दोलखामा तीन सय थान -यापिड टेस्ट कीट «

दोलखामा तीन सय थान -यापिड टेस्ट कीट

दोलखा-
कोरोना भाइरस संक्रमणको पहिचान गर्नका लागि ३ सय थान -यापिड टेस्ट किट दोलखा आइपुगेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको ३०० थान -यापिड टेस्ट कीट जिल्ला आइपुगेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।
भारतसहितका तेस्रो मुलुकबाट आएकामार्फत कोरोना भाइरस फैलिएको छ छैन परीक्षण गर्नका लागि मन्त्रालयबाट कीट आएको हो । विपद् व्यवस्थापन समितिको बैठक बसेर ति कीटहरू आवश्यकताका आधारमा स्थानीय तहलाई वितरण गरिने सूचना अधिकारी झाले जनाए ।
भारतलगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकामध्ये १४ देखि २१ दिन पुगेकाको रगतको नमुना संकलन गरी संक्रमणको अवस्था जाँच गर्नका लागि -यापिड टेस्ट कीट प्रयोग हुने गरेको सूचना अधिकारी झाले जानकारी दिए । टेस्टको रिपोर्ट पोजेटिभ आयो भने उपचारका लागि सम्बन्धित अस्पतालनमा पठाइने उनको भनाइ छ ।
दुई नगरपालिकासहित ९ स्थानीय तहमा लकडाउनपछि करिब ७ सय जना भारतलगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिए पनि -यापिड टेस्टका लागि ३ सय थानमात्र कीट प्राप्त भएको छ । विदेशबाट भित्रिएकाको तथ्यांक संकलन गरिएका स्थानीय तहलाई बढी मात्रामा प्राथमिकता दिइने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिकामा २३ जना र मेलुङ गाउँपालिकामा २ जना गरी अहिले २५ जना क्वारेन्टाइनमा छन् । विभिन्न स्थानीय तहले क्वारेन्टाइन बनाएको छ । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाले सुरीमा रहेको हलेश्वर माविका ६ वटा कोठामा ३० वटा क्वारेन्टाइन बेड तयार गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले जानकारी दिए ।

६ जनाको रिपोर्ट नेगेटिभ
दुईपटक गरी जिल्लाबाट पठाइएको ६ जनाको कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
पहिलोपटक डेढ साताअघि ५ जनाको र दोस्रोपटक शुक्रबार एकजनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वाब (-याल)को रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि पठाइएको शंकास्पद पाँचजनाको स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित क्वारेन्टाइनमा रहेका एक पुरुषको शुक्रबार पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी झाले जानकारी दिए ।
लकडाउनको अवधिमा भारतबाट काठमाडौँ हुँदै जिल्ला आएर क्वारेन्टाइनमा बसेका ति पुरुषको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको रिपोर्ट नेगेटिभ आएको झाले जानकारी दिए । ती व्यक्तिमा कोरोनाको लक्षण देखिएर नभई ट्राभल हिस्ट्री भएका कारण मात्रै स्वाब परीक्षणका लागि पठाइएको प्रमुख झाले बताए ।
ट्राभल हिस्ट्री भएकासहित लकडाउनमा आएका २३ जनालाई एक सातादेखि कालिञ्चोक गाउँपालिकाको सिंगटीमा क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा ज्वरो, रुघाखोकीका नगन्य बिरामी देखिए पनि थप शंकास्पद बिरामी नभएको स्वास्थ्य प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्