दोधरा चाँदनीमा औषधि अभाव «

दोधरा चाँदनीमा औषधि अभाव

महेन्द्रनगर-विश्वभर अहिले कोरोना भाइरसको संक्रमण उच्च रहेको छ । नेपाल सरकारले पनि कोरोनाको संक्रमण हुन नदिन विश्वका अरु देशहरु झै मुलुकभर लकडाउन गरेको छ ।
सरकारले मुलुकभर लगाएको लकडाउनले गर्दा कञ्चनपुरको महाकाली नगरपालिका दोधरा चाँदनीमा स्वास्थ्य सामग्रीको पनि अभाव हुने चिन्ता भएको छ । नगरभर रहेका ६ वटै स्वास्थ्य संस्थामा सामान्य खाले औषधी पनि अभाव भएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।
“सामान्य स्वास्थ्य अवस्था भएका बिरामीका लागि प्रयोग हुने सिटामोललगायत रुघाखोकी गरेर विभिन्न औषधी अभाव हुने देखिएको छ ।” दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत गगनराज चौधरीले भने, “जति स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्ने औषधी उपलब्ध भएको छैन, लकडाउन भएपनि दैनिक रुपमा सय जना बिरामी स्वास्थ्य संस्थामा आउने भएकोले औषधी अभाव हुने देखिएको छ ।”
अस्पतालमा सामान्य औषधी अभाव भएसँगै कोरोको चेकजाँचका लागि चाहिने न्यूनतम सामग्रीहरु पनि पर्याप्त मात्रामा नभएको उनले बताए ।
“अस्पतालमा मास्क, गाउन सेट, सुरक्षा कवच, सेनिटाइजर, पीपीईको अभाव हुने भएको छ ।” मेडिकल अधिकृत चौधरीले भने, “यीमध्ये “केही स्वास्थ्य सामग्रीको देशभर नै अभाव रहेको छ, ल्याउन पाउने स्वास्थय सामग्री ल्याउनको लागि पनि लकडाउनले गर्दा समस्या भएको छ ।”
हाल दोधरा चाँदनीको महाकाली नगरपालिका क्षेत्रमा ६ वटा स्वास्थ्य संस्थामा ५२ वटा स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । यसले नगरपालिकाको खुला सिमानामा भारतबाट आउने हुल समूहलाई चेकजाँच समस्या भएको पनि उनले बताए ।
“स्वास्थ्य केन्द्रमा हाल अत्यावश्यक औषधिको अभाव रहेको छ, अबको एक दुईदिन मै औषधिको अभाव हुने र सिटामोलको समेत अभाव रहने देखिन्छ ।” उनले भने, “स्वास्थ्य सेवामा सामग्रीहरुको पनि अभाव नै रहेको देखिन्छ, मास्क र स्यानेटाइजरको समस्या रहेको छ आइसोलेशन नै छैन । खुला सिमानामा कारण चुनौती बढेको, आउने क्रम अझै नरोकिँदा अझ समस्या बढेको छ ।”
“दोधरा चाँदनीको महाकाली नगरपालिका क्षेत्रमा क्वारेन्टाइन र आइसोलोसन नै छैन, कोरोना भाइरसको शंकास्पद व्यक्ति देखिएमा उपचार गर्न पनि समस्या हुने देखिएको छ, । लकडाउनले गर्दा न त आइसोलेसन र क्वारेन्टाइन बनाउन सकिएको छैन, भारतबाट गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका १० जनालाई भने भानु माध्यमिक विद्यालयमा राखिएको छ” उनले भने ।
आवश्यकता अनुरुप हालआएर भानु माध्यमिक विद्यालय र मालिका माध्यमिक विद्यालयलाई क्वारेन्टाइनका लागि व्यवस्थापन गरिन लागेको भएपनि समयमै क्वारेन्टाइन नबन्दा समस्या भएको उनले बताए ।
यसका साथै वडा नम्बर ५, ८ ,९ र १० मा रहेका विद्यालयहरु पनि क्वारेन्टाइन बनाउनको लागि तयारी गरिएको छ ।
महाकाली नगरपालिका जाने महाकाली नदी माथी रहेको वनबासा पुल र झोलुङ्गे पुल दुवै बन्द गरिएको पनि महाकाली नगरपालिकामा स्वास्थ्य सामग्री अभाव भएको नगरपालिकाले जनाएको छ ।
“भारतले पुल बन्द गरिदिएपछि आवतजावत गर्न पनि समस्या भएको छ, खाद्यान्नलगायत स्वास्थ्य सामग्रीहरु ल्याउन पनि असहज भएको अवस्था हो ।” महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले भने, “चारैतिर नगरपालिकाको खुल्ला सीमा भएकाले पूर्ण रुपमा सदरमुकाम र भारतको भर पर्नु बाध्यता छ ।”
नगरपालिकाले केही सामान्य कार्य गर्दा पनि सदरमुकाम नै जानु पर्ने भएकोले आइसोलेसलनलगायत क्वारेन्टाइन निमार्णमा पनि ढिलाई भएको उनले बताए ।
भारतबाट नेपाल फर्किनेहरु दुवै देश लकडाउन गरिएका भएपनि हालसम्म आउने क्रम रोकिएको छैन । जसले देशभित्र कोरोना संक्रमित व्यक्तिको प्रवेश भइ संक्रमण बढ्न सक्ने खतरा रहेको देखिन्छ ।
एकातिर उक्त नगरपालिका राज्यको दृष्टिबाट टाढा रहेको देखिन्छ भने अर्काेतिर महाकाली नदी पार गरेपछि मात्रै पुगिन्छ ।

 

चन्द्रकान्त जोशी

प्रतिक्रिया दिनुहोस्