Logo

प्रदेश सरकारले तीनै तहका सुरक्षा निकायलाई १५-१५ लाख दिने

पोखरा-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि प्रदेशका तीनवटै सुरक्षा निकायलाई १५-१५ लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को ३९औं तथा २०७६ सालको अन्तिम बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
उनका अनुसार नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटर (विजयपुर व्यारेक) गण्डकी प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई कोभिड–१९ को स्वास्थ्य सामग्री तथा अन्य उपकरण खरिद गर्न १५-१५ लाख रुपैयाँ विनियोेजन गरिएको छ । कोरोना भाइरस सरुवा रोग (डेडिकेड) अस्पतालमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने र अन्य कर्मचारीलाई दैनिक रूपमा खाना बस्न सुत्नका लागि २ हजार २ सय ५० रुपैयाँ दिने निर्णयसमेत गरेको प्रवक्ता बस्नेतले बताए । स्थानीय निकायले ठाउँठाउँमा क्वारेन्टाइन बनाएकाले गर्दा क्वारेन्टाइनमा बस्नेका लागि समेत प्रदेश सरकारले केही रकम दिने भएको उनले जनाए । क्वारेन्टाइनमा बस्नेका लागि दैनिक ५ सय १० रुपैयाँ दिने भएको प्रवक्ता बस्नेतले बताए । लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेशमा ल्याउन पहल गर्ने भएको उनले जनाए । उक्त अस्पताल मर्मत संहार गरी प्रदेशको नमुना अस्पतालको रूपमा विकास गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्षको शुभकामना सन्देससमेत दिएका छन् । मुख्यमन्त्री गुरुङले भिडियो सन्देश जारी गर्दै २०७६ साल समग्रमा उत्साहजनक रहेको बताउँदै प्रदेशबासीलाई नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेका हुन् । प्रदेश सरकारले अघिसारेका योजना द्रुत गतिमा अघि बढेका बेला कोरोना भाइरसको संक्रमणका कारण कठिनाइ उत्पन्न भएको उल्लेख गरे । राहत वितरणमा केही वडामा समस्या देखापरेकाले त्यसलाई छिट्टै व्यवस्थापन गर्न आग्रह गरे ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या परेमा नजिकको स्वास्थ्य संस्था वा प्रदेश सरकारबाट सञ्चालित हेलो डाक्टर कक्षको निःशुल्क टेलिफोन सेवा (टोल फ्रि) नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्दै मुख्यमन्त्री गुरुङले आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन प्रदेश सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्