ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा कायापलट गर्छ : जोली «

ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा कायापलट गर्छ : जोली

नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता जोलीले भने, “एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ । आगामी दिनमा अझै धेरै सहयोग रहन्छ ।” भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाइ थियो । जोलीले भने, “भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ ।”
उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे । उनले भने, “हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हासिल भएर आर्थिक समृद्धि हुन्छ । ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको विश्वास थियो ।
नेपाल र भारतबीचको सम्बन्ध रोटी र बेटीको सम्बन्ध भएकोले यो ऐतिहासिक सम्बन्ध भएको उनको दाबी थियो । उनले थपे, “अब द्विपक्षीय सम्बन्धलाई थप सबल र सशक्त बनाउनुपर्छ । विकासको माध्यमबाट सम्बन्धलाई अघि बढाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्