इन्धनको चुहावट नियन्त्रण गर्न आजदेखि ट्यांकरमा लकिङ «

इन्धनको चुहावट नियन्त्रण गर्न आजदेखि ट्यांकरमा लकिङ

नेपाल आयल निगमले इन्धन बोक्ने टयाङकरमा बुधबार देखि लकिङ प्रणाली लागु गर्ने भएको छ । ट्यांकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्नका लागि निगमले लकिङ प्रणाली जडान गर्न लागिएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक तथा आर्थिक सहयोगमा लकिङ प्रणाली लागू गर्न लागिएको हो । बुधबारदेखि औपचारिक रूपमा ट्यांकरमा लकिङ प्रविधि जडान गरिने निगमले जानकारी दिएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले भारतको सिलगुडीस्थित आईओसीको डिपोमा बुधबारदेखि लकिङ प्रणाली जडान गर्न लागेको जानकारी दिए । इन्धन ढुवानी गर्दा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न लकिङ प्रणाली कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए । पहिलो चरणमा सिलगुडी डिपोबाट लकिङ प्रणाली जडान गरिएको क्रमश अन्य ठाउँमा जडान गर्दै जाने उनको भनाइ छ ।
ट्यांकरबाट वार्षिक करोडौं मूल्यबराबरको इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण गर्न उक्त सुविधा जडान गर्न लागिएको निगमको भनाइ । अघिल्लो वर्षको जेठदेखि यो सुविधा जडान गर्ने कार्यक्रम भए पनि लकिङ (ताल्चा) निर्माणमा समय लागेकाले लागू गर्न ढिलाइ भएको थियो । पहिलो चरणमा आईओसीको डिपोदेखि निगमको डिपोसम्म लकिङ प्रणाली जडान गरिने र दोस्रो चरणमा निगमको डिपोदेखि डिलरसम्म जडान गर्न लागिएको गोइतले जानकारी दिए ।
ट्यांकरमा लकिङ सुविधा जडान विषयमा गत वर्ष नै आईओसी र निगमबीच दुई पक्षीय सहमति भएको थियो । ट्यांकर चालक र निगमको मिलोमतोमा ढुवानी गर्ने क्रममा बाटोमै ठूलो परिमाणमा इन्धन चोरी हुन थालेपछि निगमले यो प्रविधिलाई कार्यान्वयनमा ल्याउन आवश्यक सबै तयारी सम्पन्न गरिसकेको छ ।
सिलीगुडी जाने ५९ मध्ये ४३ वटा ट्यांकरमा यो प्रविधि जडान भइसकेको छ । आगामी बुधबार जडान भएको ट्यांकरमा इन्धन लोड गरेर नेपालको डिपोमा पठाउने कार्यक्रम छ ।
सिलीगुडीपछि रक्सौंल, बरौनी, वेतालपुर, बन्थरा र गोण्डास्थित आईओसीको डिपोबाट इन्धन ओसार्ने ट्यांकरमा यस्तो प्रविधि जडान गरिनेछ । गोण्डा र बन्थरा जाने ट्यांकरमा पनि यो प्रविधि दुई महिनाभित्रमा जडान भइसक्ने निगमको भनाइ छ । निगमका अनुसार भारतीय डिपोमा जाने ट्यांकरमा इन्धन लोड गरेपछि त्यही ताल्चा मार्ने काम हुन्छ । त्यो ताल्चाको एउटा साँचो इन्धन लोड लिने भारतीय डिपोसँग हुन्छ । अर्को साँचो नेपालीको जुन डिपोमा इन्धन खन्याउने हो, त्यो डिपोसँग हुन्छ । यसरी गन्तव्यमा पुगेका ट्यांकरको ताल्चा डिपोका कर्मचारीले मात्रै खोल्न पाउनेछ ।
आईओसीले निगमलाई लकिङ प्रविधि सुविधा निःशुल्क उपलब्ध गराएको हो । एउटा ताल्चाको लागत खर्च २५ हजार नेपाली रुपैयाँ पर्छ । आईओसीले अहिले दुई हजार तीन सयको संख्यामा यस्तो ताल्चा उपलब्ध गराउन लागेको छ ।
नेपालमा १ हजार ८ सयको संख्यामा इन्धन बोक्ने ट्यांकर सञ्चालनमा छ । निगमकै मिलोमतोमा पनि इन्धन कम परिमाणमा पम्पले पायो भन्ने गुनासो सबैतिरबाट आएकाले प्राविधिक रूपमा यो समस्यालाई समाधान गर्न यो प्रविधि वैज्ञानिक रूपमा निकै फलदायी हुने निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्