर, सरकारले यति स्वतन्त्रता हुँदाहुँदै पनि टेलिकमको अहिलेको प्रगति र उपलब्धिसँग सन्तुष्ट हुन सक्ने अवस्था छ त ?
अवश्य पनि, टेलिकमको अवस्था सन्तोषजनक नै छ । कम्पनीलाई अझ माथि लैजान सक्ने मेरो योजना पनि धेरै छन् । सय वर्षको इतिहास छ । जनताले हामीले धेरै विश्वास गरेको छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एउटा अध्ययन गरेको थियो जसमा अरू सेवाप्रदायकको तुलनामा टेलिकमको सेवा विस्तार, गुणस्तर र बिलिङ सिस्टम राम्रो रहेको उल्लेख छ । हामी जनतालाई दिएको सेवाबाट पारदर्शी र प्रस्ट बिलिङ पद्धतिबाट शुल्क लिन्छौँ । हामीले कर पनि समयमै तिरेका छौँ । नेपाल टेलिकमले सेवा, कर भुक्तानलगायतका जे–जस्ता काम गरेको छ, सबै प्रस्ट र जनताले बुझ्ने, पारदर्शी छन् । अझ यसलाई बढावा दिएर कम्पनीलाई थप परिष्कृत तथा नयाँ–नयाँ सेवा विस्तार गर्ने योजना छन् ।

सूचना–प्रविधिको तीव्र विकासले संसारमा दूरसञ्चार सेवा नै निकै सस्तो र सुलभ भइसकेको छ । टेलिकमले पनि आफूलाई अब दूरसञ्चारका परम्परागत सेवाबाट आधुनिकतातर्फ रूपान्तरण गर्ने बेला भएन ?
हो, नेपाल टेलिकमका धेरै सेवा आधुनिकतातर्फ रूपान्तरण भएका छन् । कन्भर्जेन्ट रियल टाइम बिलिङ, ल्यान्डलाइन पनि प्रिपेडजस्तै भएको छ । तारसहितका फोनलाई अपग्रेड गर्ने काम भएको छ । ४० देखि ५० प्रतिशत अपग्रेड गर्ने काम भइसकेको छ । यसमा भ्वाइस मात्रै नभएर ‘अनडिमान्ड’डाटा लिन सकिन्छ । ग्राहकको घरसम्मै फाइबर तान्ने काम हामी गर्छौं, जसका कारण गुणस्तर राम्रो हुन्छ । आगामी दिनमा ल्यान्डलाइनबाट मल्टिमिडिया सेवा पनि काम अगाडि बढेको छ । वायरलेसतर्फ फोरजी सेवा सम्पूर्ण जनतालाई दिने गरी काम अगाडि बढेको छ । अब सातै प्रदेशमा एकै क्वालिटीको फोरजी सेवा दिने गरी योजना अगाडि बढेर अन्तिमतर्फ पुगेको छ । ग्राहकको माग अत्यधिक छ । त्यसलाई मध्यनजर गरी फोरजी सेवालाई व्यापक रूपमा विस्तारको योजना अगाडि बढिसकेको छ ।

टेलिकमले अहिले उपलब्ध गराइरहेका सेवा–सुविधाहरू जनस्तरसम्म लोकिप्रिय हुन नसक्नुको कारणचाहिँ तपाईंहरूको उपयुक्त प्रचारप्रसारको अभाव नै हो । कतिपय सेवा कसरी सुरु गर्ने, यो सेवाबाट कति लाभ लिन सकिन्छ र कसरी बन्द गर्ने जस्ता सूचनाको अभाव देखिन्छ । तपाईंहरू कुनै राम्रा प्रोडक्ट ल्याएर पनि किन आक्रामक प्रचारमा जान सक्नुभएन ?

नेपाल भौगोलिक विविधता भएको देश हो भन्नेमा दुईमत छैन । कतिपय ठाउँमा पुग्न ७-८ दिन पैदल यात्रा पनि गर्नुपर्ने अवस्था छ, जुन ठाउँमा सेवा विस्तार गर्न हेलिकप्टरबाट उपकरण लैजानुपर्ने अवस्था छ । त्यस्ता ठाउँमा हामीले सीडीएमएमार्फत दूरसञ्चार सेवा विस्तार गरेका छौँ, जहाँ वायरलाइन जान सक्दैन त्यो ठाउँमा वायरलेस सेवा दिएका छौँ । बाजुरा, हुम्ला, जुम्लालगायतका ठाउँमा भि–स्याटबाट सेवा दिएका छौँ । त्यस्तो विकट ठाउँमा सेवा दिँदा कम्पनीलाई नाफा छैन, तर राष्ट्रको सञ्चार भएको हिसाबले सेवा विस्तार गर्नु हाम्रो दायित्व हो । आउने दिनमा विकटदेखि सुगमसम्म फोरजी सेवा दिन्छौँ । फाइबर टु होम (एफटीटीएच) बाट पनि सेवा दिने योजना छ । ग्राहकको मागअनुसार नै सेवा दिने गरी हाम्रा योजनाहरू अगाडि बढेका छन् । जतिसक्यो धेरै ग्राहकमा सर्वसुलभ सेवा कम शुल्कमा पुराउन हामी कटिबद्ध छौँ ।

आमसर्वसाधारण जो दूरसञ्चार सेवामा कम खर्च गर्छन्, तिनीहरूमा टेलिकमको होल्ड भए पनि कर्पोरेट ग्राहक जो बढी खर्च गर्छन्, उनीहरूलाई भने तपाईंहरूले किन आकर्षित गर्न सक्नुभएन ?
प्रतिस्पर्धामा हामी सक्षम छौँ । हाम्रा प्रतिस्पर्धीहरूले जस्तो खालका योजना ल्याए पनि हामी आफ्नो तरिकाले अगाडि बढ्छौँ । स्वस्थ प्रतिस्पर्धा भएमा हाम्रो भूमिका अझ बढ््छ । टेलिकम सधैं स्वस्थ प्रतिस्पर्धा चाहन्छ, त्यसका लागि सधैं तयार छ ।

मुलुक संघीयतामा गइसकेको छ, यसअनुकूल टेलिकमको संस्थागत र सेवामा समग्र पुनर्संरचना कसरी गर्नुहुन्छ ?
हामीले सातै प्रदेशमा काम सुरु गरिसकेका छौँ । देश संघीयतामा गएपछि टेलिकम पनि संघीयतामा जानु नै पर्छ । हाम्रो पूर्वाधार देशभर नै छ । हामीसँग जति पूर्वाधार अरू प्रतिस्पर्धी कुनै पनि कम्पनीसँग छैन । केही समयअगाडि तराई क्षेत्रमा बाढी आउँदा पनि अरू कम्पनीको तुलनामा टेलिकमको सेवा बढी प्रभावकारी रह्यो, जुन जनता र नियामक निकायले अनुभव गरेकै कुरा हो । यसबाट के देखिन्छ भने नेपाल टेलिकमले सबै क्षेत्रमा आफ्नो पहुँच विस्तार गरेको छ । अगामी दिनमा अझ क्षमता बढाएर नयाँ–नयाँ प्रविधिसहित सबै क्षेत्रमा पुग्छ । टेलिकम सरकारको स्वामित्वको कम्पनी हो, त्यसैले देश संघीयतामा गएपछि टेलिकम नजान मिल्दैन । संघीय संरचनाका लागि कामहरू अगाडि बढेका छन् ।

अब, कम्पनीलाई आर्थिक रूपमा सक्षम, सेवामा गुणस्तरीय र प्रतिस्पर्धामा नम्बर एक बनाउने तपाईंका पाँच योजना के–के छन् ?
फोरजी सेवालाई कम्पनीले उच्च प्राथमिकतामा पारेको छ । अहिले टुजी, थ्रिजीमा फोन लागेन, काटियो भन्ने ग्राहकको गुनासोलाइ समेत सम्बोधन गर्ने गरी फोरजी सेवा विस्तार गर्ने योजना छ । सातै प्रदेशमा एकैपटक सेवा विस्तार हुन्छ । सुगम मात्र होइन, अब अति दुर्गममा पनि टेलिकमले फोरजी सेवा विस्तार गर्छ । फोरजी सेवा आर्थिक, गुणस्तर र प्रतिस्पर्धाका हिसाबले पहिलो प्राथमिकतामा छ । ल्यान्डलाइनमा रहेको पुरानो प्रविधिलाई नयाँ प्रविधिमा अपग्रेड गर्ने काम हुन्छ । यसमा शतप्रतिशत जनताले ‘अन डिमान्ड डेटा सेवा पाउन सक्ने काम अगाडि बढेको छ । २ सय लाइनको मात्रै माग आए घरभित्रै एक्सचेन्ज राखिदिन्छौ । यसै आर्थिक वर्षभित्र यो काम अनुभव गर्ने गरी देख्न सकिन्छ । तेस्रो भनेको हामीले दिएका मल्टिपल सेवामा अब एउटै बिलिङ सिस्टम लागू भएको छ । ग्राहकले जतिवटा सेवा लिए पनि अब एउटै सिस्टमबाट बिल तिर्न सकिन्छ । कन्भर्ज प्याकेज दिने गरी हामी अगाडि बढ्छौँ । कस्टुमर केयर सेन्टरमा १९८, १४९८ र १९७ एउटै ठाउँबाट सुरु गरेका छाँै । यसलाई थप प्रभावकारी हुने गरी काम गछाँै । र, पुरानो–पुरानो प्रविधि र उपकरणलाई ट्रान्सफर्मेसनको काम सुरु भएको छ । अबको दिनमा डेटा सेवा मुख्य हुन्छ । डेटाबाट भ्वाइस, भिडियो पाउने गरी चीनतर्फको नाकाबाट काम अगाडि बढिसकेको छ । फोरजीमा उच्च गतिको डेटा मात्रै नभएर उच्च गतिको भ्वाइस पनि दिन्छौँ ।
योसँगै ग्रामीण दूरसञ्चार कोषको रकमबाट नेपाल दूरसञ्चार प्राधिकरणसँग पहिलो पटक सम्झौता गरेका छौँ । सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा र नुवाकोटमा डेटा सेवा दिन्छौँ । अस्पताल, सार्वजनिक स्थलमा डेटा सेवा दिने गरी काम अगाडि बढेको छ । यही आर्थिक वर्षमा सम्झौताअनुसारको काम सम्पन्न गर्छाैं । प्रदेश नम्बर १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तार गरेर डेटा सेवा दिने काम अगाडि बढेको छ । जसरी प्राधिकरणसँग सम्झौता भएको छ त्यसरी नै निर्धारित समयमा काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । हामीले डिटेल सर्भे गरेका छौँ । अब यो काम गर्न यति पैसा र समय लाग्छ भन्ने विषयमा अध्ययन भएको छ । कतिपय ठाउँमा पूर्वाधार हाम्रै प्रयोग गर्न सकिन्छ भने कतिपय बोलपत्र आह्वान गर्नुपर्छ । त्यसका लागि बोलपत्र आह्वान पनि भएको छ । सरकारी संस्था भएकाले म एक्लैले कुनै पनि निर्णय गर्न सक्दिनँ । सञ्चालक समिति, नीति–नियमका प्रक्रिया पूरा गर्दा केही समय लागेको हो । सम्झौताअनुसारको काम निर्धारित समयमा हुन्छ भन्नेमा विश्वस्त हुन आग्रह गर्छु ।

 

प्रतिक्रिया दिनुहोस्